सुरु भयो मधेशमा छठको रौनक

लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको पर्व छठको रौनकले मधेश प्रदेशका गाउँदेखि सहर उत्सवमय

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • चार दिनसम्म मनाइने पर्वको पहिलो दिन शुक्रबार नहाय–खाय, दोस्रो दिन शनिबार खरना, तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ 

जनकपुरधाम- लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको पर्व छठको रौनकले यतिवेला मधेश प्रदेशका गाउँदेखि सहर उत्सवमय बनेका छन् । पोखरी, नदी तथा जलाशयका किनारमा घाट निर्माण र सजावटको काम अन्तिम चरणमा पुगेको छ भने बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ ।

चार दिनसम्म श्रद्धा, निष्ठा र कठोर अनुशासनका साथ मनाइने छठ पर्वको तयारीमा स्थानीय युवा क्लब, सामाजिक संस्था र सर्वसाधारण जुटेका छन् । मधेशको सबैभन्दा ठुलो पर्वका रूपमा स्थापित छठलाई स्वागत गर्न जनकपुरधामका ऐतिहासिक सरोवर तथा पोखरी बेहुलीझैँ सिँगारिएका छन् ।

गंगासागर, धनुषसागर, महाराजसागर, अग्निकुण्ड, गोरधोई पोखरी, दशरथ तलाउ, अंगराजसर र बिहार कुण्डलगायत पोखरीमा सरसफाइ, विद्युतीय सजावट र पूजाका लागि आवश्यक संरचना निर्माण गरिएको छ । जनकपुरधामका करिब दुई दर्जन पोखरीसँगै दुधमती र बिग्ही नदीका किनारमा समेत छठघाट तयार पारिएका छन् । ग्रामीण क्षेत्रमा पनि स्थानीय युवा सामूहिक रूपमा घाट व्यवस्थापनमा सक्रिय छन् । छठको रौनक मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्र सीमित छैन, वीरगन्जको घडीअर्वा पोखरीमा पण्डाल निर्माण तथा झिलिमिली बत्तीले सजावट गरिएको छ । महोत्तरीको मटिहानीस्थित बिग्ही नदीमा करिब डेढ किलोमिटर लामो छठघाट निर्माण गरिएको छ भने सप्तरीको छिन्नमस्ता र सिराहाको दुर्गा पोखरीलगायत स्थानमा पनि विशेष तयारी गरिएको छ ।

महोत्तरीको मटिहानीस्थित बिग्ही नदीमा निर्माण गरिएको छठघाट यस वर्ष विशेष आकर्षण बनेको छ । नेपाल र भारतका श्रद्धालुले सामूहिक रूपमा छठ मनाउने यस क्षेत्रमा नदीको दुवैतर्फ व्यवस्थित घाट निर्माण गरिएको छ । मटिहानी, धनुषाको तुलसियाही तथा भारतको बिहारस्थित मधवापुर र रामपुरका श्रद्धालुलाई लक्षित गरी टेन्टसहित पूजा गर्ने व्यवस्था मिलाइएको छ । सीमाको दुवैतर्फका नागरिक एउटै नदी किनारमा भेला भएर छठ मनाउने परम्पराले यस पर्वको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार बिग्ही नदीमा निर्माण गरिएको घाट सम्भवतः नेपालकै सबैभन्दा लामो छठघाट हो । सीमावर्ती क्षेत्रका हजारौँ श्रद्धालु एकै स्थानमा भेला भएर पर्व मनाउने भएकाले व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताए ।

कठोर व्रत र सामाजिक समानताको सन्देश
छठको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नु हो । प्रकृति र सूर्यप्रति कृतज्ञता प्रकट गर्ने यस पर्वमा जातीय, धार्मिक तथा सामाजिक विभेदभन्दा माथि उठेर सबै समुदायका मानिस एउटै घाटमा सहभागी हुन्छन् । चार दिनसम्म मनाइने पर्वको पहिलो दिन शुक्रबार नहाय–खाय, दोस्रो दिन शनिबार खरना, तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् सम्पन्न हुन्छ । व्रतालुहरूले पर्व सुरु हुनुअघि नै माछामासु तथा तामसी भोजन त्यागेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । पहिलो दिन स्नान गरी शुद्ध भोजन गर्ने परम्परा छ । दोस्रो दिन दिनभरि निराहार बसेर साँझ पूजा गरेपछि खिर तथा फलाहार ग्रहण गरिन्छ, जसलाई खरना भनिन्छ । खरनापछि सुरु हुने निर्जला व्रतमा व्रतालुहरूले अन्न र जलसमेत ग्रहण गर्दैनन् ।

