झापा । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका– ५ स्थित खटखटी टोलको चारपाने–राजगढ भित्री सडकखण्डमा बुधबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार राति करिब १०ः४० बजे राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एक–आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– ३ निवासी २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी– २ निवासी १७ वर्षीय अशोक राजवंशी रहेका छन् ।
दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।