भारतको एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बा पुनर्निर्माण भएनन्

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण
भारतको एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बा पुनर्निर्माण भएनन्

पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको दोलखाको विगु गुम्बा ।

०७२ को भूकम्पले क्षतिग्रस्त भएका दोलखाका ४६ वटा गुम्बा पुनर्निर्माण गर्ने जिम्मा पाएको भारतीय एक्जिम बैंकले बजेट उपलब्ध नगराएपछि गुम्बा पुनर्निर्माण अनिश्चित बनेको छ । दोलखाका ८६ मध्ये ४६ वटा गुम्बा पुनर्निर्माणमा सहमति जनाए पनि बजेट नछुट्याएपछि गुम्बा पुनर्निर्माण कसले गर्ने भन्ने अन्योल पनि बढेको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको दोलखास्थित अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले एक्जिम बैंकले बजेट नपठाएपछि गुम्बा पुनर्निर्माण अघि बढ्न नसकेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख अश्विन पोखरेलले जिल्लाभरका ८६ गुम्बामध्ये एक्जिम बैंकले पुनर्निर्माण गर्ने भनेकाबाहेक प्राधिकरणले काम थालिसकेको छ । प्राधिकरणले पुनर्निर्माण थालेको १० गुम्बामध्ये आठवटा सम्पन्न भइसकेका छन् । दुईवटा भने निर्माणाधीन छन् । उनका अनुसार केही गुम्बा पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ । पुरातत्वले भिक्षु उत्पादन गर्ने नेपालकै पहिलो विगु गुम्बा र विशेष महत्वको चरिघ्याङ गुम्बाको निर्माण व्यवसायीमार्फत गरिरहेको छ । पुरातत्वले एक सय वर्षभन्दा पुरानो र दुई हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका गुम्बाको मात्र पुनर्निर्माण गर्छ । 

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले एक्जिम बैंकको सहयोगमा दोलखाका ४६ वटा गुम्बा पुनर्निर्माण गर्न १९ करोड ८५ लाख ४५ हजार बजेट दिने विवरण पठाएको थियो । बजेट प्राप्त नभएपछि प्राधिकरणले स्रोतान्तर गरी बजेट व्यवस्था गर्ने विषयमा पटकपटक अनुरोध गरिए पनि ती गुम्बा पुनर्निर्माणबारे निष्कर्ष निस्किएको छैन । एक्जिम बैंक र पुरातत्व विभागबाहेक प्राधिकरण आफैँले पुनर्निर्माण गर्ने भनिएका झन्डै डेढ दर्जन गुम्बाको पनि काम सुरु हुन सकेको छैन । 

कटेरोमा मूर्ति राखेर पूजाआजा 
भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि गुम्बा पुनर्निर्माण हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । बिगुमा रहेको मगर गुम्बा भवन अभाव भएपछि कटेरोमा मूर्ति राखेर पूजा गरिरहेको स्थानीय निमटासी शेर्पा बताउँछन् । पुनर्निर्माण हुन नसकेका गुम्बाहरूमा नियमित पूजाआजा गर्नसमेत गाह्रो भएको बौद्धधर्मालम्बीको दुखेसो छ । बिगुका निमटासी शेर्पाले अव्यवस्थित कटेरोमा मूर्ति राखेर नियमित पूजा गरिरहेको भए पनि थुप्रै चुनौती रहेको बताए । उनका अनुसार गुम्बामा हुने महत्वपूर्ण मूर्तिहरू विशेष महत्वका साथै बहुमूल्य हुने र त्यसको संरक्षणमा पनि समस्या भएको छ । 

एक वर्षमा ६ गुम्बाको पुनर्निर्माण गर्ने 
पुनर्निर्माण प्राधिकरणको दोलखास्थित अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयका निमित्त प्रमुख अश्विन पोखरेलले चालू आर्थिक वर्ष ६ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको बताए । उनका अनुसार प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ६ वटा गुम्बा पुनर्निर्माणका लागि दुई करोड ८२ लाख बजेट पठाएको छ ।
उपभोक्ता समितिमार्फत निर्माण हुने ती गुम्बा पुनर्निर्माणका लागि कम्तीमा २० देखि ५० प्रतिशतसम्म लागत सहभागिता जनाउनुपर्ने प्रावधान रहेको निमित्त प्रमुख पोखरेलले बताए । पुनर्निर्माण हुने ती गुम्बामा डिम्बर ओर्गेन गुम्बा बिगु–१, लप्चे गुम्बा भीमेश्वर नगरपालिका– ८, ङग्युर पाङलेमा मनि गुम्बा जिरी–१, फटुक गुम्बा बिगु–४, फुचे छ्योलिङ गुम्बा भीमेश्वर गरपालिका–१ र जितगंगा छ्योर्तेङ गुम्बा शैलुङ– १ रहेको प्राधिकरणले जनाएको छ । 

सुझावित समाचार