उपचार खर्च तिर्न नसकेर ह्याम्स अस्पतालमा बन्दी युवक १५ दिनपछि ‘डिस्चार्ज’

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

उपचार खर्च तिर्न नसकेर काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बन्धक बनेका धादिङ गल्छी गाउँपालिका–४ का चन्द्रबहादुर तामाङ (२४ वर्ष) १५ दिनपछि ‘डिस्चार्ज’ भएका छन् । दोलखास्थित सासा हाइड्रोपावरमा काम गर्ने क्रममा उनी २५ साउनमा सुरुङभित्र दुर्घटनामा परेका थिए ।

अस्पतालको नौ लाख ९० हजार रुपैयाँ बिल तिर्न नसकेपछि उनी निको भएर पनि बेडमै बस्न बाध्य बनाइएका थिए । करिब दुई महिनादेखि अस्पतालमा रहेका तामाङको उपचार खर्च उनी कार्यरत हाइड्रोपावर कम्पनीले तिरेपछि अस्पतालले बुधबार घर पठाएको हो । उनको टाउको र मुखमा चोट लागेको थियो । भाइको हेरचाहमा खटिएकी विना लामाका अनुसार कम्पनीले उपचार खर्च तिरेको छ भने ठेकदारले थप औषधि खर्च दिने बाचा गरेका छन् ।

अस्पतालले थुनेर राख्यो बिरामी
ह्याम्स अस्पतालको नवौँ तला, बेड नम्बर ९०९ । चन्द्रबहादुर तामाङ यो बेडमा सुतेको दुई महिना भएको थियो । डाक्टरहरूले ‘निको भइसक्यो, घर जानुहोस्’ भन्दा पनि तामाङलाई अस्पतालले बन्दी बनाएर राखेको थियो ।

तामाङ लकडाउन अघिसम्म धादिङबाट रुसुवागढीसम्म ट्रक चलाउँथे । लकडाउनले नाका बन्द भएपछि तामाङको काम रोकियो । बुबा, आमा र दुई बहिनीसहित पाँचजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी भएका तामाङको रोजगारी खोसियो ।

साथीहरूसँग हारगुहार गरेपछि उनले दोलखास्थित ‘सासा हाइड्रोपावर कम्पनी’मा काम पाए । लकडाउनमा पनि काम पाइयो भनेर खुसी हुँदै तामाङ गत जेठमा दोलखा पुगे । २५ साउनमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा तामाङको टाउकोमा अचानक ढुंगो बज्रियो । उनी बेहोस भए । हेलिकोप्टरबाट उद्धार गरेर उनलाई त्यही दिन ह्याम्स अस्पताल ल्याइयो । ११ दिन आइसियूमा राखेपछि उनको होस आयो । त्यसपछि वार्डमा सारेर उपचार भयो । स्वास्थ्य अवस्था पनि सामान्य बन्यो । तर, उपचारमा लागेको नौ लाख ९० हजार रुपैयाँ तिर्न नसक्दा उनी अस्पतालमा बन्दी बन्नुपर्यो ।

‘परिवार सबै ज्यालामजदुरी गर्छन्,’ तामाङको हेरचाह गर्न आएकी छिमेकी बिना लामाले भनिन् । कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको छँदै गाडी चलाउन थालेका तामाङ भन्छन्, ‘आफैँ तिर्न सक्ने भए त यसरी कैदी बनेर किन बस्नुपथ्र्यो र ?’ ६ कक्षासम्म पढेका तामाङले ट्रक चलाएरै परिवार पालिरहेका थिए । बहिनीलाई स्कुल पनि पढाइरहेका थिए । दुर्घटनामा परेर अस्पताल भर्ना भएपछि उनको तलब पनि रोकिएको छ ।

अस्पतालले उनलाई पैसा छिटो तिर्न दबाब दिँदै आएको थियो । १० लाख होइन, उनी १० रुपैयाँ तिर्न सक्ने अवस्थामा थिएनन् । तामाङलाई काममा लगाउने ठेकेदार अस्पतालमा ९० हजार रुपैयाँ धरौटी राखेर सम्पर्कविहीन भएका थिए ।

सुझावित समाचार