भारतीय कंग्रेसका नेताहरूलाई भाजपामा प्रवेश गर्न केन्द्रीय मन्त्रीको सुझाब

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन एक केन्द्रीय मन्त्रीले सुझाब दिएका छन् । 

कंग्रेस पार्टीमा उनीहरूको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाब दिएका हुन् । कंग्रेसका वरिष्ठ नेताहरू गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने उनको भनाइ छ । 

सत्तारुढ गठबन्धन फेरि पनि शक्ति र सत्तामा फर्किने भएकाले धेरै उमेर पुगेका वरिष्ठ नेताहरू कंग्रेसमै रहिरहँदा कुनै अवसर नपाउने उनले तर्क गरे । 

यसअघि भएको संसदीय निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेस पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन नसकेपछि नैतिकताका आधारमा जिम्मेवारी लिँदै तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेसमा विवाद बढेको छ । 

विशेष गरेर कतिपय नेताहरूले राहुललाई नै अध्यक्ष बनाउनुपर्ने अडान र कतिपय नेताहरूले गान्धीको विकल्प खोज्नुपर्ने अडान राखेकाले पार्टीमा नयाँ अध्यक्ष चयन हुन सकेको छैन ।

नयाँ अध्यक्ष चयन नहुँदासम्म पार्टीले पूर्वअध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । तर, केही समयका लागि त्यो जिम्मेवारी दिए पनि लामो समयसम्म नयाँ अध्यक्ष चयन नभएको भन्दै पार्टीमा विवाद फेरि बढेको हो । 

पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न माग गर्दै आजादसहितका २० जना नेताले केही हप्ताअगाडि अन्तरिम अध्यक्ष गान्धीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । 

त्यसको लगत्तै अध्यक्ष चयन गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइए पनि कुनै निर्णयविना बैठक अन्त्य भएको थियो ।  रासस/एएनआई 

सुझावित समाचार