
सूचना प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएको पुस्ता)को बहुमत जनसंख्या माध्यमिक तह र प्लस टुमा अध्ययनरत छ । प्लस टु सकेर विदेश लम्किनेमा पनि यही पुस्ताको बाहुल्य छ । राजनीतिमा ‘वाद’ र ‘सिद्धान्त’भन्दा पनि डेलिभरी दिन सक्ने नेताहरू नेतृत्वमा आउनुपर्छ भन्ने धारणा राख्ने यो पुस्ता नेतृत्वको कमजोरी र गल्तीमा औँला उठाउँछ । जेन–जी देश, प्रदेश र पालिकाको नेतृत्व कस्तो होस् भन्ने चाहन्छ, अनि देश र आफ्नो भविष्यबारे के सोचिरहेको छ ? स्वदेशमै केही गर्ने सोच बनाएको छ कि, विदेश जाने ? देशको भविष्यप्रति कति आशावादी छ ? यिनै प्रश्नको सेरोफेरोमा कक्षा १०, ११ र १२ मा अध्ययनरत पूर्व ताप्लेजुङदेखि पश्चिम बैतडीसम्मका विद्यार्थीको अभिमत :

विकास तामाङ, कक्षा, ११
नीलकण्ठ मावि, नीलकण्ठ–३ (धादिङ)
देशको नेतृत्व इमानदार, पारदर्शी, र जनउत्तरदायी हुनुपर्छ । ‘हाम्रो होइन राम्रो’ नेतृत्व चुन्ने वेला आएको छ । सिभिल इन्जिनियर पढिरहेको म देशमै बसेर काम गर्न चाहन्छु । तर, भोलि के हुन्छ थाहा छैन ।

विनिता गिरी, कक्षा १२
सरस्वती मावि, दिक्तेल (खोटाङ)
देशलाई शान्त, समृद्ध र प्रगतिशील अवस्थामा देख्न चाहन्छु । त्यसका लागि पारदर्शी र समावेशी सोच भएको नेतृत्व चाहिन्छ । पढाइ सकेर गाउँमै काम गर्न सकुँ, त्यसका लागि वातावरण बनोस् । अहिले जे–जस्तो भए पनि भोलि देशमा राम्रो विकास होला र भ्रष्टाचार अन्त्य होला जस्तो लाग्छ ।

निस्ता योगी, कक्षा ११
होराइजन एकेडेमी, (सुर्खेत)
भ्रष्टाचार रोक्ने र युवालाई विदेश जानबाट रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व चाहिएको छ । देशमा रोजगारी नहुँदा युवा चाहेर पनि स्वदेशमा बस्न सकेका छैनन् । पढाइ सकेर देशमै काम गर्न चाहन्छु । दुर्गमका जनताले उपचार पाएका छैनन्, डाक्टर बनेर विकट बस्तीमा सेवा गर्न चाहन्छु ।

इशान सुवेदी, कक्षा ११
पोखरिया मावि, विराटनगर (मोरङ)
देशको नेतृत्व त्यागी र इमानदार हुनुपर्छ । देश चाँडै विकास होस् । सकेसम्म देशमै काम गर्नुपर्छ । देशको भविष्यप्रति आशावादी नै छु । भ्रष्टाचार र गरिबी अन्त्य गर्नुपर्छ ।

पवित्रा नेपाली, कक्षा १२
कस्तुरी एकेडेमी, विराटनगर (मोरङ)
स्थिर सरकार बन्यो भने देशको विकास होला कि । भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने नेतृत्व चाहिएको छ । सके आफैँ राजनीति गर्छु, सकिनँ भने व्यवसाय गर्छु । शिक्षा, स्वास्थ्य उकासेर रोजगारी बढाउनुपर्नेछ ।

इच्छा भण्डारी, कक्षा १०
मोडर्न तुल्सी माविद्यालय, शारदा (सल्यान)
दूरदर्शी दृष्टिकोण भएका नेता चाहिएको छ । सपना देखाएर मात्र भएन, देश विकास पनि गर्न सक्नुपर्छ । देशको राजनीति, युवा विदेश गएका समाचार सुन्दा नराम्रो लाग्छ, किन भ्रष्टाचार बढ्यो होला लाग्छ । भविष्यमा म पनि बालेन शाहजस्तै सबल र सक्षम नेतृत्व भएर आफ्नो देशलाई अघि बढाउन चाहन्छु ।

