एनआरएन ग्लोबल नलेज सम्मेलन आजदेखि सुरु

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तीनदिने ज्ञानसीप सम्मेलन आज (शुक्रबार)बाट सुरु भएको छ ।

कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्सन’ आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । 

देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्यसहित एनआरएनएले सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा विश्वभरका एनआरएनहरूको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संसारभर छरिएर रहेका एनआरएनको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गरे । 

विदेशमा रहेका एनआरएनहरूसँग विभिन्न क्षेत्रमा लगानी गर्ने क्षमता रहेकाले लगानीसँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन आग्रह गरे । 

पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौती रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैरआवासीय नेपालीको साथ आवश्यक रहेको उनको भनाइ छ । 

नेपालको सहरी विकास, यातायात, रेल्वे, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानी गर्नसमेत मन्त्री नेम्वाङले आग्रह गरे । 

वैदेशिक लगानीका लागि सरकारले कानुन निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्न पनि आग्रह गरे । 

कार्यक्रममा सहभागी भएका गैरआवासीय नेपालीले सम्मेलनमार्फत विज्ञहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माणजस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् । खासगरी सम्मेलन सूचना प्रविधि, ऊर्जा, कृषि, यातायात, खाद्य तथा वातावरणलगायत स्वदेशी सरोकारका विषयमा केन्द्रित हुने पनि उनीहरूले बताएका छन् । 

सम्मेलन आजदेखि आइतबारसम्म चल्नेछ ।

सुझावित समाचार