काठमाडौं/ गत शुक्रबार प्रहरीले धरपकड गरेका सञ्चारगृहमा पुगेर प्रेस काउन्सिल नेपालले जानकारी लिएको छ । काउन्सिलका सदस्य रविराज बराल नेतृत्वको टोली बुधबार नयाँ पत्रिका दैनिक, नेपाल प्रेस र दियो पोस्टको कार्यालयमा पुगेर जानकारी लिएको हो ।
गत शुक्रबार नेपाल प्रहरीले समाचारकै विषयलाई लिएर तीन पत्रकारलाई केही घन्टा नियत्रणमा लिएको थियो भने अन्य पत्रकारलाई पनि पक्राउ गर्न सञ्चारगृहमा टोली खटाइएको थियो । समाचारकै विषयमा यसरी समाचार कक्षमा प्रहरी धरपकड हुनु संविधानकै बर्खिलाप भएको भन्दै आलोचना भइरहेको छ । जसमा काउन्सिलले पनि विस्तृत अध्ययन थालेको हो ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले काउन्सिलको टोलीलाई घटनाबारे जानकारी गराउँदै त्यस दिन काउन्सिलले शीघ्र रूपमा चासो व्यक्त गरी सरकारको ध्यानाकर्षण गराएकामा धन्यवाद दिए ।
काउन्सिलका सदस्य बरालले प्रेस स्वतन्त्रताको पक्षमा काउन्सिल सधैँ सञ्चारगृहको पक्षमा रहने बताए । काउन्सिलको टोलीमा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र प्रशासकीय अधिकृत संचिता घिमिरे थिए ।
यसअघि मंगलबार मानव अधिकार आयोगको टोली नयाँ पत्रिकालगायत सञ्चारमाध्यममा पुगेर जानकारी लिएको थियो ।