पेसावर विस्फोटन अपडेट : विस्फाेटनका लागि पाँच किलाे विस्फाेटक पदार्थ प्रयाेग भएकाे प्रहरीकाे भनाइ

मंगलबार, ११ कार्तिक, २०७७
डिजिटल संस्करण

पाकिस्तानकाे पेसावरमा भएकाे शक्तिशाली बम विस्फोटनका लागि पाँच किलाे विस्फाेटक पदार्थ प्रयाेग भएकाे प्रहरीले जनाएकाे छ । 

एक धार्मिक मदरसामा गराइएकाे विस्फाेटनमा परी सातजनाको मृत्यु भएको छ  भने एक सय १२ जना घाइते भएकाे सरकारी अधिकारीहरूले जनाएका दिएका छन् ।

स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मबारे विशेष कक्षा सञ्चालन भइरहेका वेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । 

घटनास्थलमा शंकास्पद झोला भेटिएको र घटनाबारे पूर्ण अनुसन्धान सुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिए ।  विस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । दृश्यमा घटनास्थल रगताम्य भएको पनि देखिएको समाचारमा जनाइएको छ । 

विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालका अधिकारीहरूको मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । 

घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएको पाइएको छ । घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका रहेका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानीसमेत रहेको जनाइएको छ ।  घटनालगत्तै अहिले अस्पतालमा घाइतेका आफन्त र शुभेच्छुकहरूको भिड लागेको छ । उनीहरूले घाइतेहरूको अवस्थाबारे जानकारी माग्ने गरेको र भेट्न खोजेको चिकित्सकहरूले बताएका छन् । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

रासस/एपी

सुझावित समाचार