- अफ्रिकी राष्ट्रले अहिले अन्तर्राष्ट्रिय मामिलामा आफ्नो प्रभाव स्विकारियोस् भन्ने चाहेका छन् । त्यसै सन्दर्भमा यो नक्सा प्रोजेक्सनको बहस आएको हो । उसो त एउटा म्याप प्रोजेक्सनले मात्र मानिसको दृष्टिकोण पूरै बदल्न नसक्ला, तथापि यसले विश्वभरका मानिसमा रहेको ‘मानसिक नक्सा’ सुधार्न सके पनि सान्दर्भिक हुनेछ ।
संयुक्त राष्ट्र संघको महासभाले यसै महिनाको सुरु(सेप्टेम्बर ४)मा नयाँ नक्साको पक्षमा मतदान गर्यो । ‘इक्वेल अर्थ’ प्रोजेक्सन भनिने यस नक्साले विशेषगरी अफ्रिकासहित सबै महादेशको आकारलाई सही अनुपातमा प्रस्तुत गर्छ । योसँगै विगतमा विश्वभरका विद्यालयका भित्ता र सरकारी वेबसाइटहरूमा राखिने गरेको ‘मर्केटर’ प्रोजेक्सनलाई नयाँ नक्साले प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ ।
अफ्रिकी मुलुक टोगोद्वारा अघि सारिएको ‘इक्वेल अर्थ’ स्विकार्नुपर्ने प्रस्तावको पक्षमा संयुक्त राष्ट्र संघका १६४ देशहरूले मतदान गरे । ६ देश अनुपस्थित रहेको मतदानमा विपक्षमा मत दिने एक मात्र राष्ट्र अमेरिका थियो ।
१६औँ शताब्दीमा विश्वको खोजमा निस्किएका युरोपेली अन्वेषकहरूले प्रयोगमा ल्याएका मर्केटर प्रोजेक्सन नक्साले पृथ्वीको उत्तरी ध्रुवनजिकका देशलाई ठुलो आकारमा देखाउँछ । ‘मर्केटर’ प्रोजेक्सनले औपनिवेशिककालीन युरोप र उत्तर अमेरिकालाई केन्द्रमा राखेर शक्ति उनीहरूसँग रहेको देखाउने गरेको भन्दै पहिलेदेखि नै विरोध हुने गर्थ्यो ।
यस प्रोजेक्सनमा भूमध्यरेखा क्षेत्रवरपर रहेका अफ्रिका, दक्षिण अमेरिका र एसियाको तल्लो भाग माथिल्लो भागको तुलनामा निकै सानो देखिन्छ । उदारणका लागि उत्तरी ध्रुवनजिक रहेको ग्रिनल्यान्ड टापु मर्केटर प्रोजेक्सन नक्सामा पूरै अफ्रिका महादेशजत्रै देखिन्छ, जबकि वास्तविकतामा भने यो अफ्रिकाभन्दा करिब १४ गुणा सानो छ ।
मर्केटर प्रोजेक्सनले पछिल्लो समय समुद्री नेभिगेसन (आवागमन)का दिशाहरू सही राख्न ध्रुवीय क्षेत्रनजिकका भूभागहरूलाई फैलाएर देखाउने भएकाले त्यसमा ग्रिनल्यान्ड त्यति धेरै विशाल देखिएको बताइन्छ । अहिले स्विकारिएको ‘इक्वेल अर्थ’ प्रोजेक्सनले भने देशहरूका क्षेत्रफल सटिक देखाउने प्रयास गरेकोले ध्रुवीय क्षेत्रमा हुने यस्तो आकार वृद्धिको समस्यालाई सच्याएको छ । यो नक्सामा विगतमा निकै ठुलो देखिने क्यानडा, ग्रिनल्यान्ड र रुस पनि सानो देखिन्छ ।
के हो नक्सा प्रक्षेपण ?
