सुनसान अन्नपूर्ण पदमार्ग

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

कोरोनाले संकटमा मनाङको पर्यटन व्यवसाय, पर्यटक आउन छाडेपछि होटेल व्यवसायी कृषिमा

अघिल्ला वर्षहरूमा सेप्टेम्बर महिना सुरु नहुँदै अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पदयात्रीको भिड लाग्न थाल्थ्यो । वर्षायाममा बन्द भएका पदमार्ग क्षेत्रका होटेलहरू पनि सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार पारिन्थ्यो । यति बेला पदमार्गका होटेल तथा रिसोर्ट पदयात्रीले खचाखच भरिएका हुन्थे । तर, यसपटक पर्यटकीय सिजन सुरु भइसक्दा पनि एउटै पदयात्री देखिएका छैनन् । दैनिक चार सय पर्यटक आउने अन्नपूर्ण पदमार्ग यति बेला सुनसान बनेको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण पदमार्ग सुनसान बनेको हो । अन्नपूर्ण पदमार्ग मात्र होइन कि, देशभरका सबै पर्यटकीय गन्तव्य अहिले पर्यटकको पर्खाइमा छन् ।

अन्नपूर्ण क्षेत्र विश्वकै लोकप्रिय पदमार्ग मानिन्छ । नेपालमा पदयात्रा गर्न आउने विदेशी पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण क्षेत्रमा आउने गरेको तथ्यांक छ । पछिल्लो समय आन्तरिक पदयात्रीहरू पनि ह्वात्तै बढेको मनाङका पर्यटन व्यवसायी कर्मछिरिङ लामा बताउँछन् । विगतका वर्षहरूमा स्वदेशी तथा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भइसकेको छ । कोभिडको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएपछि विश्वभरका पर्यटक घुमफिर गर्न डराइरहेका छन् । त्यसमाथि सरकारले हवाई सेवा रोकेर पर्यटक भित्रिने मूलढोका नै बन्द गरेको छ । विदेशी र आन्तरिक पर्यटक आउजाउ पूर्ण रूपमा रोकिँदा साहसिक अन्नपूर्ण पदमार्ग क्षेत्रमा रहेको मनाङ महिनौँदेखि सुनसान छ । पाहुना नपाउँदा पदमार्ग क्षेत्रका व्यवसायीहरूको रोजीरोटी नै गुमेको छ ।

‘दैनिक पाँच सयदेखि एक हजारसम्म स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउन हुने मनाङ सुनसान बनेको छ,’ पर्यटन व्यवसायी गुरुङ भन्छन् । सन् २०२० को पहिलो सिजनमै पदयात्री नआएर व्यवसाय बन्द गरेका व्यवसायीले शरद सिजनमा पनि पदयात्री आउने आशा मारिसकेका छन् । मुलुकमा कोभिडको महामारी फैलिँदै गएपछि पर्यटकीय गतिविधि हुने सम्भावना देखिँदैन । पहिलो चरणको लकडाउन ७ साउनदेखि खोलेको सरकारले १५ साउनदेखि होटेल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङलगायत पर्यटनसम्बन्धी व्यवसाय खुला गरेको थियो । पर्यटन मन्त्रालयले १ भदौदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने र विदेशी पर्यटकलाई घुमफिर गर्न आउन दिने रणनीति बनाइरहेको थियो । मन्त्रालयले पर्यटन व्यवसायको सुरक्षा प्रोटोकल पनि बनाइसकेको थियो । विदेशी पर्यटकलाई कसरी नेपाल प्रवेश गराउने र घुमफिर गर्न दिने भनेर रणनीति बनाइरहेका बेलामा कोभिड संक्रमित ह्वात्तै बढ्न थालेपछि अहिले झन्डै आधाभन्दा बढी नेपालमा लकडाउन वा निषेधाज्ञा लगाइएको छ । सरकारले १७ भदौदेखि सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । तर, यी उडानमा विदेशी पर्यटक नेपालमा घुमफिर गर्न आउन पाउनेवाला छैनन् ।

मनाङमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । अहिलेसम्म निको भएर घर फर्कने एक र चारजना आइसोलेसनमा रहेका छन् । मंगलबार ७७ जनाको नमुना परीक्षणका लागि पोखरा पठाइएको व्यहोरा छ ।

योकेल गुरुङ टुरिस्ट गाइड हुन् । कोरोनाले लकडाउन भएपछि उनी बेरोजगार छन् । भन्छन्, ‘यो सिजनमा अन्नपूर्ण पदमार्गमा पर्यटक नआउँदा एकातिर रोजगारी गुमेको छ भने अर्कोतिर व्यवसाय नै ठप्प भएको छ ।’ विदेशी पर्यटकलाई गाइड गर्दा मासिक ६०÷७० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । कर्म शेर्पा पनि ट्रेकिङ गाइड हुन् । उनी तीन वर्षदेखि पर्यटकसँग अन्नपूर्ण पदमार्गमा आउने गर्दथे । सिजनमा ५–६ वटा समूह लिएर आउँदा १० लाखदेखि १५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन् । 

