युरोपमा कोरोनाको दोस्रो लहर : फ्रान्स र जर्मनीमा फेरि लकडाउन

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

युरोपका दुई शक्तिशाली राष्ट्र फ्रान्स र जर्मनीले कोरोना भाइरस (कोभिड– १९) संक्रमण दर बढेसँगै पुनः लकडाउन घोषणा गरेका छन् । केही समययता यी दुवै राष्ट्रमा कोरोना संक्रमण दर अस्वाभाविक रूपमा बढेपछि नियन्त्रणका लागि लकडाउन घोषणा गरिएको हो । 

फ्रान्समा अहिले १२ लाख २५ हजार संक्रमित छन् । कोरोनाका कारण ३५ हजार सात सय ८५ व्यक्तिले ज्यान गुमाइसकेका छन् । फ्रान्स सरकारले शुक्रबारदेखि लागू हुने गरी अत्यावश्यक र मेडिकल सेवाबाहेकका अन्य व्यक्तिलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रोनले राष्ट्र अहिले गम्भीर अवस्थामा रहेका कारण लकडाउनबाहेक अन्य विकल्प नभएको बताएका छन् । 

फ्रान्समा बुधबार मात्र ३६ हजार चार सय ३७ व्यक्ति संक्रमित भएका थिए । गत अप्रिलपछि एकैदिन बढी संक्रमित देखिएको बुधबार नै हो । बुधबार एकैदिन दुई सय ४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

‘फ्रान्समा कोरोनाको जोखिम निकै छ, यो दोस्रो लहरको कोरोना पहिलेको तुलनामा खतरनाक मानिएको छ, यसकारण हामी सचेत हुनुपर्छ,’ राष्ट्रपति एम्यानुएलले भने, ‘सबैसँग मेरो आग्रह छ कृपया घरमै बस्नुहोस् ।’ राष्ट्रपति एम्यानुएलले यस वर्षको क्रिसमस फरक हुने पनि बताएका छन् । उनी भन्छन्, ‘मेरो विचारमा यो वर्षको क्रिसमस फरक हुनेछ ।’

फ्रान्समा एक समय मात्र घरबाहिर निस्कन निर्देशन
फ्रान्समा लागू भएको नयाँ प्रोटोकलअनुसार दिनमा एक समय मात्र घरबाट बाहिर निस्कन मिल्छ । यसबाहेक अन्य समय सबै घरमै बस्नुपर्ने सरकारको निर्देशन छ । रेस्टुरेन्ट र डिस्को बारबाट कोरोना फैलिएको अनुमानसँगै यस्ता स्थान पूर्ण रूपले बन्द हुनेछन् । 

औषधोपचारबाहेक अन्य पसल बन्द गर्नुपर्नेछ । यसैगरी एक स्थानबाट अर्को स्थानमा जान प्रतिबन्ध छ । फ्रान्ससँग जोडिएका केही राष्ट्रका सिमाना अर्को सूचना जारी नभएसम्म बन्द रहनेछन् । 

विश्वविद्यालयमा केवल अनलाइन कक्षा मात्र सञ्चालन गर्न मिल्छ । दोस्रोपटकको लकडाउनमा घरबाट बाहिर निस्कनुपर्दा एक किलोमिटरभन्दा टाढा जान नपाउने भनिएको छ । यदि त्यो क्षेत्रभन्दा टाढा जानुपरे आवश्यक कागजात अधिकारीलाई देखाउनुपर्ने हुन्छ । 

फ्रान्सका प्रधानमन्त्री जिएन कास्टेक्सले संसदमा ६ वर्षमुनिका सबै विद्यार्थीले अनिवार्य रूपमा कक्षामा मास्क लगाउनुपर्ने जानकारी दिएका छन् । यसअघि ७–११ वर्षका विद्यार्थीलाई मात्र कक्षामा मास्क लगाउन भनिएको थियो । स्कुलका विद्यार्थीलाई सुरक्षित राख्न मास्क अनिवार्य गरिएको उनले बताए । 

