विराटनगरमा कुस्तीको रौनक

नवयुवाहरूमा पनि कुस्तीप्रति मोह बढ्दै

सोमबार, २३ कार्तिक, २०८३
डिजिटल संस्करण
  • लोप हुन लागेको परम्परागत कुस्तीको रौनक फेरि मेला र चाडपर्वको बहानामा फर्किन थालेको छ। तर, अझै पनि खेलाडीको भविष्य र व्यावसायिक आम्दानीको अभावले गर्दा परम्परागत कुस्तीलाई पूर्ण व्यावसायिक बन्न चुनौतीपूर्ण छ।

विराटनगर । विराटनगर महानगरपालिका– ६ स्थित ब्रह्मपुरामा यसपालिको दसैँमा परम्परागत कुस्ती प्रतियोगिता निकै जम्यो। यहाँ २७ वर्षदेखि निरन्तर परम्परागत कुस्ती हुँदै आए पनि अचम्मैले दर्शक कुस्ती हेर्ने भनेर उर्लिएकोचाहिँ यसपालि नै हो। यसपालि खाली खेतमा बनाइएको मैदानमा देश–विदेशका चर्चित पहलवानहरूको दंगल (कुस्ती) हेर्न हजारौँ मानिसको ओइरो लाग्यो। कुस्ती हेर्नका लागि उर्लिएको भिड देखेर भिडन्तका लागि आएका भारत, भुटानका चर्चित पहलवानहरू पनि दंग परे।

विराटनगरको ब्रह्मपुरामा मात्र हाेइन, सुनसरीको देवाञ्जगन्ज गाउँपालिका– १, मध्यहर्षाहीमा पनि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना भयो। त्यहाँ पनि दैनिक हजारौँ मानिस दंगल हेर्न भन्दै परम्परागत कुस्ती प्रतियोगिता हेर्न उर्लिएका थिए।

कुनै समय दसैँ, दुर्गापूजा र स्थानीय मेलाहरूमा कुस्तीको अखडा जम्दा गाउँदेखि सहरसम्मका दर्शक झुम्मिन्थे। नाम चलेका पहलवानको भिडन्त हेर्न टाढाटाढाबाट मानिस आउँथे। माटोको अखडामा सुरु हुने दाउपेच, प्रतिद्वन्द्वीलाई चित पार्ने प्रतिस्पर्धा र पहलवानको प्रतिष्ठाले कुस्तीलाई खेल मात्र होइन, सामुदायिक उत्सवकै रूपमा स्थापित गराउँथ्यो।

null

तर, समयसँगै परम्परागत कुस्तीको रौनक घट्दै गयो। मानिसहरूले कुस्ती हेर्न रुचि देखाउन छाडे। उनीहरू एक्सन सिनेमा र टिभीमा देखिने रेस्लिङ प्रतियोगितातिर आकर्षित भए। यसैले दर्शक आउन छाडेपछि पुराना अखडाहरू हराउन थाले। नयाँ पुस्ताका खेलाडीहरूले नियमित प्रशिक्षणसमेत पाउन छाडे। यसैले त्यो वेला बहादुरीको खेलसँगै मनोरञ्जनको आकर्षणको केन्द्र मानिएको कुस्तीलाई व्यावसायिक पेसा बनाउने सम्भावना कमजोर हुँदै गयो। तर, हिजोआज फेरि परम्परागत कुस्तीतर्फ मानिसहरूको आकर्षण बढ्न थालेको छ। चाडपर्व र विशेष अवसरमै भए पनि आयोजकहरूले चुनौती मोलेर भए पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्न थालेका छन्। क्रमिक रूपमा नयाँ पुस्ताका चर्चित कुस्ती खेलाडीहरू पनि बढ्दै गइरहेका छन्।

तर, हराउँदै गएको कुस्तीलाई खेलकुद र मनोरञ्जनको व्यावसायिक माध्यम बनाउन सकिने सम्भावना देखिए पनि त्यसलाई नियमित आम्दानी र खेलाडीको जीविकोपार्जनसँग जोड्नका लागि पूर्ण व्यावसायिक बनाउन भने अझै उचित प्रयास भइरहेको पाइँदैन। किनभने परम्परागत कुस्तीमा वर्षमा एक–दुईपटक मेला वा विशेष अवसरमा आयोजना गरेको भरमा खेलाडीलाई वर्षभरि कुस्तीमै निर्भर भएर जीवन चलाउन कठिन हुन्छ। नियमित प्रशिक्षणका लागि आवश्यक खानपान, प्रशिक्षक, अभ्यासस्थल र खेलसामग्रीको अभावले पनि नयाँ पुस्तालाई यस खेलमा आकर्षित गर्न समस्या भइरहेको छ।