नक्सा प्रक्षेपण (म्याप प्रोजेक्सन) नक्साविद्हरूले गोलो र त्रिआयामिक (थ्री–डायमेन्सनल) पृथ्वीलाई समतल तथा द्विआयामिक (टु–डाइमेन्सनल) नक्सामा रूपान्तरण गर्न प्रयोग गर्ने प्रविधि हो । नक्साविद्हरूले ‘ग्लोब’(पृथ्वीको गोलाकार रूप)लाई समतल बनाउँदा नक्सामा विकृति आउँछ, अर्थात् त्यसको आकार तथा क्षेत्रफल परिवर्तन हुन्छन् ।
पृथ्वीको स्वरूपलाई पूर्ण रूपमा सही वा विकृतिरहित ढंगले देखाउने ‘म्याप प्रोजेक्सन’ अहिलेसम्म उपलब्ध छैन । तथापि, केही म्याप प्रोजेक्सन अन्यको तुलनामा बढी सटिक हुन्छ । नक्साविद्को कामहरूमा यही सयौँ उपलब्ध म्याप प्रोजेक्सनहरूमध्ये उपयुक्त विकल्प छनोट गर्नु पनि पर्छ । म्याप प्रोजेक्सन छनोट गर्दा प्रयोगको उद्देश्यका आधारमा त्यसले कुन ठाउँमा बढी केन्द्रित गर्नुपर्छ भन्ने आधारलाई महत्व दिइन्छ । एउटै म्याप प्रोजेक्सन सबै कामका लागि उत्कृष्ट हुँदैन । अहिले चर्चामा रहेको ‘इक्वेल अर्थ प्रोजेक्सन’ मुख्यतः शैक्षिक, सार्वजनिक सञ्चार र नीतिगत उद्देश्यका लागि छनोट गरिएको हो, जुन विगतमा व्यापक प्रयोगमा रहेको ‘मर्केटर’ प्रक्षेपणको तुलनामा बढी उपयुक्त छ ।
‘इक्वेल अर्थ’ प्रोजेक्सन विभिन्न देश र महादेशहरूको सापेक्ष आकारबारे अझ सही भौगोलिक बुझाइ प्रदान गर्छ । यसले जनसंख्या, वातावरण, विकास, राजनीति र अन्य विश्वव्यापी पक्षहरूका आधारमा विभिन्न क्षेत्रहरूको तुलना गर्ने सन्दर्भमा निष्पक्ष दृष्टिकोण प्रदान गर्छ ।
के ‘मर्केटर’ प्रक्षेपण अझै पनि उपयोगी छ ?
देशहरूलाई वास्तविक आकार देखाउन मर्केटर प्रक्षेपण उपयुक्त नभए पनि, यो पूर्ण रूपमा प्रयोगबाट हट्नेछैन । उदाहरणका लागि, ‘नेभिगेसन’ (बाटो पत्ता लगाउने कार्य)का लागि यो निकै उपयोगी छ किनभने यसले दुई विन्दुहरूबिचको दिशा (‘कम्पास बेयरिङ’)लाई पुनः गणना नगरिकनै सही रूपमा कायम राख्छ ।
यसैकारण, ‘गुगल म्याप्स’ वा ‘एप्पल म्याप्स’जस्ता अधिकांश अनलाइन म्यापिङ प्लाटफर्महरूले बाटो वा दिशा देखाउन मर्केटर प्रोजेक्सनकै परिमार्जित रूपको प्रयोग गर्छन् । अहिलेसम्म नेभिगेसनका लागि ‘इक्वेल अर्थ’ प्रोजेक्सन मर्केटरजत्तिकै प्रभावकारी देखिएको छैन ।
‘इक्वेल अर्थ’ प्रोजेक्सनको प्रयोग कसरी गरिनेछ ?
