बाग्लुङमा बाढीले बस्ती बगायो, एक दर्जन बेपत्ता

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

बाग्लुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तीमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुकुर्दुङ र शेरावाङ गाउँका घर बगाएको हो । 

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना बेपत्ता भएकाे इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन,’ भण्डारीले भने, ‘अहिले उद्धारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’ 

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एकजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको बताए । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।     

See More On

सुझावित समाचार