जोभिल केसी, कक्षा– १०
त्रिपुरा ग्लोरियस एकेडेमी, चरिकोट (दोलखा)
देशको नेतृत्व भिजन भएको युवाले गर्दा राम्रो हुन्छ । प्रदेश, पालिका र वडामा पनि भिजन भएका नेतृत्व चयन गर्न सके मात्र सुधार आउँछ । रोजगारीको सिर्जना हुने काम गर्नुपर्छ । अहिलेकै अवस्थामा त दिनदिनै शुभभन्दा अशुभ समाचार धेरै सुनिन्छन् । देशकै भविष्य निराशाजनक भएपछि हाम्रो भविष्य राम्रो हुने कुरै भएन । पढाइ सकुन्जेलसम्म त सुधार होला नि ।

उपासना चन्द, कक्षा १२
वीरेन्द्र मावि, शाहीलेक (बैतडी)
नेतृत्वले भ्रष्टाचार नगरोस्। भ्रष्टाचारका कारण देश विकास नभएको हो । त्यही भएर युवा निराश भएर विदेश गइरहेका छन् । मेरो बाबाले भन्नुभएको ‘हामी विद्यार्थीको टाउकोमा पनि वैदेशिक ऋण छ रे ।’ पालिकाले शिक्षालाई सुधार गर्न सके व्यावहारिक र जीवनमा काम लाग्ने शिक्षा पाइन्थ्यो कि । देशमै बसेर काम गर्न चाहन्छु ।

समीक्षा कुँवर, कक्षा १०
नवीन औद्योगिक कदरबहादुर रिता मावि, बुटवल (रुपन्देही)
नेताले चुनावका वेला आश्वासन दिन्छन्, जितेपछि काम गर्दैनन् । अब युवा राजनीतिमा आउनुपर्छ । नेतृत्व लिएर देश विकास गर्नुपर्छ । एसइई र १२ कक्षामा राम्रो नतिजा ल्याएर एमबिबिएस पढ्ने योजना छ ।

भीमा डाँगी, कक्षा १२
राप्ती बबई क्याम्पस, तुल्सीपुर (दाङ)
देशको नेतृत्व इमानदार, पारदर्शी र जनउत्तरदायी होस् भन्ने चाहन्छु । शिक्षा, स्वास्थ्य, सरसफाइ, र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्छ । देशको भविष्यप्रति सकारात्मक छु, तर प्रभावकारी नेतृत्व र युवाको सक्रियताले मात्र यो सम्भव छ भन्ने मेरो बुझाइ छ । पढाइ सकेपछि सीप सिकेर देशमै काम गर्न चाहन्छु ।

आशिष थारू, कक्षा १०
धनगढी नमुना मावि, धनगढी (कैलाली)
धेरै ठाउँमा विकास भएको छैन, सुविधा पुगेको छैन । भ्रष्टाचार नगर्ने नेतृत्व चाहिएको छ । काठमाडौंका बालेन शाह र धनगढीका गोपी हमालजस्ता नेताहरू आए देश बन्छ भन्ने आशा छ । काम गर्ने मान्छे बिस्तारै आउँछन् होला । पढाइ सकेर व्यवसाय गर्ने सोच छ ।

आशिष कटुवाल, कक्षा १०
ज्ञानोदय बालबाटिका एकेडेमी, हेटौँडा (मकवानपुर)
हरेक क्षेत्रमा ढिलासुस्ती, भ्रष्टाचार, अराजकता छ । सबल र सशक्त नेतृत्व भइदियोस् भन्ने लाग्छ । बेरोजगारीको अन्त्य गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्नेखाले नेतृत्व आवश्यक छ । पढेर देशमा ज्ञान र सीपको प्रयोग गर्छु ।

समृद्धि पन्थी, कक्षा १२
महेन्द्र नमुना मावि, तम्घास (गुल्मी)
नेतृत्व पारदर्शी र जवाफदेही हुनुपर्छ । भ्रष्टाचारलाई जरैबाट निर्मूल गर्न सक्ने नेतृत्व चाहिएको छ । शिक्षामा सुधार, स्वास्थ्य सेवामा पहुँच चाहिएको छ, रोजगारी बढाउन सके बिदेसिने कम हुन्थे । युवा आशावादी भयौँ भने मात्र देश समृद्धिको बाटोतर्फ लम्किन्छ ।

