कोरोनाका कारण बन्द रहेका मनाङका होटेल खुले

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोनाका कारण  बन्द गरिएका हिमाली जिल्ला मनाङका  होटेल खुलेका छन् । ङिस्याङ गाउँपालिकामा रहेको पिसाङ, ङावल, हुम्दे, भ्राका, टंकी गाउँ, टंकी मनाङ, घ्यारु र खाङसारका होटेल असोज २८ गतेदेखि खुलेका हुन् । 

एक सातादेखि पर्यटक आगमन खुला गरिएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । बन्दाबन्दीसँगै पर्यटन व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको गुरुङको भनाइ छ ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान, लामो दूरीको यातायात तथा होटेल आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालन गर्न सक्ने निर्णय गरेको छ । उनले भने, ‘सरकारको निर्णयअनुसार सरकारले तोकेको सावधानीका उपायहरू अपनाएर पर्यटन व्यवसाय सञ्चालन गरिएको हो ।’

आन्तरिक पर्यटकहरूलाई मनाङ भित्रन दिएकाले महामारीले धराशायी बनेको पर्यटन व्यवसाय केही भए पनि उकालो लाग्ने उनको विश्वास छ ।  ६ महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।

उनका अनुसार मनाङमा पुग्ने बाहिरी जिल्लाका पर्यटकलाई पिसिआर रिपोर्ट नेगेटिभ लगे मनाङ प्रवेशमा सहज हुनेछ ।  बुधबार  ६ जना पर्यटक मनाङ पुगेका छन् ।

ङिस्याङ गाउँपालिका अध्यक्ष घलेका अनुसार स्थानीयको माग र विगतका वर्षहरूमा दसैँ बिदामा पर्यटक धेरै आएकाले यसलाई मध्यनजर गरी पर्यटक आगमन खुला गरिएको हो । मनाङ ङिस्याङ गाउँपालिका मनाङ र टंकी मनाङका चारवटा वडाले पर्यटन व्यवसाय खुलाउन माग गरेकाले  गाउँपालिकाले पर्यटक प्रवेश खुला गरेको हो । 

तस्बिर : विनोद गुरुङ 
 

सुझावित समाचार