ताप्लेजुङ/ चीनसँग सीमा जोडिएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती ओलाङचुङ्गोलामा यस सिजनमा पहिलोपटक ट्याक्सी पुगेको छ। गत चैत्र महिनादेखि बन्द रहेको सडक आज मंगलबारदेखि खुलेको हो।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल, जिल्ला प्रहरी प्रमुखलगायतको टोली ट्याक्सी चढेर ओलाङचुङगोला पुगेको छ। करिब नौ महिनादेखि सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प रहेको क्षेत्रमा सडक सफाइपछि मंगलबारदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्।
सवारीचालक रविन गुरुङले ट्याक्सी पुर्याएका हुन्। सुपर तमोर हाइड्रोपावरको मेसिन प्रयोग गरी सडकमा पहिरो तथा अवरोध हटाइएपछि ओलाङचुङगोलासम्म ट्याक्सी पुगेको हो। यससँगै लामो समयदेखि सडक सम्पर्कबाट प्रभावित स्थानीयलाई आवतजावतमा सहज हुने फक्ताङलुङ गाउँपालका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारीदिए । ओलाङचुङगोला आसपासको दोबाटो क्षेत्रमा करिब तीन सय मिटर सडक निर्माणको कामसमेत भइरहेको छ।
ओलाङचुङगोलादेखि टिप्तालासम्मको सडक सफाइ गर्ने बताइएको छ । उक्त काम सम्पन्न भएमा चीनसँगको सीमावर्ती टिप्ताला नाकासम्मै सवारीसाधन पुर्याउन सकिने छ। भौगोलिक विकटता, हिमपात र कठिन सडकका कारण ओलाङचुङगोला तथा टिप्ताला क्षेत्रको यातायात हरेक वर्ष प्रभावित हुने गर्छ।
बाह्रै महिना सडक सञ्चालनमा ल्याउन सकिए स्थानीयलाई आवतजावतसँगै पर्यटन, व्यापार र दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत ठुलो राहत पुग्नेछ । सुपर तमोर हाइड्रोपावर, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, गाउँपालिकालगायतको सहयोगमा सडक सञ्चालनमा आएको हो।