अलैँचीका बोट सुकेपछि किसान चिन्तित

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

दुई सय रोपनी क्षेत्रफलमा लगाइएकाे अलैँची सुक्यो

लमजुङकाे क्व्होँलासोथर गाउँपालिका– ३, बगुमका स्थानीय २६ जना किसानले सामूहिक रूपमा दुई सय रोपनी क्षेत्रफलमा लगाएको अलैँचीखेती सुकेकाे छ । अलैँचीका बाेट यसरी सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

व्यावसायिक खेतीको प्रतिफलसमेत नपाई बोट मरेपछि आफूहरू मर्कामा परेको स्थानीय किसान गमबहादुर घलेले बताए । पाँच वर्षअघि ०७२ सालबाट उत्तरकन्या अलैँची कृषक समूह गठन गरी स्थानीयले व्यावसायिक अलैँचीखेती सुरु गरेका थिए । 

अलैँची रोपिएपछि फल दिन कम्तीमा तीन वर्ष लाग्छ । अघिल्लो वर्ष यहाँ करिब ६ क्विन्टल अलैँची उत्पादन भएको थियो । यस वर्ष पनि राम्रै  उत्पादन हुने अपेक्षा गरिएको भए पनि दाना लाग्नुअघि नै अलैँचीका बोट मरेको स्थानीय कृषक घलेले बताए । 

मौसम अनुकूल नहुँदा र घामपानीको सन्तुलन नमिल्दा अलैँचीका बोटमा ढुसी लागेको हुन सक्ने अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङको भनाइ छ । 

उनले परिस्थिति सामान्य नभएकाले स्थलगत अनुगमन गर्न नसकिएको बताए ।  वातावरण अनुकूल नभएमा वा अत्यधिक वर्षा भएमा अलैँचीमा पात सड्ने वा डढुवा रोग लाग्ने सम्भावना अधिक हुने कृषि प्राविधिकहरूको भनाइ छ । 

अलैँची सुकेर दाना टिप्न नपाएपछि अहिलेसम्मको लगानी खेर गएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अलैँचीमा लागेको रोग पत्ता लगाउन अलैँची जोन कार्यालयमा निवेदनसमेत दिएका छन् । 

जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका गाउँका पाखाहरूमा व्यावसायिक अलैँची खेती हुँदै आएको छ ।  

पछिल्लो समय जिल्लाका अलैँची कृषकले अलैँची उत्पादन हुने क्षेत्रहरूलाई समेटेर अलैँची जोन कार्यक्षेत्र घोषणा गरेका छन् । लमजुङका अलैँची कृषकले गतवर्ष अलैँची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । 

जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिए तापनि सात सय ३७ हेक्टर क्षेत्रफलमा मात्रै उत्पादन हुँदै आएको छ । अलैँची व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले  सहर पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैँची व्यवसाय सुरु गर्न थालेका छन् । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाको रूपमा समेत परिचित हुँदै आएको छ ।

See More On

सुझावित समाचार