वर्तमान संवैधानिक व्यवस्थाअनुसार समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले आफूमा निहित मौलिक हकको प्रयोगस्वरूप स्थापित राजनीतिक शक्ति र संगठनका रूपमा दललाई लिइन्छ । दल समग्रमा विचारधारा, नीति कार्यक्रम, संगठन र नेतृत्वको एकत्व हो । तर, आज नेपालका अधिकांश दल विभिन्न विचारसमूहबाट स्खलित भई बनेका स्वार्थसमूह एवं गुटका साझा मञ्चजस्ता भएका छन् ।
दलीय व्यवस्थामा राजनीतिक नेतृत्वलाई दलको आदर्श, विचारधारा, नीति तथा कार्यक्रमबमोजिम संगठनलाई गति तथा मार्गनिर्देशन गर्ने, अनुयायीहरूलाई प्रभावित गर्न सक्ने क्षमता, नियन्त्रण, निर्देशन, समन्वय गर्ने गुण, प्रक्रिया र व्यक्तिलाई बुझिन्छ । नेतृत्व विशेषतः साझा उद्देश्य प्राप्तिको दिशामा साझा मनोविज्ञानबाट निर्देशित हुन्छ । विगतका योगदानहरूबाट विमुख गरी हेर्ने हो भने आज नेपाली राजनीतिक रंगमञ्चमा मूल तथा सहायक सबै प्रकारका नेता वा नेतृत्व गुटका नाइके, गुट र उपगुटहरूका समन्वयकर्ता, दलीय अन्तरसंघर्षमा सौदाबाजी गर्ने प्रतिनिधिजस्ता भएका छन् । परिणामस्वरूप दलीय अन्तद्र्वन्द्व झन् विकराल र द्वन्द्व व्यवस्थापन क्रमशः निस्प्रभावी हुँदै गएका छन् ।
दलीय अन्तद्र्वन्द्वको पहिलो कारण संगठन र नेतृत्व निर्माणको विचारधारात्मक समस्या हो । किनभने, मार्गदर्शक सिद्धान्तमा प्रस्टता नभई नेताहरूको चोचोमोचो मिलेकै भरमा पार्टी बन्ने र जुट्ने गर्दछन्, जसकारण स्थायी विचारसमूहहरू बन्दछन् । प्रायोजन गरेका भरमा नेता बन्ने विद्यमान परिपाटी पार्टीभित्र गुट संगठित गर्ने प्रमुख कारक बनेको छ । दोस्रो, नेतृत्व र नेतृत्वका शैलीहरूका बीचको अन्तरविरोध हो । सैद्धान्तिक हिसाबले नेतृत्वका शैली निरंकुश, प्रजातान्त्रिक र स्वच्छन्दतावादी गरी तीन किसिमका छन् । यो युग लोकतन्त्र र जनसर्वोच्चताको युग हो । त्यसकारण निरंकुश, अख्तियारीपूर्ण र कुलीन नेतृत्व शैली दलमा कार्यान्वयन गर्ने वस्तुगत आधार देखिँदैन । यद्यपि, नेतृत्वमा सर्वाधिकार प्राप्त नेता बन्ने महत्वाकांक्षा कायमै देखिन्छ । महत्वाकांक्षाले नेतृत्वलाई निरंकुश बन्न प्रेरित गराउँछ, तर कार्यकर्ता पूर्णतया दास बन्न तयार छैनन् । त्यसैगरी, निरंकुश तथा प्राधिकारप्राप्त नेतृत्व बन्न हाम्रा नेतामा गौरवमय विरासत तथा नैतिक आधार पनि छैन । त्यस्तै, प्रजातान्त्रिक नेतृत्व शैली कार्यान्वयन गर्ने तत्परता नेतामा पाइँदैन, आन्तरिक भेला, बैठक तथा छलफलहरूलाई बेकम्मा बनाउन स्वयं मूल नेतृत्व नै संलग्न भएको पाइन्छ । दोहोरो सञ्चार प्रणाली, अनुयायीहरूमाथि विश्वास गर्ने प्रक्रियामा नेतृत्ववर्गमा विश्वास छैन । तसर्थ, प्रजातान्त्रिक तथा निरंकुश नेतृत्व शैली कार्यान्वयन नभएपछि नेतृत्व स्वतः स्वच्छन्द शैलीमा पुग्दछ, जुन स्वभावतः कमजोर हुन्छ । फलस्वरूप विभिन्न गुट विकास हुन्छन्, अनि एक किसिमको सांगठनिक अराजकता पैदा हुन्छ ।
