इत्तेहादले नि:शुल्क टिकटमा नेपाली ल्याउन अझै अनुमति पाएन

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

इत्तेहाद एयरलाइन्सले ११ सय नेपालीलाई निःशुल्क उडानमार्फत ल्याउने अनुमति अझै पाएको छैन । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो । सेप्टेम्बर ४ देखि १८ सम्म ८ वटा उडान गरेर १ हजार १ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेको छ । गत भदौ १४ गते मन्त्रालयमा दूतावासले निवेदन दिएको भए पनि हालसम्म सरकारले अनुमति दिएको छैन । 

इत्तेहादको प्रस्तावमा अनुमति दिनका लागि अहिले कोटाले गर्दा रोकिएको सहसचिव सुरेश आचार्यले बताए । पर्यटनले १४ सयजनालाई अनुमति दिनुपर्ने गरी प्रस्ताव गरेको, तर मन्त्रिपरिषद्बाट निर्णय नआएसम्म उडान संख्या थप्न समस्या हुने भएकाले इत्तेहादको प्रस्ताव अगाडि नबढेको आचार्यले बताए । 

सिसिएमसीले जारी गरेको नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणको रिपोर्टसमेत निःशुल्क गराएर  ल्याउने प्रस्ताव गरेको छ । एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म यी चार्टर उडान गर्ने प्रस्ताव गरेको छ । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नुनपर्ने उल्लेख गरेको छ ।

युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउने उसले बताएको छ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली ल्याउने र उक्त उडानमा कामदारबाहेक अरू कुनै पनि यात्रुलाई नल्याउने प्रस्तावमा उल्लेख गरेको छ ।  

सुझावित समाचार