कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतसँगको सम्बन्ध अत्यन्त जटिल मोडमा पुगेको बताएका छन् । बिपी कोइरालाको १०७औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिपी कोइरालाको योगदान’ विषयको भर्चुअल अन्तरसंवादमा उनले यस्तो बताएका हुन् ।
प्रतिष्ठान प्रमुखसमेत रहेका निधिले कार्यक्रममा नेकपा नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षत–विक्षत पारेको आरोप लगाएका थिए । ‘अहिलेको सरकारले राष्ट्रिय हितलाई पनि हेरेको छैन । समानताका कुरालाई पनि हेरेको छैन । लोकतन्त्रका कुरालाई त झन् बिल्कुलै हेरेको छैन,’ निधिले भने, ‘धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य–मान्यतालाई त झनै हेरेकै छैन । यसले सम्बन्ध बिगार्न सक्छ । भारतसँगको सम्बन्ध अत्यन्त जटिल मोडमा छ ।’
नेपालले उत्तर र दक्षिणका दुवै मुलुकसँग समान विदेश नीति अपनाउनुपर्ने भए पनि कम्युनिस्ट नेतृत्वको सरकार चीनसँग नजिकिएको र भारतसँग टाढिँदै गएको उनको भनाइ छ । ‘चीनको सम्मुन्नतिबाट हामीले आर्थिक लाभ लिनुपर्छ । चीनसँग मैत्री सम्बन्ध राख्नुपर्छ, त्यसमा दुईमत छैन,’ उनले भने, ‘चीन र भारतसँगको सम्बन्धलाई हामीले सुमधुर रूपले सन्तुलित राख्न पनि बिपीका अडान काम लाग्छन् ।’
बिपी कोइरालाले अन्तर्राष्ट्रिय लोकतान्त्रिक र समाजवादी आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको स्मरण गर्दै निधिले बिपीको उक्त कदम नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीतिको रूपमा रहेको बताए । ‘हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिको खास तत्व र आधार हो, चाहे सरकारमा रहँदा होस् वा सरकारमा नरहँदा,’ उनले भने, ‘सरकारमा रहँदा एक किसिमको बन्ने, नरहँदा अर्को किसिमको हुँदैन, सरकारमा रहँदा मानव अधिकार र लोकतन्त्रको समर्थन नगर्ने भन्ने होइन । बर्माको प्रजातान्त्रिक आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई बिपीले साथ दिनुभएको थियो ।’ मानव अधिकार र लोकतन्त्रका लागि हुने आन्दोलनलाई कांग्रेसले सधैँ साथ, सहयोग र ऐक्यबद्धता जनाउनुपर्ने मान्यता बिपीले सिकाएर गएको उनले बताए ।
सरकारका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षत–विक्षत हुनु चिन्ताको विषय भन्दै उनले यस्तो गम्भीर अवस्थालाई मनन गरेर कांग्रेस र सचेत नागरिकले उचित दिशा अपनाउनुपर्ने बताए । कार्यक्रमका मुख्य वक्ता पूर्वराजदूत डा. दिनेश भट्टराईले बिपी कोइरालाको सरकारले लिएको परराष्ट्र नीति, भूराजनीतिक अवस्था, ०४६ सालपछिका सरकारले अवलम्बन गरेको नीति र अहिलेको सरकारले अभ्यास गरिरहेको परराष्ट्र सम्बन्धमाथि विवेचना गरेका थिए ।
नीति निर्देशक डा. जगदीशचन्द्र पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पृथ्वीनारायण शाहदेखि वर्तमानसम्म नेपालको परराष्ट्र नीतिको सन्दर्भमा धारणा राखेका थिए ।