नेतृत्वले सबै किसिमका शक्तिको विधिसम्मत प्रयोग गर्नुपर्छ र विशेषज्ञ शक्तिको प्रयोग गर्न दलीय संरचनाअन्तर्गत थिंकट्यांकहरूको एकाइ खडा गरी आवश्यक सल्लाह लिने गर्नुपर्दछ । राजनीति व्यवसाय होइन, राष्ट्र र जनताप्रतिको सेवा हो भन्ने आदर्शलाई आत्मसात् गरी नेतृत्वका आधारभूत गुणलाई अवलम्बन गर्न अत्यावश्यक छ ।
तेस्रो कारण, नेतृत्व र शक्तिका स्रोत एवं त्यसको प्रयोगबीचको अन्तरविरोध पनि हो । सामाजिक मनोवैज्ञानिक फ्रेन्च र राभेनको सन् १९५९ को अध्ययनअनुसार शक्तिको आधार र प्रारूप वैधानिक शक्ति, पुरस्कृत गर्ने शक्ति, दमनात्मक तथा नियन्त्रणकारी शक्ति, विशेषज्ञ शक्ति र प्रत्यायोजित शक्ति गरी पाँच प्रकारका छन् । वैधानिक शक्ति वास्तवमा पदीय शक्ति हो । हाम्रा अधिकांश दलहरू आज तदर्थवादमा चलेका छन्, जसका कारण नेतृत्वले वैधानिक शक्तिको प्रयोग गर्ने नैतिक हैसियत प्राप्त गर्न सक्दैन । अधिवेशनबाट निर्वाचित भनिएको नेतृत्वसमेत अधिवेशनमा कार्यकर्ता प्रभावित गरी फर्जी जनमत बनाई, विभिन्न स्वार्थसमूहसँग विविध प्रकारका सम्झौता गरी नेतृत्वमा पुग्ने भएकाले वैधानिक पदीय शक्ति प्रयोगमा असफल बन्न पुग्दछ । आफूमा निहित पुरस्कृत गर्ने शक्तिको प्रयोग गर्दै कार्यकर्ताको उचित मूल्यांकन गरी क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्ने सवालमा विभेदकारी बन्नाले कार्यकर्ता पंक्तिमा नेतृत्वप्रति विश्वासको संकट छ । स्वयं गुटपरस्त बन्नाले, विधि पद्धतिको उपहास गर्नाले दमनात्मक शक्तिको प्रयोग गर्ने हैसियत र चाहना दुवै नेतृत्वमा पाइँदैन । हरेक विषयमा विज्ञताको ढोङ गरे तापनि हाम्रा नेतृत्वमा विज्ञताको कमी छ । उनीहरूमा निहित अहंकारका कारणले सिक्न बाधा गरिरहेको छ, जसका कारण संगठनमा नेतृत्वले विशेषज्ञ शक्तिको प्रयोग गर्न सक्दैन । अन्तरपार्टी लोकतन्त्रलाई दह्रो गरी आत्मसात् गर्न नसक्नाले पनि प्रत्यायोजित शक्तिको प्रयोगमा समेत नेतृत्व चुक्न पुग्छ । अन्ततः पार्टीमा स्वार्थसमूहहरू प्रबल बन्दछन्, पार्टी गुटहरूको साझा मञ्चजस्तो बन्न पुग्दछ र अन्तरसंघर्ष चरम बन्दछ ।
दलीय अन्तद्र्वन्द्वको चौथो र महŒवपूर्ण कारण नेतृत्वमा हुनुपर्ने गुण र नेतृत्वमा भएका गुणमा तादात्म्य नहुनु पनि हो । सामान्यतया नेतृत्वमा हुनुपर्ने गुणमा नेतृत्वसम्बन्धी गुण सिद्धान्तअनुसार बुद्धिमता, आत्मविश्वास, सैद्धान्तिक ज्ञान र निष्ठा, प्रभावित गर्न सक्ने क्षमता, दूरदर्शिता, सञ्चार गर्न सक्ने क्षमता, गौरवमय विरासत एवं योगदान, निर्णय क्षमता, संगठनप्रतिको