चर्चित लेखक मार्क म्यानसन आफ्नो ‘बेस्टसेलर’ पुस्तक ‘द सटल आर्ट..’मा लेख्छन्, ‘अधिक सकारात्मक अनुभवको चाहना आफैँमा एक नकारात्मक अनुभव हो ।’ हामी जति धेरै केही प्राप्त गर्ने चाहना राख्छौँ त्यति नै यसको अभाव बढी महसुस हुन्छ । मुख्य ध्यान दिनुपर्ने विषय ‘चाहना’ हो । मानिसलाई तिनका ‘चाहना’ बेचेर व्यवसाय फस्टाउँछन् र यसका लागि व्यवसायीले प्रायः अप्राप्य अपेक्षा र उच्च असुरक्षाको संसार सिर्जना गर्छन् ।
हामी सबै आजको डिजिटल युगमा ‘ब्युटी फिल्टर’को बढ्दो प्रयोगबारे जानकार छौँ । सामाजिक सञ्जालमा सम्पादन गरिएका तस्बिरहरूदेखि लिएर आफैँप्रति असुरक्षा र हीनता महसुस हुने गरी विज्ञापन बनाइएका हुन्छन् । यस्ता उत्पादन प्रयोग गर्दा यस्तो बनाइन्छ मानौँ ‘परफेक्सन (परिपूर्णता)’ अब एक कदम मात्र टाढा छ । तर, ब्युटी फिल्टर प्रयोग गरेर बनाइएका ‘पर्फेक्ट’ तस्बिरको बाढीले प्रयोगकर्तामा असुरक्षा बढाउँछ । यो एक चिन्ताजनक वास्तविकता हो, जसबाट विशेषतः हामी युवा प्रभावित छौँ । विज्ञापन सञ्चारमाध्यमका परिहार्य वास्तविकता हुन् । तिनले दशकौँदेखि हामी आफूलाई, वरपरका मानिस र संसारलाई, हेर्ने दृष्टिकोणलाई आकार दिँदै आएका छन् । हामी युवाले कस्तो विज्ञापन हेरेर हुक्र्याैँ ?
उदाहरणका लागि, एक गरिब परिवार आधारभूत खर्च पुर्याउन संघर्ष गरिरहेको छ । घरकी छोरी परिवारको एक मात्र आयस्रोत हुन् । उनीसँग सीप, शिक्षा र अन्य सबै योग्यता छन् । छैन त केवल राम्रो पारिश्रमिक दिने खालको काम दिलाउने ‘सौन्दर्य’ । त्यसपछि उनी ‘फेयरनेस’ क्रिम लगाउन थाल्छिन्, जसले उनको छाला गोरो बनाउन थाल्छ । त्यसपछि आश्चर्यजनक रूपमा उनी एयर होस्टेस बन्छिन् । तुरुन्तै उनको परिवारको आर्थिक समस्या अन्त्य हुन्छ । त्यस्ता विज्ञापनको अन्तर्निहित सन्देश समस्याग्रस्त छ । यसले ‘सौन्दर्य’ त्यो पनि विशेष गरी छालाको गोरोपन नै सफलताको मुख्य आधार हो भन्ने सन्देश प्रवाहित गरेको छ । यी विज्ञापनले हाम्रो समाजमा अन्तर्निहित सामाजिक विभेदलाई थप बढावा दिन्छन् ।
इन्टरनेटले मानवको क्षमतालाई सीमाहीन बनाइदिएको छ । सँगसँगै कुरूप पक्षलाई बढावा दिएको छ । अघिल्लो पुस्ताले चिया पसलमा गर्ने गफ अहिले सामाजिक सञ्जालमा हुन थालेको छ । यो रूपान्तरणले निःसन्देह हाम्रो सञ्चार गर्ने, सूचना हासिल गर्ने र अरूसँग सम्बन्ध निर्माण गर्ने तरिकामा परिवर्तन गरेको छ । इन्टरनेटको आगमनपछि हामीले न्याय र नीति निर्माणसम्बन्धी हाम्रा चासो एकैपटकमा ठुलो समूहमा पुर्याउन सक्ने भएका छौँ । यो कुरा अघिल्लो पुस्ताका लागि अकल्पनीय नै थियो ।
