कृषिप्रधान देशका किसानको पीडा– धानको समर्थन मूल्य तोकिए पनि सस्तोमा बेच्न बाध्य भयौँ

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोके पनि किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको सरोकारवालाहरूले बताएका छन् ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी गर्न ढिलाइ गर्दा किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । 

सरकारले न्यूनतम समर्थन मूल्यमा सहकारीमार्फत धान खरिद गर्ने व्यवस्था गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरूले सरकारको कमजोरीका कारण किसानहरू सधैँ मारमा परेको बताएका हुन् । 

राष्ट्रिय कृषक समूह महासंघका उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले सरकारले असार महिनामै धानको न्यूनतम समर्थम मूल्य तोकेको भए पनि व्यापारीहरूबाट किसानहरू ठगिने क्रम यस वर्ष पनि नरोकिएको बताए । 

तीनवटै तहका सरकारी निकायहरू जिम्मेवार नबन्दा समयमै धान खरिद हुन नसकेकोले व्यापारीहरूले फाइदा लिने मौका पाएको बताए । 

नेपाल कृषि सहकारी केन्द्रीय महासंघका अध्यक्ष खेम पाठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै कम मूल्यमा व्यापारीहरूले किसानबाट धान खरिद गरिसकेको बताए । 

अहिलेसम्म सहकारीले करिब २० मेट्रिक टन मात्रै धान खरिद गर्न सकेको उनले बताए । 

सरकारले समयमै निर्देशिका जारी नगर्दा किसानबाट धान खरिद गर्न नसकिएको उनको ठम्याइ छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने खाद्य तथा व्यापार कम्पनीमार्फत खरिद गर्दै आएकोमा किसानको पहुँच बढाउन सहकारीमार्फत धान खरिद गर्ने व्यवस्था मिलाइएको बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका जोन सुपरजोनमा सूचीकृत सहकारीहरूमार्फत न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने गरी निर्देशिका जारी भइसकेको उनले दाबी गरे । 

किसानबाट धान खरिद गरिसकेपछि सहकारीहरूले १५ दिनभित्रमा धानको मूल्य कृषकको खातामा पठाउने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । 

किसानबाट धान खरिद गरी स्टोरेज गर्नेदेखि बजारसम्म पुऱ्याउने व्यवस्था गरेबापत सहकारीहरूलाई सरकारले प्रतिक्विन्टल एक सय १२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउने पनि डा. केसीले बताए । 

सरकारले गत असारमा यस आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको थियो । 

मन्त्रालयले सहकारीमार्फत धान खरिद गर्ने व्यवस्थासमेत गरेको छ । तर, धान खरिद गर्नको लागि कात्तिक ४ गते मात्रै मन्त्रिपरिषदबाट ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका, २०७७’ स्वीकृत भएको छ । 

जसका कारण सहकारी संस्थाहरूले समयमै धान खरिद गर्न सकेनन् । असारमा लगाइएको धान मंसिर महिनामा नै पाकिसकेको र पाक्नेबित्तिकै बिक्री गर्नुपर्ने बाध्यताका कारण किसानले सस्तो मूल्यमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन् ।

यस देशभर वर्ष करिब १५ लाख हेक्टरमा धान खेती भएको छ भने करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान मन्त्रालयले गरेको छ । 

See More On

सुझावित समाचार