लक्ष्मी घिमिरे, कक्षा १२
घोडाघोडी सामुदायिक मावि, सुखड (कैलाली)
देशलाई समृद्धिको बाटोमा लैजान सक्ने नेतृत्वको खाँचो छ । सुदूरपश्चिम कम विकासित प्रदेशमा पर्छ, शिक्षा र स्वास्थ्यको अवसर कम छ । विकास भएको भए हाम्रो भविष्य पनि राम्रो हुन्थ्यो । नयाँ पुस्ता आए देशको विकास हुन्ने भन्नेमा आशा छ । विदेश जानुपर्छ भनेर अहिले नै दिमागमा राख्नुहुँदैन, यहीँ बसेर सुधार गर्नुपर्छ ।

सुवान सुवाल, कक्षा १०
वागीश्वरी स्कुल, (भक्तपुर)
अहिलेको पुस्ता उद्यमशीलता सहज हुने गरी नीति निर्माण हुन, राजनीतिक स्थिरता होस् भन्ने चाहन्छ । तर, नेताहरू व्यक्तिगत स्वार्थमा अल्झिन्छन् । कुनै पनि देशको विकासका लागि शिक्षा बलियो हुनुपर्छ । म उच्च शिक्षाका लागि विदेश जान्छु र फर्किएर स्वदेशमै केही गर्छु भनेर सोचेको छु । राजनीति सुधार नभए युवा पलायन हुन्छन् नै ।

आकृति खनाल, कक्षा १०
फुल्चोकी मावि, (ललितपुर)
अहिलेको पुस्ता विज्ञान–प्रविधि रमाउने, नेपालमै बसे पनि विश्व बुझ्न र देख्न सक्ने शक्ति हो । यो पुस्तालाई स्वदेशमै रोक्न र राजनीतिप्रति आशावादी बनाउन नेता र सरकारमा हुनेहरूले राम्ररी काम गर्नुपर्छ । युवामैत्री वातावरण छैन, त्यो बनाउनुपर्छ । नत्र अहिलेका युवा नेपालमा बस्दैनन् । युवालाई सबै क्षेत्रमा अघि बढ्ने वातावरण बनाउनुपर्छ ।

श्रेय दाहाल, कक्षा १०
भ्याली भ्यु स्कुल, (काठमाडौं)
देशमा राजनीतिक अवस्था नाजुक छ । नयाँ पुस्तालाई बुझ्न सक्ने र उनीहरूका चाहना सम्बोधन गर्न सक्ने नेतृत्व चाहिन्छ । त्यसैले अब राजनीतिमा पनि युवापुस्ताको प्रतिनिधि आउनुपर्छ । राजनीति नयाँ पुस्तामा हस्तान्तरण नहुने हो भने युवा शक्ति पलायन हुने क्रम अझै बढ्छ ।

गंगा घिमिरे, कक्षा १२
गोल्डेनगेट कलेज, (काठमाडौं)
कुनै पनि देशमा समृद्धि ल्याउने र जनतालाई सुख दिने भनेको राजनीतिले नै हो । तर, हामीकहाँ दलहरू भिन्न–भिन्न स्वार्थ बोकेर आफ्नो फाइदाका लागि एकजुट भएको देखिन्छ । युवाको सोच एकातिर छ, नेताहरूको सोच र व्यवहार अर्कातिर छ । जवाफदेही नै छैनन् । त्यसैले युवापुस्ता राजनीतिमा आउनुपर्छ, त्यसले राजनीतिक व्यवस्थामा टेवा पुग्छ ।

सुजन पुरी, कक्षा १२
जनकल्याण मावि, (काठमाडौं)
नेपालमा पाका नेता र नयाँ पुस्ताबिच निकै गहिरो खाडल छ । नयाँ पुस्ताले के खोजिरहेको छ, के चाहिरहेको छ भन्ने पुरानो पुस्ताले बुझ्नै सकेको छैन । त्यसैले उनीहरूको चासो सम्बोधन गर्न सकेको छैन । युवापुस्ता पनि राजनीतिक नेतृत्वसँग त्यति खुसी छैन । देशमै बस्दा भविष्य बिग्रने हो कि भन्ने चिन्ता नयाँ पुस्तामा छ । यसको समाधान राजनीतिक नेतृत्वले नै गर्न सक्ने हो ।

