कर्णालीमा कोरोना : १८ जना संक्रमित थपिए, ७६ जना डिस्चार्ज

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशमा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशका चारवटा प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिनुको साथै यसअघि नै संक्रमण भएका ७६ जनाको रिपाेर्ट नेगेटिभ आएर डिस्चार्ज भएका छन् । 

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा चार सय ६ स्वाब परीक्षण गर्दा सुर्खेतका ६ जना, कालिकोटका दुईजना, दाङका दुईजना, दैलेखका एकजना र बाँकेका एकजनामा कोरोना संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाले जनाएको छ । 

यस्तै, दैलेख जिल्ला अस्पतालमा ५५ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । ‘कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ६९ पुगेको छ ।’

कर्णाली प्रदेशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेका ७६ जनामा कोरोना निको भएर डिस्चार्ज गरेको महाशाखाका प्रमुख शाहीले बताए । ‘डिस्चार्ज हुनेको संख्या दुई हजार दुई सय एक पुगेको छ,’ उनले भने, ‘हाल कोरोनाका सक्रिय संक्रमितको संख्या तीन सय ६२ रहेको छ ।’

बिहीबार कर्णालीका चारवटा प्रयोगशालामध्ये प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा चार सय ६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय ६५, दैलेख अस्पताल दैलेखमा ५५ जना र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा १२ जनाको स्वाब परीक्षण गरिएको महाशाखाले जनाएको छ । 
 

सुझावित समाचार