इन्टरनेट सीमान्तकृत समुदायको पक्षमा वकालत गर्न, अभियान सञ्चालन गर्न र सशक्तीकरणको माध्यमको रूपमा पनि पनि भई रहेको छ । सरकार र उच्च पदाधिकारीहरूबाट पारदर्शिता माग गर्ने सशक्त माध्यम बनेको छ इन्टरनेट । हाम्रै देशमा ‘मिटु’, ‘जस्टिस फर निर्मला’, ‘सेभ द हिमालय’जस्ता विभिन्न अभियान इन्टनरनेटबाटै फैलिए । यी अभियानले पीडितहरूका आवाज बाहिर ल्याउन सघाउने र मुख्यधारको मिडियासम्म पुर्याउने काम गरे ।
तर, सिक्काको अर्काे पाटो पनि छ । कुनै समय खुम्चिएर रहने घृणायुक्त चिन्तन, भेदभाव र गलत सूचनाले दुनियाँभर फैलिन अवसर पाएको छ । युट्युबमा पेन्गुइन जेरो च्यानल चलाउने चार्ली ह्वाइट जुनियरले पटक–पटक भनेका छन्, ‘इन्टरनेटको सहज र सीमाहीन पहुँचको कारण हिजोआज जतिसुकै उल्लु र जतिसुकै उग्र व्यक्ति र विचारधारालाई समर्थन गर्ने समूहको कमी हुँदैन । तार्किक बहस र घृणापूर्ण बयानबाजीबिचको रेखा धमिलिँदै जाँदा सम्मान र समावेशिताले होइन, घृणा र विभाजनले स्वीकार्यता पाएको छ ।’ ‘साइबर साइकोलोजी बिहेभियर एन्ड सोसल नेटवर्किङ (२०२४)’को एक अध्ययनअनुसार ४० प्रतिशतभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै न कुनै प्रकारको अनलाइन दुव्र्यवहार भोगेका छन् । विशेष गरी ट्विटर (एक्स), फेसबुक र टिकटकजस्ता प्लाटफर्ममा उत्पीडकहरू गलत सूचना फैलाउने, व्यक्तिगत मानमर्दन गर्ने र अनावश्यक उत्तेजना सिर्जना गर्ने काममा सहभागी हुन्छन् । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताको मानसिक स्वास्थ्यमै प्रत्यक्ष असर गर्छ ।
सामाजिक सञ्जालले जीवनशैलीको अस्वस्थकर र अवास्तविक मापदण्ड निर्माण गरेको छ । तिनमा राखिएका अरूका ‘पोलिस्ड’ जीवन देखेर प्रयोगकर्तालाई ईष्र्या र आत्म–घृणाको भावनाले गाँज्ने गरेको पाइएको छ । दागरहित शरीर, गोरो छाला वा विलासिताले ‘परिपूर्ण (पर्फेक्ट)’ तस्बिरको बाढीले मानिसलाई आफू अपूरो रहेको महसुस गराउँछ । विशेष गरी, हामी किशोर–किशोरी अवास्तविक मापदण्ड पूरा गर्ने दबाबमा पर्छाैँ । यसलाई ‘हाइलाइट रिल’ प्रभाव भनिन्छ, जहाँ ‘इन्फ्लुयन्सर’ले पोस्ट गरेका अत्यन्त माझिएका तस्बिरबाट प्रयोगकर्ता प्रभावित हुन्छ । ‘साइकोलोजी अफ पपुलर मिडिया कल्चर’ नामक अध्ययनका अनुसार इन्स्टाग्राम प्रयोग गर्ने अधिकांश युवामा आफूलाई अरूसँग तुलना गर्ने प्रवृत्ति उच्च भएको छ । अझ, आफ्नो पहिचानको खोजीमा रहने कलिला बालबच्चाहरूमा जीवनको यस अप्राप्य मापदण्डको प्रदर्शनले मानसिक समस्या बढाउन सक्छ ।