सुदीन कोजू, कक्षा १०
खोप्रिङ स्कुल, (भक्तपुर)
विकास निर्माणका काममा नेताहरूको चासो
कम छ, युवाको मागअनुसार काम गरेका छैनन्, जसकारण युवाहरू स्वदेशमा बस्न खोज्दैनन् । नेपालमा रोजगार पाइए पनि उचित पारिश्रमिक र सम्मान छैन । मेरो सोच इन्जिनियरिङ पढ्ने र यहीँ केही गर्ने भन्ने छ । यहाँका नेताले जनताको आवश्यकता बुझेर काम गरे भने युवाहरू विदेश जाने क्रम कम हुन सक्छ ।

सचिन लम्साल, कक्षा १०
लिटिल एन्जल्स स्कुल, (ललितपुर)
नेताहरूमा विश्वसनीयता र जवाफदेहिता कम देखिन्छ, निष्ठावान् भएर काम गरेका छैनन् । आफ्ना प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । अहिलेको युवा गफभन्दा पनि नतिजा खोज्छन् । नेताहरू कामभन्दा बढी गफ दिन्छन् । मजस्ता युवाहरूलाई नेताहरूको यस्तो बानी मन पर्दैन । जनतासँग गरेको वाचा पूरा गर्नुपर्छ । मैले पढ्नका लागि विदेश जानुपर्छ भन्ने सोच बनाएको छु, तर त्यहाँ सिकेको ज्ञान नेपालमै प्रयोग गर्नेछु ।

कुशल महर, कक्षा १०
ज्ञानोदय मावि, (काठमाडौं)
राजनीति र युवाबिच गहिरो खाडल छ । पदमा हुनेहरूले युवाको मनोभाव बुझ्न सकिरहेका छैनन् । नेताहरूले युवाहरूलाई रोजगार दिनेतिर त्यति चासो दिएको पाइँदैन । विकासको हिसाबले पनि नेपाल पछाडि नै परेको छ । अधिकांश नेताहरू देशभन्दा पनि आफ्नो स्वार्थमा केन्द्रित छन् । भ्रष्टाचार बढी छ । कुनै पदमा आफ्नोलाई नियुक्ति गरिन्छ । युवाहरू यस्तो चाहँदैनन् । मेरो लक्ष्य डाक्टर बन्ने हो । हुम्ला, जुम्ला र कर्णालीजस्ता ठाउँहरूमा सिटामोलको समेत अभाव भइरहन्छ । यस्तो समस्या आउनु राम्रो होइन ।

समृद्धि शाक्य, कक्षा १०
लिटिल एन्जल्स स्कुल, (ललितपुर)
नेपालका नेताहरू मलाई खासै मन पर्दैन, उनीहरू जनताको समस्या राम्ररी समाधान गर्नतिर लाग्दैनन् । पद र कुर्सीका लागि बढी हानाथाप गरेको देख्छु । एउटै नेता पटकपटक मन्त्री तथा माथिल्लो पदमा पुगेको हामीले देखेका छौँ । राजनीतिक क्षेत्रमा युवाहरूलाई पाका पुस्ताले स्थान दिएको पाइँदैन । यो कुरा हामी युवालाई पटक्कै मन पर्दैन । युवाहरूलाई स्वदेशमै राख्ने हो भने युवाको मागअनुसार नेतृत्व तहले काम गर्न सक्नुपर्छ । राजनीतिमा बढीभन्दा बढी युवाहरूलाई सहभागी गराउनुपर्छ ।

सुशील थारू, कक्षा १२
मंगलप्रसाद मावि, नेपालगन्ज (बाँके)
देशको अवस्था सुधार गर्न सक्नेले मात्र नेतृत्व लिनुपर्छ । नेतृत्वले आफूलाई होइन, देशको बृहत्तर हितमा काम गर्नुपर्छ । पढेर देशमै काम गर्न चाहन्छु । लोकसेवाको तयारी गर्ने योजना छ ।