आस्था इत्यादि छन् । त्यसैगरी, नेतृत्वको व्यवहारसम्बन्धी सिद्धान्तअनुसार वैचारिक राजनीतिक निष्ठा, राष्ट्र, जनता र कार्यकर्ताप्रतिको समर्पण, प्रभावशाली उदाहरणीय र अनुकरणीय व्यक्तित्व, असल आचरण, लक्ष्योन्मुख, साहसी, उत्तेजनाहरूलाई समुचित प्रयोग गर्न सक्ने, सादा जीवन व्यवहार आदि नेतृत्वमा हुनुपर्ने गुण हुन् । हाम्रो नेतृत्वको एउटा हिस्सामा उल्लेखित गुण युक्त हुँदाहुँदै पनि उनीहरू राजनीतिको प्रभावशाली भूमिकामा छैनन्, कुनै न कुनै हिसाबले जिम्मेवारीविहीनजस्ता देखिन्छन् । तर, नेतृत्वको अधिकांश हिस्सा राजनीतिक वैचारिक रूपले स्खलित, राष्ट्र, जनता र कार्यकर्ताको हितबाट विमुख, सांगठनिक विधि पद्धतिबाट विमुख, आचरणका दृष्टिले भ्रष्ट, अपारदर्शी, शक्तिकेन्द्रका खेताला, ठेकेदार–बिचौलिया र गुन्डागर्दीको संरक्षकजस्ता भएका छन् । जसको आगतस्वरूप दलभित्र वर्गहरू बन्दछन्, स्वार्थसमूहहरू संगठित हुन्छन्, गुटहरू सक्रिय बन्छन् र पार्टी गुटहरूको साझेदारी व्यावसायिक निगमजस्तो बन्न पुग्दछ ।
दलीय व्यवस्थामा जबसम्म दलहरू स्वच्छ, स्वस्थ र शक्तिशाली बन्न सक्दैनन्, तबसम्म दलीय व्यवस्था र राजनीतिक प्रणाली प्रभावकारी बन्न सक्दैन । तसर्थ, दलीय शुद्धीकरण तथा आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि फगत ट्रेडमार्कका लागि मात्र होइन, वास्तवमै पार्टीजीवनका लागि मार्गदर्शक सिद्धान्त र विचारधारात्मक प्रस्टतालाई संगठन निर्माणको आधार बनाउनुपर्छ । नेता तथा कार्यकर्ता व्यवस्थापनको समावेशी चरित्रसहितको न्यायपूर्ण सिद्धान्त अवलम्बन गर्न र क्षमतामा आधारित नेतृत्व विकास आवश्यक छ । नेतृत्व निर्माणको सार्वभौम नियम जनता र कार्यकर्ताद्वारा अनुमोदित हुने प्रणालीलाई दह्रोसँग आत्मसात् गर्न जरुरी हुन्छ । पार्टीका आन्तरिक चुनावहरूमा बनेका वा बनाइएका समूहहरूलाई गुटमा रूपान्तरण हुनुपूर्व नै भत्काउने साहस नेतृत्वमा हुनैपर्छ । अमुक गुटको मात्र नेता हुने होइन, समग्रमा विचार र संगठनको नेता हुने प्रयत्न गर्नुपर्छ । दोहोरो सञ्चार र विधि प्रक्रियालाई समृद्ध बनाउने प्रजातान्त्रिक नेतृत्व शैलीको निष्ठापूर्वक अवलम्बन गर्न आवश्यक छ । नेतृत्वले सबै किसिमका शक्तिको विधिसम्मत प्रयोग गर्नुपर्छ र विशेषज्ञ शक्तिको प्रयोग गर्न दलीय संरचनाअन्तर्गत थिंकट्यांकहरूको एकाइ खडा गरी आवश्यक सल्लाह लिने गर्नुपर्दछ । राजनीति व्यवसाय होइन, राष्ट्र र जनताप्रतिको सेवा हो भन्ने आदर्शलाई आत्मसातीकरण गरी नेतृत्वका आधारभूत गुणलाई अवलम्बन गर्न अत्यावश्यक छ । आत्मकेन्द्रित चिन्तन त्यागी भावी पुस्ताले समेत आदर्श मान्ने र अनुकरण गर्ने नेतृत्व बन्ने इमानदार प्रयत्न राजनीतिकर्मीले गर्नुपर्दछ ।