रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको बुधबार रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रूपमा शिलान्यास गरेका छन् । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण सम्झौता गरेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५२ लाखमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्स्ट्रक्सनका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । ०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज ३ गते सम्पन्न गर्नुपर्नेछ ।  

तीनवटा मुख्य काम सुरु
रेसुंगा विमानस्थलका अहिले अन्तिम चरणका कामहरू भइरहेका छन् । धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर र तारजालीको काम भइरहेको विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । ०७६ साउनमा धावनमार्गको काम रौताहा हरि जेभीले ७ करोड २५ लाखमा सम्झौता गरेको छ । सम्झौताअनुसार ०७७ कात्तिकसम्म धावनमार्ग कालोपत्रे सम्पन्न गर्नुपर्नेमा करिब ३५ प्रतिशत मात्रै भएको छ । विमानस्थल तारजालीको काम पनि ०७६ पुसमा मौसम हरिश निर्माण सेवाले ९१ लाखमा निर्माण सम्झौता गरेको छ । काम नियमित भए करिब तीन महिनामा तारजालीको काम सम्पन्न हुने विमानस्थल सहायक आयोजना प्रमुख परियारले बताए ।

पाँच वर्षमा ४५ प्रतिशत प्रगति
रेसुंगा विमानस्थल निर्माणको काम ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । औपचारिक रूपमा ०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित भएको छ । विमानस्थलको धुले परीक्षण उडान भएको पनि दुई वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो समय परराष्ट्रमन्त्री भएपछि ज्ञवालीले विमानस्थल निर्माणलाई विशेष चासो दिएपछि आगामी वर्षसम्म सबै काम सम्पन्न गर्ने विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।

उनले आफूहरूको सोचअनुसारको निर्माण व्यवसायीहरूले काम नगर्ने प्रवृत्ति भएकाले समयमै काम गर्न गाह्रो भएको पन्थले बताए । विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिग्रहण, कटिङ, फिलिङ, टेवा पर्खाल र बाह्य ढल निर्माणको काम गरेर विमानस्थल निर्माणको काममा २१ करोड खर्च भएको छ । समग्र विमानस्थल निर्माणका हिसाबले आर्थिक तथा भौतिक रूपमा ४५ प्रतिशत काम भएको परियारले बताए । 

सुझावित समाचार