भारतीय नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको खुलेपछि प्रहरीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका– १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
धनगढी– १२, हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।
वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले २० फागुन ०७५ मा भारतीय नागरिक आलियास अन्सारीलाई वंशजका आधारमा नेपाली नागरिकता दिएको थियो ।
पुनिरामका छोरा खुसीरामले अन्सारीलाई आफ्नो भाइ भएको र लामो समयदेखि भारतमा बस्दै आएको भन्दै सिफारिस लिएको खुलेको प्रहरीले जनाएको छ ।
नक्कली बुबा र भाइ बनेर भारतीय नागरिकले वंशजका आधारमा नेपाली नागरिकता लिएको जाहेरीका आधारमा वडाध्यक्ष जोशी, भारतीयलाई नक्कली भाइ बनाएका खुसीराम चौधरी र भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक देउवाले बताए ।
पुनिराम भने फरार रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जोशी नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका हुन् ।