षष्ठीका दिन बिहानैदेखि घरघरमा छठका प्रसाद तयार पार्ने चटारो हुन्छ । ठकुवा, भुसुवा, लड्डु, फलफूल, उखु, नरिवललगायत सामग्री बाँसबाट बनेका ढकिया, नाङ्लो र सुपतीमा सजाएर घाटसम्म पुर्याइन्छ । करिब ३६ देखि ४० घण्टासम्म निर्जला व्रत बसेर व्रतालुहरूले जलाशयमा उभिँदै अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । पुत्र प्राप्ति, पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ श्रद्धालुहरूले छठ मनाउँदै आएका छन् ।

राजनीतिक विश्लेषक रोशन जनकपुरी छठको लोकप्रियता बढ्नुको मुख्य कारण यसको लोकचरित्र र सामाजिक समानताको भावना रहेको बताउँछन् । उनका अनुसार छठ पण्डा, पुरोहित, मन्त्र तथा कर्मकाण्डको अनिवार्यताबाट मुक्त विशुद्ध लोकपर्व हो । प्रकृति र सूर्यको उपासनामा आधारित यस पर्वले सामाजिक एकता र सामूहिक आस्थालाई अभिव्यक्त गर्ने उनको विश्लेषण छ ।

रास्वपा सभापति लामिछानेले जनकपुरधाममा छठ मनाउने
nullराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले यस वर्ष जनकपुरधाममा छठ मनाउने तयारी गरेका छन् । रास्वपा सांसद मनीष झाका अनुसार लामिछानेदम्पती जनकपुरधामका कुनै सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधि पूरा गर्नेछन् । पार्टीका नेता, कार्यकर्ता वा आफन्तको घरमा नभई सर्वसाधारणको घरमा बसेर पर्व मनाउने निर्णय भएको उनले बताए । लामिछानेदम्पतीले गंगासागर घाटमा पुगेर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रम छ ।

यसैबिच प्रधानमन्त्री बालेन्द्र शाह पनि जनकपुरधाम आउने चर्चा छ । तर, उनको आगमनबारे औपचारिक जानकारी प्राप्त नभइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । ‘प्रधानमन्त्रीको जनकपुर आगमनबारे सामान्य जानकारी आएको छ, तर यस विषयमा शुक्रबार मात्रै कुनै औपचारिक जानकारी हुन्छ,’ उनले भने ।

चाडपर्वले बढायो बजारमा चहलपहल
छठको आगमनसँगै लामो समयदेखि सुस्त रहेको जनकपुरधामको बजारमा पनि चहलपहल बढेको छ । दसैँ र दीपावलीमा अपेक्षित कारोबार हुन नसकेको भन्दै निराश देखिएका व्यापारीहरू छठ नजिकिएसँगै व्यापारमा सुधार आउन थालेको बताउँछन् । छठका लागि नयाँ कपडा, माटोका भाँडाकुँडा, बाँसबाट निर्मित ढकिया, नाङ्लो, चंगेरा, सुपतीलगायत सामग्रीको माग बढेको छ ।

छठमा अन्य सामग्रीसँगै फलफूलको कारोबार सबैभन्दा बढी हुने गर्छ । यस वर्ष जनकपुरधाममा छठ पर्वलाई लक्षित गरी करिब ६ करोड रुपैयाँबराबरका फलफूल भित्रिएको जनकपुरधाम फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवले जानकारी दिए । उनका अनुसार जनकपुरधाममा छठका लागि ८० ट्रक केरा, १५ ट्रक स्याउ, ६ ट्रक अनार र सात ट्रक सुन्तला भित्र्याइएको छ । धनुषा, महोत्तरी र सिराहाका उपभोक्ताले समेत छठका लागि जनकपुरधामबाट फलफूल तथा अन्य सामग्री खरिद गर्ने गरेका छन् । केरा नेपालका विभिन्न जिल्लाबाट ल्याइएको छ भने अन्य फलफूल भारतका विभिन्न राज्यबाट आयात गरिएको छ ।
 

सुझावित समाचार