विवेक पौडेल, कक्षा १२
लीलाराम न्यौपाने मावि, भैरहवा (रुपन्देही)
देशका समस्या समाधान गर्ने नेतृत्व देशमा होस् । आफ्नो मात्र सुविधा नहेर्ने, भ्रष्टाचार रोक्ने, बजेट ठिकसँग वितरण गर्ने खालको नेतृत्व होस् । १२ कक्षाको अध्ययनपछि मेडिकल वा इन्जिनियरिङ क्षेत्रमा अध्ययन गर्ने योजना छ । नेपालमै बसेर काम गर्ने इच्छा छ, बाबा–आमालाई छाडेर विदेश जाने इच्छा छैन ।

रेश्मा मगर, कक्षा ११
बच्छलादेवी मावि, बाह्रबिसे (सिन्धुपाल्चोक)
अब देशमा स्थानीय तहजस्तै कार्यकारी चाहिएको छ, भ्रष्टाचार रोक्ने र विकास गर्ने नेता जनता आफैँले चुन्न पाउनुपर्छ । गाउँघरमा धेरैजसो एसइईपछि विदेश गइरहेका छन् । प्लस टुपछि त कोही पनि गाउँमा बस्दैनन् । राजनीतिक नेतृत्व वेलैमा सचेत हुनुपर्छ । रोजगारमूलक कार्यक्रम तय गर्नुपर्छ ।

पुष्पा सेन्दाङ, कक्षा ११
भानुजन मावि, फुङलिङ (ताप्लेजुङ)
शिक्षालाई प्रविधितर्फ लैजान सक्ने,
भ्रष्टाचार नगर्ने नेतृत्व चाहिएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ । पढाइ सकेर शिक्षक बनेर गाउँमै बस्ने रहर छ । तर, अहिलेका नेताबाट हामी युवाले आस गर्ने ठाउँ छैन, भविष्यमा के हुन्छ भन्न सकिँदैन ।

केशव थापा, कक्षा १२
त्रिभुवन मावि, बेलौरी (कञ्चनपुर)
विद्यालय सुधार गर्ने र विद्यार्थीले बिदेसिनु नपर्ने गरी काम गर्न सक्ने नेतृत्व चाहिएको छ । गाउँमा सडक र अस्पताल चाहिएको छ । नेताहरू सत्ताका लागि मात्रै लडाइँ गरेको समाचार आइरहन्छन । मैले देशमा भविष्य देखेको छैन । पढाइपछि नेपालमा काम नपाइए विदेश जान्छु ।

सञ्जिता शाह, कक्षा १२
त्रिभुवन मावि, भेरी (जाजरकोट)
नेतृत्व इमानदार र सक्षम हुनुपर्छ, अहिलेका नेताहरू आफ्नो स्वार्थमा केन्द्रित भए । राजनीतिक खिचातानी छ, त्यही भएर विकास नभएकोजस्तो लाग्छ । नेतृत्व परिवर्तन भए पनि सोच र प्रणाली परिवर्तन नभएसम्म ठुलो सुधार हुने देख्दिनँ । पढाइ सकेपछि स्वदेशमै केही गर्ने इच्छा छ ।

रञ्जु गिरी, कक्षा ११
सेन्टजोसेफ कलेज, विराटनगर (मोरङ)
वडादेखि केन्द्रका नेता देश बनाउने खालका हुन्, भ्रष्टचार नगरून् । आफ्नालाई मात्र रोजगारी नदिऊन्, सबैलाई समान व्यवहार गरून् भन्ने लाग्छ । स्वदेशमै होटेल चलाउने सपना छ । होटेल खोल्न सकिनँ, जागिर पनि पाइएन भने विदेश जान्छु ।

आरतीकुमारी सदाय, कक्षा १२
जेएस मुरारका बहुमुखी क्याम्पस, लहान (सिराहा)
आमाले मजदुरी गरेर मलाई पढाइरहनुभएको छ । गाउँका थुप्रै दलित बालबालिकाको अवस्था पनि मेरोजस्तै छ, कतिले पढ्न पाएका छैनन् । त्यही भएर देशको नेतृत्वमा रहनेले विपन्न विद्यार्थीलाई स्नातकसम्म निःशुल्क पढ्ने व्यवस्था गरिदिन अनुरोध छ ।