‘हाइलाइट रिल’ इफेक्टले मेरो पुस्ताका युवालाई नराम्ररी गाँजेको छ, विशेष गरी करिअर रोज्ने मामिलामा । हामी युवाहरू ‘हाइस्कुल’ पास गरेपछि अध्ययनको विधा चयन गर्ने विषयलाई लिएर चिन्तित हुन्छौँ । स्वघोषित ‘सेल्फ इम्प्रुभमेन्ट गुरु’का अनलाइन भिडियोहरूको बढ्दो प्रभावमा परेर आजका युवाका आकांक्षा झन–झन् अस्थिर हुन्छन् । उदाहरणका लागि, मेरो एकजना साथी अफिस नगई अनलाइनमार्फत काम गर्ने र देश–विदेश सयर गर्ने एकजना ‘इन्फ्लुयन्सर’को प्रभावमा परेर त्यस्तै ‘डिजिटल नोम्याड’ बन्ने विचारबाट तानिएको थियो । निरन्तर यात्राको कथाले मोहित भएको त्यस साथीले के महसुस गर्न सकेन भने त्यस्तो जीवनशैलीका लागि अनलाइन वा अफलाइन जहाँ भए पनि काम नै मुख्य प्राथमिकता हुनुपथ्र्याे । अर्काे महिना उसले फरक इन्फ्लुयन्सरलाई पछ्याउन थाल्यो । विभिन्न इन्फ्लुयन्सरको पछाडि लाग्दा उसलाई अहिले अन्योल र अनिश्चयले छोपेको छ । उसले आफ्नो लक्ष्य र रुचिमा ध्यान दिन नसक्दा जीवनमा वास्तवमा के गर्न चाहेको हो भन्ने स्पष्टता हासिल गर्न सकेको छैन । स्थायित्वको अभावले ऊ अहिले निरन्तर लक्ष्य परिवर्तनको चक्रमा फसेको छ ।
इन्टरनेटमा देखिएका अनगिन्ती समस्यामध्ये सबैभन्दा चिन्ताजनक विषय बालबालिकाको अनलाइन शोषण हो । आजको डिजिटल विश्वमा बालबालिकाले धेरै समय इन्टरनेटमा समय बिताइरहेका छन् । यसमा विवाद छैन । समाजले अहिले बालबालिकाको इन्टरनेट प्रयोगलाई सामाजिक सञ्जालका फोटो पोस्ट र भिडियो स्क्रोलको रूपमा मात्र बुझ्ने गरेको छ । तर, आमाबाबुको विश्वास विपरीत इन्टरनेटमा बालबालिकाले धेरै असहज गतिविधि गरिरहेका र परिणाम भोगिरहेका हुन सक्छन् । प्रायः बालबालिकाले अभिभावकको मार्गदर्शनविना इन्टरनेटमा समय बिताउने भएकाले उनीहरू यौनशोषण र फिरौतीको सिकार हुन सक्छन् ।
अपराधीहरूले पहिले अनलाइनमा बालबालिकाको साथी वा प्रेमी/प्रेमिकाको रूपमा प्रस्तुत भएर तिनको विश्वास जित्छन् । त्यसपछि व्यक्तिगत सूचना, फोटो वा भिडियोहरू दिन प्रेरित गर्छन् । एकपटक ती सामग्री प्राप्त भइसकेपछि, अपराधीहरूले ती सामग्रीलाई बालबालिकाहरूबाट जबर्जस्ती फिरौती माग्न प्रयोग गर्छन् । ‘सेक्सटोर्सन’ भनेर चिनिने यो अभ्यास अहिले डिजिटल संसारमा महामारीको रूपमा फैलिएको छ । यसले बालबालिकामा डर, चिन्ता, लज्जा र आफैँलाई हानि पुर्याउने विचारहरूसम्म जन्मिन्छ ।
