एकान्तमा जुवातास खेल्ने १२ जना राति १२ बजे पक्राउ

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

दसैँको निषेधाज्ञालाई बेवास्ता गर्दै एकान्त स्थानमा जुवातास खेल्ने १२ जना जुवाडेलाई प्रहरीले राति १२ बजे  पक्राउ गरेको छ । 

मोरङको रतुवामाई नगरपालिका– ७ जामबाडीस्थित एकान्तमा रहेको माछापोखरीको डिलमा रहेको टहरोमा जुवा खेलिरहेका १२ जनालाई इलाका प्रहरी सिजुवाको टोलीले सोमबार राति १२ बजे पक्राउ गरेको हो । 

१२ बुक तास, १४ हजार दुई सय ७० रुपैयाँ, ६ सय मलेसियन रिङगेट, विभिन्न नम्बरका तीनवटा मोटरसाइकल पनि प्रहरीले जुवाखालबाट नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी मोरङले जानकारी दिएअनुसार पक्राउ पर्ने जुवाडेहरू रतुवामाई नगरपालिका– ७ का ३४ वर्षीय  गोपाल कटुवाल  ४३ वर्षीय गणेश कार्की,  ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुँयाल ४२ वर्षीय फणीन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती छन् । 

पहिले होटेल, पार्टी प्यालेस, गाउँघरमा जुवा खेल्ने जुवाडेहरूमाथि प्रहरीले निगरानी गर्ने गरेकोले  जुवाडेहरूले प्रहरीबाट जोगिन कहिले जंगलमा त कहिले एकान्तमा रहेका सुनसान घरटहरामा जुवा खेल्ने गरेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार