रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको शिलान्यास गरिएको छ । बुधबार रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रूपमा भवन र टावरको शिलान्यास गरेका हुन् ।
टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्ड्यन प्राधिकण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण सम्झौता गरेको छ ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड ५२ लाख नौ हजार ६ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्स्ट्रक्सनका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए ।
०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । अहिलेभन्दा कोभिडको संक्रमण नबढेमा अन्तिम मिति अगाडि नै काम सम्पन्न गर्ने श्रेष्ठले जानकारी दिए ।
टर्मिनल भवन र कन्ट्रोल टावरको शिलान्यास गर्दै रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
भुसाल र शर्माले अहिले पनि कोभिडको कारण निर्माणको काम र ढुवानीमा आफूहरूले कुनै अवरोध नगरेको बताउँदै अझै पनि व्यवसायीलाई काममा कुनै समस्या नहुने बताए ।

तीनवटा मुख्य काम सुरु
रेसुंगा विमानस्थलको अहिले अन्तिम चरणका कामहरू भइरहेका छन् । धावन मार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर र तारजालीको काम भइरहेको विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।
०७६ साउनमा धावनमार्गको काम रौताहा हरि जेभीले सात करोड २५ लाखमा सम्झौता गरेको छ । तर, धावनमार्ग निर्माणको कामले सोचेअनुसारको गति लिएको छैन ।
सम्झौताअनुसार ०७७ कात्तिकसम्म धावनमार्ग कालोपत्रेको काम पूरा गर्नुपर्ने भए पनि ३० देखि ३५ प्रतिशत काम मात्रै भएको परियारले बताए । केही मात्रामा कोभिडको असर देखिए पनि निर्माण कम्पनीले काम नै नियमित नगरेको उनको भनाइ छ ।
त्यस्तै टर्मिनल भवन र कन्ट्रोल टावरको भर्खरै शिलान्यास भएको छ । विमानस्थल तारजालीको काम पनि ०७६ पुसमा मौसम हरिश निर्माण सेवाले ९१ लाखमा निर्माण सम्झौता गरेको छ । काम नियमित भए करिब तीन महिनामा तारजालीको काम सम्पन्न हुने विमानस्थल सहायक आयोजना प्रमुख परियारले बताए ।
पाँच वर्षमा ४५ प्रतिशत प्रगति
रेसुंगा विमानस्थल निर्माणको काम ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । शिलान्यासपछि थुप्रै वर्ष कुनै काम भएन । औपचारिक रूपमा ०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित रूपमा भएको छ ।
विमानस्थल शिलान्यास गर्दा पर्यटकमन्त्री भएका ज्ञवाली अहिले परराष्ट्रमन्त्री छन् । अहिले नियमित उडानको संरचना निर्माणको काम भइरहेको छ । पछिल्लो समय ज्ञवालीले विमानस्थल निर्माणलाई विशेष चासो दिएकाले आगामी वर्षसम्म सबै काम सम्पन्न गर्ने विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।