नक्सा निर्माण कार्य विकेन्द्रीकृत छ, अर्थात् कुन नक्सा प्रोजेक्सन प्रयोग गर्ने भन्ने कुरालाई नियमन गर्ने कुनै एकल निकाय छैन । संयुक्त राष्ट्र संघले ‘इक्वेल अर्थ’ प्रोजेक्सन पृथ्वीको भूभागको वास्तविक आकारलाई बढी न्यायोचित ढंगले प्रस्तुत गर्ने विधि भएकाले यसलाई स्विकारिएको भनेको छ । नक्साविद्हरूमाझ एक समूहले ‘इक्वेल अर्थ’ प्रोजेक्सनलाई विश्वको मानक म्याप प्रोजेक्सन बनाउन अभियान चलाइरहेका थिए । त्यसैको प्रतिफल पछिल्लो समय संयुक्त राष्ट्रसंघमा त्यसको पक्षमा मतदान भएको हो । तथापि, यस प्रस्तावले मात्र ‘इक्वेल अर्थ’लाई स्वतः विश्वव्यापी रूपमा अपनाइने म्याप प्रोजेक्सन बनाउँदैन । यसका लागि पाठ्यपुस्तक, तथ्यांकहरू, सञ्चारसामग्रीदेखि कूटनीतिक छलफलहरूमा प्रयोग नयाँ नक्साहरू अवलम्बन गरिनुपर्छ ।
‘इक्वेल अर्थ’ प्रक्षेपण अभियन्ता नक्साविद्हरूले सन् २०१८ मा सार्वजनिक गरेदेखि नै नक्सा निर्माताहरूबिच लोकप्रिय छ । अहिले ‘इक्वेल अर्थ’ प्रक्षेपणमा आधारित भित्ते नक्सा धेरैतिर किन्न सकिन्छ । कैयौँ सञ्चारमाध्यमहरूले यसको प्रयोग अवलम्बन गरिसकेका छन् । यद्यपि, बाँकी निकायले अन्य प्रकारका म्याप प्रोजेक्सनको सट्टा ‘इक्वेल अर्थ’ प्रक्षेपण प्रयोग गर्ने निर्णय स्वयंले नै गर्नुपर्ने हुन्छ ।
विरोध गर्नेको तर्क के छ ?
‘इक्वेल अर्थ प्रोजेक्सन’को विरोध निकै सीमित देखिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा भएको मतदानमा एक देशले विपक्षमा मतदान गर्दा ६ देश मात्र तटस्थ बसेका थिए । तटस्थ बस्ने देशहरूका कारण आ–आफ्नै थिए । उदाहरणका लागि, युक्रेनले ‘इक्वेल अर्थ प्रोजेक्सन’को आधिकारिक वेबसाइटमा क्रिमियाली प्रायद्वीपलाई विवादित भूभागका रूपमा देखाइएको भनेर मतदान बहिष्कार गरेको थियो ।
तथापि, नक्साका पक्षधरहरूले भने संयुक्त राष्ट्रसंघको पछिल्लो प्रस्ताव विश्वलाई कसरी चित्रण गर्नेमा मात्र केन्द्रित रहेको निश्चित राजनीतिक सिमानाबारे कुनै पक्षधरता नभएको बताएका थिए ।
नयाँ नक्साको महत्व
अफ्रिकी राष्ट्रहरूले ‘इक्वेल अर्थ प्रोजेक्सन’ एकप्रकारको ‘संज्ञानात्मक न्याय’(कग्निटिभ जस्टिस) भएको बताएका छन् । संज्ञानात्मक न्यायका अनुसार मानिसहरू प्रायः नक्सामा देखिने आकारका आधारमा विश्वका स्थानको शक्ति र महत्वको अनुमान लगाउँछन् । युरोप वा उत्तर अमेरिकाको तुलनामा अफ्रिकालाई सानो महादेशका रूपमा हेर्ने परम्परागत दृष्टिकोणले प्रायः अफ्रिकाको महत्वलाई न्यून आँक्ने गरेको तिनको तर्क छ ।
‘इक्वेल अर्थ’ प्रोजेक्सनले अफ्रिका र विश्वमा यसको महत्वबारे फरक दृष्टिकोण सिकाउन, प्रसारण गर्न र छलफल गर्न सजिलो बनाउन सक्छ । आज, अफ्रिकी देशहरू विश्वमा सबैभन्दा तीव्रगतिमा वृद्धि भइरहेका अर्थतन्त्र र जनसंख्या भएका मुलुकहरूमध्ये पर्दछन् । यसै आधारमा अफ्रिकी राष्ट्रहरू अहिले अन्तर्राष्ट्रिय मामिलामा आफ्नो प्रभाव स्विकारोस् भन्ने चाहेका छन् । त्यसै सन्दर्भमा यो नक्सा प्रोजेक्सनको बहस आएको हो । उसो त एउटा म्याप प्रोजेक्सनले मात्र मानिसको दृष्टिकोण पूरै बदल्न नसक्ला, तथापि यसले विश्वभरका मानिसमा रहेको ‘मानसिक नक्सा’ सुधार्न सके पनि सान्दर्भिक हुनेछ ।
(एल्डरम्यान युनिभर्सिटी अफ टेनिसीका भूगोलका प्राध्यापक हुन् भने स्वाब सोही विश्वविद्यालयका भूगोल तथा दिगोपन विभागका सहप्राध्यापक हुन् । द कन्भर्सेसनबाट श्रवण उप्रेतीको अनुवाद)