अमेरिकी निर्वाचन : नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १२ प्रतिशतले अग्रता बनाएको देखिएको छ । 

बुधबार सार्वजनिक पछिल्लो राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने उल्लेख छ । पछिल्ला राष्ट्रपति निर्वाचनहरूमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नेछन् र दुवै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ । गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मत सर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहेका छन् । 

विगतमा रिपब्लिकन पार्टीतर्फ झुकाव राख्ने कैयौँ मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको सर्वेक्षणमा उल्लेख छ । महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत छ भने गैरअश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ । 

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ति दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनको कार्यशैलीलाई रुचाएका छैनन् । अमेरिकामा यही ३ नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

सुझावित समाचार