इन्टरनेट मात्र होइन, हरेक नयाँ क्रान्तिले सामाजिक संरचनामा उथलपुथल ल्याउँछ । नयाँ पुस्ताबिच लोकप्रिय भारतीय ‘स्टयान्ड अप कमेडियन’ भिर दासको एउटा भनाइ छ, ‘सामाजिक बन्देजलाई भत्काउने हरेक नयाँ पुस्ताको विशेषाधिकार हो । हाम्रा अभिभावकलाई रंगभेदको संरचना भत्काउने अधिकार थियो, तिमीहरूका लागि जेन्डरको मुद्दा ठुलो छ, त्यसपछि आउने पुस्ताको आफ्नै चुनौती र अधिकार हुन्छ ।’ यस्ता क्रान्तिको प्रारम्भमा अवसर मात्र होइन, समस्या पनि आउँछन् । उदाहरणका लागि, कृषि क्रान्तिले सुरुमा साना किसानलाई विस्थापित ग¥यो, व्यापक वन फँडानी निम्त्यायो, कृषि श्रमिकमाथि अमानवीय व्यवहार बढायो । औद्योगिक युग सुरु भएपछि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फ ठुलो बसाइँसराइ निम्त्यायो । उद्योगमा काम गर्ने श्रमिक लामो समय अमानवीय अवस्थामा काम गर्न बाध्य पारिए । बालश्रम र अन्य धेरै समस्या भएको थियो । समयक्रममा संक्रमणको चरणबाट गुज्रिँदै गएपछि समस्याहरू क्रमशः सल्टिँदै गएका छन । नसुल्झिएका समस्यासँग मान्छेले सम्झौता गर्दै गएको छ ।
एउटा भनाइ छ, ‘इतिहासबाट पाठ नसिक्नेहरू इतिहास दोहोर्याउन विवश हुन्छन् ।’ प्रविधिको वृद्धिसँगै हामी ठुलो अवरोधबाट गुज्रनुपर्ने हुन्छ । इन्टरनेट अझै पनि विकासको प्रारम्भिक चरणमै छ । विगतका अन्य सामाजिक परिवर्तनजस्तै आगामी दिनमा पनि उतारचढाव रोकिनेछैन । तर, एक दिन यो पनि सामान्य हुन्छ । तर, त्यसवेलासम्म क्षति कति हुन्छ र त्यसलाई कति नियन्त्रण गर्न सकिन्छ भन्ने प्रश्नमा हामी सबै गम्भीर हुनुपर्छ ।
अभिभावक, विद्यालय/कलेज, टेक कम्पनी, गैरसरकारी संस्था, सञ्चारमाध्यम र सरकारले अहिले सोचेभन्दा ठुलो समस्याको सामना गर्नुपर्नेछ । अहिलेका नीति–निर्माताहरू एउटै पुस्ताका, एउटै आर्थिक र शिक्षित पृष्ठभूमिका छन् र उनीहरूले समस्याको समाधान पनि अफ्नै किसिमले गर्न खोज्छन् । नयाँ समयमा समस्याका आयाम पनि नयाँ हुन्छन् भन्ने बुझ्न पुरानो पुस्ताका मान्छेलाई कठिन हुन्छ । त्यसकारण नीति–निर्माण संयन्त्रलाई समावेशी बनाउन आवश्यक छ । उमेरको हिसाबले मात्र होइन, लैंगिक, जातीय, सांस्कृतिक, आर्थिक पृष्ठभूमिका मान्छे सम्मिलित संयन्त्रले मात्र समस्या समाधानको सही बाटो कोर्न सक्छ, यो काम जति छिटो भयो उति छिटो राम्रो यात्रा सहज हुन्छ ।