संघ छ, खेलाडी छन्, तर अझै किन व्यावसायिक छैन कुस्ती ?

nullहुन त नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन, खेलाडी विकास र प्रशिक्षणका लागि ०४४ तिरै नेपाल कुस्ती संघ दर्ता भएको पाइन्छ। यो संघ सन् १९८८ देखि अन्तर्राष्ट्रिय कुस्ती महासंघसँग समेत आबद्ध भएको पाइएको छ। तर, कुस्ती खेलमा घटेको आकर्षण र मानिसहरूको फेरिँदो रुचिले गर्दा यो संघको भूमिका सक्रिय रूपमा देखिन पाएन। राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताको पात्रो बनाउने, खेलाडीको अभिलेख राख्ने, निर्णायक प्रशिक्षण र पुरस्कारसम्बन्धी मापदण्ड बनाएर लागू गराउने र कुस्ती खेलाडीहरूको हकहितको संरक्षणमा लागिपर्ने नेपाल कुस्ती संघ अझै बिरानो बन्न पुग्यो।

तैपनि अझै मधेशका धनुषा, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा अनि लुम्बिनीको नवलपरासीदेखि रूपन्देहीलगायत अनि कोशीका मोरङ, सुनसरी र झापालगायतका जिल्लामा कुस्तीको पुरानो आधार अझै कायम छ। यहाँ चाडपर्वको अवसर पारेरै भए पनि स्थानीय क्लब, मन्दिर समिति आदिले चन्दा संकलन गरेरै भए पनि कुस्ती (दंगल) गराउँदै आएका छन्। जसलाई हेर्न आजभाेलि हजारौँ दर्शक उर्लिने गरेका छन्।

वेलावेला पर्व र उत्सवहरूमा भए पनि आयोजना हुने कुस्ती प्रतियोगिताहरूले गर्दा नेपाली पुरुष तथा केही महिला खेलाडीले पनि प्रतिस्पर्धा गर्ने अवसर पाउने गरेका छन्। नेपालमा आयोजना हुने कुस्तीहरूमा अन्तर्राष्ट्रिय खेलाडीहरू देवा थापा, वसन्त थापा, पारस थापा, जावेद गनी, मेवा थापालगायतका नेपाली मूलका पहलवानदेखि भारतका मन्नु पहलवान, काली पहलवान, भीम पहलवान, सेरु पहलवानदेखि भुटानका चिचिम डोगरा पहलवानहरूसमेत आएर मनोरञ्जन दिन थालेका छन्। सेरु पहलवानलगायत दर्जनभन्दा बढी पहलवानहरू नेपालमा आएर व्यावसायिक कुस्ती खेलेर फर्किन थालेका छन्। जसले नवयुवाहरूमा पनि कुस्तीप्रति मोह बढाउँदै लैजान थालेको छ।

नेपालमा परम्परागत कुस्तीको गुमेको आकर्षण फर्काउन मधेश खेलकुद परिषद्को आयोजनामा जनकपुरधाममा ‘जिती मधेश, खेली मधेश’ नारासहित राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको थियो। यसले परम्परागत रूपमा कुस्तीको आधार रहेको मधेशमा खेललाई संस्थागत रूपमा अघि बढाउने प्रयास गरेको थियो। तर, यतिले मात्र लोप हुन थालेको परम्परागत कुस्ती प्रतियोगिता व्यावसायिकचाहिँ बन्न सक्दैन। अझै भएका खेलाडी र संघसंस्था अनि अखडाहरूको संरक्षण र व्यावसायिक कुस्ती प्रतियोगिताहरूको सञ्चालनले निरन्तरता पाउन सकिरहेको छैन। अझै पनि संघ, प्रदेश सरकार, पालिकाले कुस्ती प्रतियोगिताका लागि भनेर बजेट विनियोजन गराउने गरेका छैनन्।