जर्मनीमा आंशिक लकडाउन
जर्मनीमा आंशिक रूपमा लकडाउन घोषणा भएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले दोस्रो चरणको कोरोना लहर रोक्न सुरुवातमा आंशिक लकडाउन घोषणा गरेको बताएकी छिन् । जर्मनीमा ३० नोभेम्बरसम्म आंशिक लकडाउन जारी रहनेछ । जर्मनीमा जारी नयाँ प्रोटोकलअनुसार एक स्थानमा १० जनाभन्दा बढी व्यक्ति भेला हुन पाइँदैन । जर्मनीका १६ सहरमा यो प्रोटोकल लागू हुनेछ । सरकारले नियम तोड्ने व्यक्तिलाई कडा कारबाही गर्ने जनाएको छ । ‘अति आवश्यक भए मात्र घरबाट बाहिर निस्कनुहोला, सकेसम्म छोटो र लामो यात्रा नगर्नुहोला,’ मर्केलले भनिन्, ‘यो नियम पालना गर्न सकिएन भने जर्मनीमा योभन्दा बढी कोरोना भाइरसबाट जोखिम बढनेछ ।’ जर्मनीमा पछिल्लो २४ घन्टामा १६ हजार सात सय ७४ जना संक्रमित भएका छन् । बिहीबार मात्र कोरोनाबाट ८९ जनाको निधन भयो ।

इटली, स्पेन र बेलायत जोखिम राष्ट्रको सूचीमा
युरोपका इटाली, स्पेन तथा बेलायत पनि कोरोनाको जोखिम राष्ट्रमा पर्छन् । उनीहरूले विभिन्न प्रोटोकल अपनाइरहेका छन् । संक्रमित संख्या बढिरहे पनि यी राष्ट्रमा ज्यान गुमाउनेको संख्या कम नै छ । 

स्पेनमा २५ अक्टोबरदेखि नै संकटकाल घोषणा गरेको छ । क्यानरी आइसल्यान्डमा रातको ११ बजेदेखि ६ बजे बिहानसम्म कफ्र्यु लगाइएको छ ।
चेक रिपब्लिकमा लगातार संक्रमित बढिरहेको छ । पछिल्लो १४ दिनमा यहाँ एक लाखजनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र यहाँ एक हजार चार सय ४८ जना संक्रमित भएका छन् । रिपब्लिक अफ आइरल्यान्डमा पनि दोस्रोपटक लकडाउन घोषणा भएको छ । यो ६ सातासम्म रहनेछ । 

डब्ल्युएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यो साता विश्वभर कोरोना संक्रमित संख्या ३५ प्रतिशतले बढ्न सक्ने चेतावनी दिएको छ । डब्ल्युुएचओले फ्रान्स, जर्मनीबाहेक नेदरल्यान्ड्स, स्पेन तथा चेक रिपब्लिकमा संक्रमित संख्या बढ्न सक्ने भएकाले कडा नियम लागू हुनुपर्ने सुझाब दिएको छ । 

चीनमा थप ४७ जनामा कोरोना पुष्टि 
चीनमा बिहीबार ४७ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो दुई महिनाको तथ्यांकअनुसार बिहीबारको संख्या अहिलेसम्मकै बढी मानिएको छ । चिनियाँ सरकारले दोस्रो लहरको कोरोना भाइरस रोक्न सबै रणनीति अपनाइरहेको जनाएको छ । अहिले स्थानीय व्यक्ति नै बढी संक्रमित भइरहेका कारण चिन्ताजनक रहेको अधिकारीहरूले बताएका छन् । 

अमेरिकामा एक सातामा ५६ सयको मृत्यु
अमेरिकामा राष्ट्रपति चुनावको सरगर्मी बढिरहेको छ । अर्कोतर्फ कोरोना संक्रमण दरले पनि अमेरिकी सरकारको टाउकोदुखाइ रहेको छ । अमेरिकामा यो एक साता ५६ सय व्यक्तिले कोरोनाकै कारण ज्यान गुमाएका छन् । अमेरिकाको इलिनाइस राज्यमा एक साताभित्र ३१ हजार नयाँ केस देखिएको छ । 
 

सुझावित समाचार