कीर्तिमानी कराँते खेलाडी एरिका गुरुङ २०औँ एसियाली खेलकुदको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। आइतबार नागोयामा भएको ६८ केजीमाथिको फाइटमा एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गरेकी हुन्।
सिधै क्वाटरफाइनल खेलमा अनुभवी एरिकाले उदीयमान जोर्डनी यारासँग प्रतिस्पर्धा गरेकी थिइन्। यसअघि पनि यी खेलाडीबिच प्रतिस्पर्धा भएको थियो। जुनमा इन्डोनेसियाको बालीमा सम्पन्न २२औँ एसियन सिनियर कराँते च्याम्पियनसिपमा याराले रजत र एरिकाले कांस्य जितेका थिए। २० वर्षीया याराले जितेको यही ठुलो पदक थियो।
२२ वर्षीय एरिकासँग नेपालले पदकको ठुलो आशा गरिएको छ। एरिकाले १९औँ एसियाड, प्रिमियर लिग र एसियन च्याम्पियनसिपको रजतलायत अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक जितेकी थिइन्।