सत्य आले, कक्षा ११
नेपाल पुलिस स्कुल, बनेपा (काभ्रे)
विकासका मार्गमा डो¥याउने नेतृत्व चाहिएको छ । आधुनिक शिक्षा, स्वरोजगार र नयाँ प्रविधिको विकास भए युवाको क्षमता पूर्ण रूपमा उपयोग गर्न सकिन्छ । युवा मिलेर अघि बढ्न सके देश समृद्ध हुनेछ ।

सक्षम सञ्जेल, कक्षा १०
गौरीशंकर मावि, निजगढ (बारा)
जनताको दैनिकीमा परिवर्तनको आभास हुने काम भएको छैन, त्यही भएर जनताले आभास हुने गरी देशको नेतृत्व हुनुपर्छ । जहाँ पढे पनि देशमै आएर काम गर्नेछु । पालिकाका काम तारिफयोग्य छन्, म पनि पालिकाको नेतृत्व गर्न चाहन्छु ।

सञ्जिता श्रेष्ठ, कक्षा १२
हिमालय मावि, खाँदबारी (संखुवासभा)
सत्तामा रहेका वडादेखि केन्द्रसम्म नेताहरू आफूले कसरी कमाउने भन्ने धाउन्नमा छन् । वडामा बजेट दिँदा पनि आफ्नो र पार्टी हेरेको देखिन्छ । भष्टाचार नगर्ने र रोजगारीको सुनिश्चितता गर्ने नेतृत्व चाहिएको छ । अब युवाले नेतृत्व लिएर देश विकास गर्नुपर्छ । देश सकिएको छैन, सही नेतृत्व आए परिवर्तन हुन्छ ।

सोनिसा सुनार, कक्षा १०
स्पाइरल ग्यालेक्सी एकेडेमी मावि, पोखरा (कास्की)
लोकतान्त्रिक, गणतन्त्रात्मक शासनलाई बलियो बनाउने पारदर्शी नेतृत्व भए हुन्थ्यो । देशमा बसेर केही गर्न सकिँदैन भन्ने छाप परे पनि युवाले विकास गर्न सक्छन् । म पनि धेरै पढेर राजनीतिमा नै लाग्ने सोचमा छु । देशमा उपलब्ध स्रोतसाधनको उचित प्रयोग गर्न सके देश विकास हुन्छ ।

सुमित यादव, कक्षा ११
हरि खेतान बहुमुखी क्याम्पस, वीरगन्ज (पर्सा)
देशकोे भविष्यबारे सोच्ने नेताको खाँचो छ । कोही पनि बेरोजगार नहोस् भन्नका लागि सबै बालबालिकामा शिक्षा पु¥याउनुपर्नेछ । पढिसकेपछि वकिल बन्छु । न्यायाधीश बनेर पीडितलाई न्याय दिलाउने मेरो लक्ष्य छ । अहिले पनि गरिब–पीडितले न्याय पाएका छैनन् ।

अपेक्षा श्रेष्ठ, कक्षा ११
चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुल, (बागलुङ)
वडादेखि केन्द्रको नेतृत्व इमानदार, पारदर्शिता र सुशासन कायम गर्ने खालको हुन जरुरी छ । साथै हरेक क्षेत्रमा युवा र महिलाको प्रतिनिधित्व हुने वातावरण बनाउनुपर्छ । नेतृत्वले विद्यार्थीलाई देशमै काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछु । युवाले देशमै काम गर्ने अवसर पाएमा चाँडै विकास हुन्छ । राजनीतिक खिचातानीबाहेक म देशको भविष्यप्रति धेरै नै आशावादी छु ।

युजिना मगर, कक्षा १०
आवरहोम इंग्लिस बोर्डिङ स्कुल, धरान (सुनसरी)
भाषण होइन, काम गर्ने नेतृत्व चाहिएको छ । भोट माग्न आउँदा गरेका वाचा नदोहो¥याउने गरी पूरा गर्नुप¥यो । तीन तहका सरकार छन्, भत्किएको बाटो मर्मत गर्नुप¥यो, खानेपानी समयमा आउनुप¥यो । वडामा कर्मचारी भेटिऊन् । पढाइ सकेर जागिर खान चाहन्छु ।

