फ्रान्समा काेराेनाको दोस्रो चरण झनै कठिन र विनाशकारी हुने भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

 फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले फेरि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन् । 

टेलिभिजनबाट सम्बाेधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनुपरेको उल्लेख गरे।

नयाँ व्यवस्थाअनुसार सकेसम्म घरबाहिर निस्कनै नदिने र निस्कनुपर्ने अवस्थामा रहेकाहरूले कडा नियमहरू मान्नुपर्नेछ । बाहिर निस्कनुपर्नेहरूलाई फाराम भर्नुपर्ने व्यवस्था पनि गरिएको छ । 

अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागू हुनेछ । फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात् ३३ हजार जना नयाँ संक्रमित भेटिएका छन् ।

 ‘संक्रमित र मृतकहरूको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ,’ म्याक्रोनले भने । उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा जोड दिए । 

म्याक्रोनले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब निर्मम तरिकाले ब्रेक लगाउनुपर्ने बताए । उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको जानकारीसमेत दिएका थिए । 

नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागू हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरूसँगको सिमाना पनि बन्द हुनेछ । 

प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नुपर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमति दिइने भएको छ । 

भिडभाड गर्न हुन नपाइने गरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उनले जानकारी दिए ।  लकडाउनका वेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरू भने खुल्लै रहने जनाइएको छ । 

ठूला उद्योगहरू सञ्चालन गर्न विशेष व्यवस्था गरिएको र ती उद्योगहरू सञ्चालन भएपछि अर्थतन्त्र पनि धानिने उनको विश्वास छ । 

राष्ट्रपति म्याक्रोनले स्वरोजगार व्यवसायी, पसलेहरू, साना व्यावसायिक प्रतिष्ठान, मध्यम व्यवसायीलगायतका लागि विशेष प्याकेज ल्याउने घोषणा पनि गरेका छन् । 

यसअघि, जर्मन चान्सलर एञ्जेला मर्केलले पनि आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोना भाइरस फैलिन नदिन सबैलाई सतर्कता अपनाउन आह्वान गर्दै रातको समयमा कर्फ्युको घोषणा गरेका छन् ।   

युरोपेली थुप्रै देशहरूमा महामारीको दोस्रो चरण फेरि तीव्र रूपमा बढिरहेको विभिन्न तथ्यांकहरूले देखाएका छन् । ती केही देशले पनि महामारी नियन्त्रण गर्न भन्दै रातको समयमा कर्फ्यु लगाएका छन् ।

तस्बिर : फोर्ब्स डककमबाट

सुझावित समाचार