मेलाको आकर्षणलाई आम्दानीमा बदल्ने चुनौती

nullचाडपर्व र अन्य उत्सवहरूमा मनोरञ्जनका लागि आयोजना गरिने कुस्ती प्रतियोगिताले आजभाेलि वार्षिक रूपमा निरन्तरता पनि पाउन थालेका छन्। तर, अझै प्रायोजक र सरकारी लगानीको अभावमा स्थानीय पहलवानहरू उत्पादन हुन सकेका छैनन्। भएकाहरू पनि व्यावसायिकताको अभावले गर्दा पलायन भइरहेका छन्। यसैले आयोजकहरूले चाडपर्वमा आयोजना गरिने कुस्तीहरूमा भारतीय र भुटानी खेलाडी बोलाउनुपर्ने अवस्था छ। प्रायोजकहरू नपाउँदा आयोजकहरूले विजयी खेलाडीहरूलाई पाँच-दश हजारको पुरस्कारमै सीमित राख्नुपर्ने बाध्यता छ।

नेपालमा खेलाइने कुस्ती खेलहरू प्रायः सबै खुला खेतको अखडामा खेलाइने गरिन्छ। अझै पनि दर्शकहरूले अन्य खेलहरूझैँ टिकट काटेर कुस्ती हेर्ने गरेका छैनन्। अझै कुस्तीका लागि अखडा, कभर्ड हल, रेफ्री, सुरक्षा, प्राथमिक उपचार, प्रचारप्रसार र उचित व्यवस्थापनको समस्या छ। दर्शक आउँदैनन् भनेर प्रायोजकहरूले अझै चासो दिन थालेकै छैनन्। यसैले कुस्ती खेलाडी बन्नु र बनिसकेपछि व्यावसायिक बनेर जीवन चलाउन अझै गाह्रो छ। अनि सरकारी प्रोत्साहन र प्रायोजक नपाउँदा देश-विदेशबाट पहलवान बोलाएर प्रतियोगिता आयोजना गर्नु त झनै गाह्रो।

null

यसैले बढ्दो कुस्तीको आकर्षणलाई ख्याल गरेर सबै तहका सरकारहरूले कुस्तीको परम्परा जोगाउन लागिपर्नुपर्छ  । यसपालिको दसैँमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता आयोजना गरेका सुनसरी देवाञ्जगञ्ज– १ मध्यहर्षाहीका आयोजक स्थानीय दुर्गामन्दिर सेवा समितिका अध्यक्ष सूर्यनारायण मेहता भन्छन्, ‘प्रायोजकहरूले पनि अब फुटबल, भलिबल, कराँतेहरूमा मात्र होइन, कुस्ती प्रतियोगितामा पनि प्रायोजन गर्न थाल्नुपर्छ। सरकारहरूले पनि बजेट छुट्याउनुपर्छ। अनि मात्र खेलाडीहरूले प्रशिक्षक, पोषण, खेलसामग्री र प्रतियोगिताहरू अरू खेलहरूजस्तै आयोजना हुन सक्ने थियो र परम्परागत कुस्ती साँच्चै व्यावसायिक बन्न सक्थ्यो।’

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोष पनि केही वर्षदेखि कुस्तीमा आकर्षण बढेकोबारे जानकार छन्। उनका अनुसार कुस्तीमा बढ्दो आकर्षण देखेर खेलकुद बोर्डबाट यस वर्ष नै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताउँछन्।

तर, उनले पनि कुस्तीको विकासका लागि बोर्डबाट बजेट विनियोजन नभएको स्वीकार गर्दै आगामी वर्ष योजना बनाएर बजेट विनियोजन गराउने बताए। सदस्यसचिव घोषले भने, ‘मेरै गाउँमा पनि कुस्ती हुन्छ, त्यसैले यसको आकर्षणबारे म जानकार छु। त्यसैले यसपालि कोशी पर्यटन वर्षको नाममा अन्तर्राष्ट्रिय प्रतियोगिता राखेका छौँ, तर आगामी वर्षदेखि बृहत् छलफल गरेर कुस्तीको विकासका लागि बजेट विनियोजन गराउनेछौँ।’

 

सुझावित समाचार