बुटवलमा चार दिनदेखि बेपत्ता भएका एक स्वास्थ्यकर्मीको शव साेमबार भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका- ४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।
बिहान करिब ६ बजे तिलोत्तमा– १६ बिहुलीस्थित सोह्रछत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिए । नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रूपमा कार्यरत थिए ।
नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका– ९ स्थित एक होटेलबाट लु.२०प ४०६७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए । नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशंकामा पानी बन्द गरेर खोजी गरिएको थियो । नेपालका श्रीमती र एक छोरा छन् । उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।