महँगीले ‘अग्रगामी छलाङ’ लगाएको भन्दै रास्वपाकै सांसदहरूको विरोध

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण
  • भोटेकोशी बाढीपछि विपत्तिको मौका छोपेर व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको सांसदहरूको आरोप

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अन्डा, ग्यासलगायतको बढ्दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन् । मंगलबार र बुधबारको संसद् बैठकमा सांसदहरूले भोटेकोशी बाढीपछिको विपत्तिको मौका छोपेर व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको बताएका हुन् । सत्तारुढ रास्वपाकै सांसदहरूले महँगी नियन्त्रण गर्न सरकार असफल बनेको आरोप लगाएका छन् ।

बुधबारको बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले त्रासदीपूर्ण बाढीपहिरोको आडमा आमजनतामाथि निर्लज्ज, अस्वाभाविक र निरंकुश मूल्यवृद्धि भइरहेकाले सरकार मौन बस्नु उपयुक्त नभएको बताए । ‘संकटलाई नाफा कमाउने स्वर्णिम अवसरका रूपमा लिने र कालोबजारियाहरूले मौज्दातमा रहेको खाद्यान्नमा समेत आकाश छुने मूल्य बढाएका छन्,’ उनले भने ।

चामल प्रतिबोरा २७ सय, सूर्यमुखी तेल प्रतिलिटर तीन सय, तोरीको तेल ४६०, चिनी १४० र मासु १७ सय प्रतिकिलो, अन्डा प्रतिगोटा २५ पुगेको तथ्यांक उनले पेस गरेका थिए । ‘फलफूल त सर्वसाधारणले किनेर खान सक्ने स्थिति छैन,’ उनले भने, ‘यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो । कानुनी अधिकारको दुहाइ दिँदै अनुगमनकारी निकायहरू मूकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन हो ।’ 

विपत्का वेला नागरिकको चुलो बन्ने सुनिश्चित गर्नु राज्यको दायित्व भएकोतर्फ उनले ध्यानाकर्षण गराए । सरकारी निकायहरूको मौनताले जनताको आहतमा नुनचुक चर्कने काम मात्र गरिरहेको भन्दै जनाताका दिनदिनकै समस्या समाधान गर्न सरकार मौन बस्नु कुनै पनि हालतमा ठिक नभएको उनको भनाइ थियो । ‘सरकारले अविलम्ब बजारमा उच्चस्तरको अनुगमन गरी कलोबजारियालाई कडाभन्दा कडा कारबाही गर्दैन र आपूर्ति सहज बनाउँदैन भने पीडित जनता बाध्य भएर सडकमा आउनुपर्ने अवस्था बन्न सक्छ,’ उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले देश विपत्तिले छटपटाइरहका वेला बजारमा महँगी बढेको र सरकारले नियन्त्रण गर्न नसकेको बताए । ‘एकातिर देश विपत्ले छटपटाइरहेका वेला अर्कातिर बजार उद्दण्ड भयो, मेरै सरकारका पालामा महँगीले अग्रगामी छलाङ लगायो,’ उनले भने, ‘प्याज, चिनी, चामल, तेललगायत हरेक चिजको भाउ बढ्यो । चिल्ला गाडी चढ्नेलाई फरक परेन, तर हामी सर्वसाधारण उपभोक्ताको ढाड सेक्यो ।’ उनले भर्खरै नियुक्त भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहलाई नयाँ जोगीले धेरै खरानी घस्ने प्रवृत्ति त्यागेर कालोबजारी नियन्त्रण गर्न नयाँ किसिमको भूमिका निर्वाह गर्न सुझाव दिए ।

मंगलबारको बैठकमा कांग्रेस सांसद सुशीला ढकालले महँगी बढेर नागरिकको भान्सा प्रभावित भएकाले नियन्त्रण गर्न सरकारले सबै संयन्त्र प्रयोग गर्नुपर्ने बताएकी थिइन् । सांसद ढकालले मूल्य नियन्त्रणको स्पष्ट खाकासमेत सार्वजनिक गर्न सरकारसँग आग्रह गरिन् । 

रास्वपा सचेतक प्रकाश परियारले भोटेकोशी बाढीका कारण मुलुक नै विपत्मा रहेका वेला सीमित व्यवसायीले कृत्रिम रूपमा मूल्य बढाएका कारण सरकारले नियन्त्रण गर्नुपर्ने बताए । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिअन्तर्गत उपभोक्ता हित उपसमितिको संयोजकसमेत रहेका भण्डारीले बजारमा अनियन्त्रित रूपमा बजार भाउ बढेकाले स्थानीय तहसहित सरकारका संयन्त्रमार्फत प्रभावकारी अनुगमन हुनुपर्ने बताए । रास्वपा सांसद प्रभा कार्कीले धेरै कम्पनी हुँदा ग्यास सिलिन्डर सटहीमा उपभोक्तालाई सास्ती भएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

See More On

सुझावित समाचार