कञ्चन राउत, कक्षा १२
धनुषा साइन्स क्यापस, जनकपुरधाम (धनुषा)
देशको नेतृत्वले सामाजिक, आर्थिक, स्वास्थ्य तथा शिक्षा विकासमा निःस्वार्थ भई नागरिकको हित, मुलुकको समृद्धि र समानतालाई आधार बनाई काम गर्नुपर्छ । शिक्षामा सुधार गर्ने हो, अरू क्षेत्रमा आफैँ सुधार हुन्छ । नेतृत्वले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । देशमा राम्रो स्वास्थ्य सुविधा छैन, डाक्टर बनेर बिरामीको उपचार गर्न चाहन्छु ।

अभियान पौडेल, कक्षा ११
लिटल फ्लावर स्कुल, भरतपुर (चितवन)
भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने नेतृत्व चाहिएको छ । उत्पादन क्षेत्रमा लगानी बढाएर देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने र बिदेसिएकालाई फर्काउने क्षमता नेतृत्वमा हुनुपर्छ । साथीलाई भविष्यमा के गर्ने सोध्दा प्रायःले बिदेसिने कुरा गर्छन् । सबै युवा बिदेसिए देशको भविष्य राम्रो हुँदैन । देशको भविष्य राम्रो हुन कुनै रिभोलुसन नै हुनुपर्ने देखिन्छ । काठमाडौंका मेयर बालेन शाहजस्तो भिजनरी नेता आयो भने केही होला ।

सुमन लिम्बू, कक्षा १२
तुलसीमेहर कलेज, (धनकुटा)
देशमा युवा नेतृत्व हुनुपर्दछ । शिक्षित र भिजनरी नेतृत्वले मात्र देश विकास सम्भव छ । वडा, पालिकाले समान रूपमा विकास गर्नुप¥यो, सेवासुविधा नपुगेका टोल, गाउँलाई प्राथमिकतामा राख्नुपर्छ । आफ्नो टोल मात्र हेर्नुहुँदैन । सीपमूलक शिक्षा लागू गर्न सके, तीनै तहका सरकारले रोजगारी सिर्जना गरे मात्र युवा पलायन रोक्न सकिन्छ ।
अञ्जलीकुमारी यादव, कक्षा ११
क्षितिज एजुकेसनल एकेडेमी, राजविराज (सप्तरी)
शिक्षा र स्वास्थ्यमा राजनीति छ । निःशुल्क शिक्षा र स्वास्थ्यको नारा मात्र छ, नेतृत्वले पूरा गर्न सकेको छैन । पढाइपछि सरकारी जागिर खान चाहन्छु । आशावादी हुनुपर्छ, निराश भएर पनि पाउने केही होइन । शिक्षा फैलिए देशको अवस्था राम्रो हुने आशा छ ।

भाष्कर भट्ट, कक्षा १२
वीरेन्द्र मावि बाहीलेक (बैतडी)
युवा, विज्ञ देशको नेतृत्वमा पुगेको हेर्न चाहन्छु । विद्यालयमा राम्ररी पढ्ने वातावरण बनाइदिनुप¥यो, पर्याप्त शैक्षिक सामग्री चाहिएको छ । देश विकास हुने हो भने कामका लागि विदेश जानु पर्ने छैन । त्यही भएर सरकारले शिक्षामा लगानी गर्दै रोजगारीको सृजना गर्नुपर्छ । हामी हाम्रो नेतृत्व यस्तो होस भन्ने चाहान्छौ जस्को काधमा जिम्मेवारी मनमा इमानदारी अनि बिचारमा समजदारी होस !

लक्ष्मी पोखरेल, कक्षा ११
जनता मावि सिद्धार्थनगर डन्डाबजार (नवलपुर)
नेतृत्वमा दीर्घकालीन र स्पष्ट लक्ष्य हुन आवश्यक छ। समयसापेक्ष परिवर्तन स्वीकार गर्न सक्ने र नवीन समाधान प्रस्तुत गर्न सक्ने नेतृत्वले मात्र देशलाई अगाडि लैजान सक्छ। देशको प्रगति र समृद्धिमा विश्वास गर्नुपर्छ, सकारात्मक सोचले मात्र दीर्घकालीन विकास सम्भव छ।