बाढी प्रभावितलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत दिइने

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका उपभोक्तालाई विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। ऊर्जा मन्त्रालयले बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपतका वेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताए। ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट भुक्तानी भएको शुल्कबाट समेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक निर्णय अघि बढाइएको उनले जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बाढीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ। साथै, क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगलगायतका ग्राहकको विद्युत् मिटरको लगत कट्टासमेत गरिने भएको छ।

बैठकले मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट उपलब्ध गराउने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ। बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन हुने क्रममा रहेकाले त्यहाँका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेस गर्न भनिएको हो।

सुझावित समाचार