शुक्रबार हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सवारीलाई रोक

कान्ति लोकपथ प्रयोग गर्न प्रशासनको आग्रह

बिहिबार, ३ मंसिर, २०८३
डिजिटल संस्करण

मकवानपुर/ हरिबोधनी एकादशीका अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा मेला तथा जात्रा लाग्ने भएपछि शुक्रबार हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त मार्ग प्रयोग गर्ने यात्रुवाहक सवारीसाधनलाई वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार हरिबोधनी एकादशीका दिन त्रिखण्डीमा मेला लाग्ने भएकाले हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी सडकखण्ड हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्ति लोकपथ भएर आवतजावत गर्न अनुरोध गरेको हो।

त्रिखण्डेश्वर महादेव मन्दिर सडकछेउमै रहेकाले मेलामा ठुलो संख्यामा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ। मन्दिर क्षेत्रमा हुने भिडभाड तथा सडकको साँघुरो र भिरालो बनावटका कारण सवारी आवागमनमा जोखिम हुन सक्ने भएकाले यात्रालाई सुरक्षित र सहज बनाउन एक दिनका लागि उक्त मार्गमा यात्रुवाहक सवारी सञ्चालन रोकिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।

‘हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी रुटको सट्टा उक्त दिन कान्ति लोकपथबाट आवतजावत गर्न तथा गराउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ,’ उनले भने। प्रशासनले यात्रुवाहक सवारीसाधनका चालक, यातायात व्यवसायी तथा यात्रुलाई शुक्रबारका लागि वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ।

सुझावित समाचार