पर्यटकको पर्खाइमा मनाङवासी
मनाङका अधिकांश बासिन्दाको रोजीरोटी नै पर्यटन व्यवसाय हो । कहिले कोभिड मत्थर होला र पुनः पर्यटकको चहलपहल होला भन्ने पर्खाइमा छन् मनाङवासी । मनाङका होटेल व्यवसायी यमबहादुर घले गत वर्ष यही समयमा होटेलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको सम्झन्छन् । उनी गुनासो पोख्छन्, ‘अहिले त सिजनमै सबै होटेल खाली छन् ।’ मनाङमा पर्यटक आवतजावत गर्दा पदमार्गका चिया पसलदेखि व्यवस्थित रूपमा चलेका होटेल गुल्जार हुन्थे । स्वदेशी तथा विदेशी पर्यटकको खचाखच भिड हुँदा सबैखाले व्यवसायीको राम्रै कमाइ हुन्थ्यो । तर, यो वर्ष पर्यटक आउजाउ ठप्प भएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । एक्याप मनाङका अनुसार यो सिजनमा दैनिक पाँच सय विदेशी पर्यटक मनाङमा पुग्ने गर्थे । मनाङमा तीन सय बढी होटेल छन् । एक करोडदेखि १० करोड लगानीमा बनेका होटेल पनि छन् । पाँच महिनादेखि होटेल बन्द हुँदा पाँच सय बढी मजदुरको रोजगारी गुमेको छ ।

मनाङका आकर्षण
मनाङ क्षेत्रमा पदयात्रीहरू विशेष गरेर थोराङ्ला पास, लार्के पास, कालापास, विश्वकै अग्लो स्थानमा (४,९१९ मिटर) रहेको चित्ताकर्षक तिलिचो तालको अवलोकनका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्यधिक पर्यटकहरू आउने गर्छन् । लमजुङको सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार मानिन्छ । त्यहाँबाट पर्यटक खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानी भएर पोखरा निस्कन पुग्छन् । पदयात्राका सोखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन् । 

अन्नपूर्ण पदमार्गसँगै समुद्री सतहबाट सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल पुग्ने पर्यटकहरू पनि प्रशस्तै आउने गर्छन् । यो पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । अन्नपूर्ण पदयात्रा मार्ग विश्वका १० उत्कृष्टमध्ये एक हो । गण्डकी प्रदेशको मुख्य मार्गका रूपमा रहेको यो पदमार्गमा सन् २०१९ मा २६ हजार ६४७ विदेशी पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्यांकले देखाएको छ । चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि विदेशी पर्यटकलाई सन् १९७७ बाट खुला गरिएको हो । १९९६ देखि एक्यापले चक्रीय अन्नपूर्ण पदयात्रामा आउने विदेशी पर्यटकको तथ्यांक राख्न थालेको हो ।

चित्ताकर्षक घाँसे मैदान, फापर र उवा 
पर्यटकको रोजाइमा मनाङको चामे, तिमाङ, दानाक्यु, बगरछाप, धारापानी, ढिकुरपोखरी, पिसाङ, हुम्डे, भ्राका, मनाङ, खाङसार, तिलिचो बेसक्याम्प, थोराङ फेदी, नार र पूmलगायतका स्थान पर्छन् । त्यहाँ खान बस्न होटेलको राम्रो प्रबन्ध पनि छ । यो सिजनमा मनाङका खर्क अनि घाँसे मैदानहरू हरियो हुने र त्यहाँ लगाइएको फापर र उवा फुलेको मनोरम दृश्यले पनि पदमार्गमा आउने विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवा बताउँछन् । 

कृषिमा लागे पर्यटन व्यवसायी 
लामो समयदेखि होटल चलाउँदै आएका मनाङका अगुवा पर्यटन व्यवसायी विनोद गुरुङ कोरोनाका कारण पर्यटक आउजाउ रोकिएपछि खेतीपातीमा लागेका छन् । पर्यटन व्यवसाय ठप्प भएकाले वैकल्पिक पेसा अपनाउन बाध्य भएको उनको भनाइ छ । विगतका वर्षमा तीन रोपनी जग्गामा तरकारी खेती गरेर अधिक समय होटेलमा बिताउने उनले यसपटक १२ रोपनी क्षेत्रफलमा तरकारी रोपेका छन् । भन्छन्, ‘विगतका वर्षमा पाहुनालाई सत्कार गर्दैमा फुर्सद हुँदैनथ्यो । यसपटक कोभिडले पाहुना आएनन्, त्यसैले तरकारी खेतीमा लागेको छु ।’

पर्यटनमा लागेका व्यवसायीले पहिला पहिला तरकारी खेती गर्दा आफूलाई चाहिनेजति मात्र उत्पादन गर्थे, अपुग तरकारी गाउँमै किन्थे । तर, यसपटक सबैजना फुर्सदिला भएर कृषिमा केन्द्रित हुँदा पर्याप्त तरकारी फलेर खपत गर्न नसकेको गुरुङ बताउँछन् । उनका अनुसार मनाङमा काउली, ब्रोकाउली, बन्दालगायतका तरकारी खेती राम्रो फल्छ । अहिले गाउँमा पर्यटक नआउँदा तरकारी बिक्री हुने अवस्था छैन । वैशाखमा रोपेको तरकारी अहिले सबैतिर फलेको छ । पानी कम पर्ने भएकोले यो बेला अभाव छैन । कात्तिकदेखि चिसोे बढ्ने हुँदा मनाङमा तरकारी हुँदैन । अफसिजनका लागि गाउँलेले तरकारी नै स्टोर गरेर राख्छन् । मनाङ ङिस्याङका कृष्ण गुरुङ यसपटक तरकारीको उत्पादन बढेपछि बजार पाउन नसकेको बताउँछन् । उनले तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । ‘गाडी नचलेको हुनाले तरकारी बेँसीसहरसम्म पनि तरकारी झार्न सकिएन,’ उनी दुखेसो पोख्छन् । माथिल्लो मनाङको मनाङगाउँ, खाङसार, ङावल, भ्राका क्षेत्रमा यो समयमा तरकारी उत्पादन बढी हुन्छ । 

सुझावित समाचार