खुला मञ्चमा टीका : महामारीपछि निःशुल्क खानाको व्यवस्था गरेको संस्थाले गऱ्याे टीका लगाउने कार्यक्रम

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।

गत १४ चैतदेखि कोरोना भाइरसका कारण अलपत्र परेका नागरिकलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो । 

खुला मञ्चलगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिमले दसैँको अवसरमा सबैमा उत्साह ल्याउने उद्देश्यसहित टीका लगाउने व्यवस्था गरेको जनाएको छ । 

यसरी टीका लगाउन पाउँदा खुसी लागेको सर्वसाधारणले बताएका छन् । 

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टिमलगायका संस्थाले संक्रमणको चपेटामा परेकालाई उद्धार गरिरहेकाले आफूहरू धन्य भएको उनीहरूको भनाइ छ । 

हाम्रो टिम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दसैँको वेला घरमा गएर आमाबुबाको हातको आशीर्वादभन्दा पनि सात महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरूलाई टीका लगाएर दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए । 

दसैँजस्तो राष्ट्रिय चाड दुःखमा परेकाहरूले पनि मनाउन सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको उनले बताए । 

कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरू रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए ।

सुझावित समाचार