सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अप्रेसन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अप्रेसन नगर्दा संक्रमित बिरामीलाई आइसियू बेड र भेन्टिलेटर बेड उपलब्ध हुने गरी व्यवस्थापन गर्न सकिने बताए ।
कोभिड अस्पतालका रूपमा सेवा दिने सरकारी अस्पतालमा स्वास्थ्य सेवा विभागले आइसियू, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्री उपत्यकाकेन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए ।
यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार–व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे ।
अस्पतालहरूले विभिन्न होटेलहरूसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरूले होटेलहरूलाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइनेछैन ।