सबैजसो दैनिक उपभोग्य वस्तुको एकसाथ मूल्य बढ्नुको कारण के हो ?
भोटेकोशी नदीमा आएको बाढीका कारण आपूर्ति शृंखला प्रभावित भएको सत्य हो । यही बाढी र राजमार्गमा भएको अवरोधलाई देखाएर ठुला उद्योगी तथा थोक व्यापारीले ढुवानी लागत बढेको तथा कतिपय वस्तुको आयातमा समेत कमी आएको दाबी पनि गरिरहेका छन् । तर, काठमाडौंलाई तीन महिनाका लागि पुग्ने खाद्यान्न जहिल्यै मौज्दात हुने भएकाले खाद्यान्नमा अहिले भएको मूल्यवृद्धि ठुला व्यवसायीको मनोमानीका कारण भएको मेरो बुझाइ छ । हामी खुद्रा किराना पसलले त थोक व्यापारीबाट ल्याएको खाद्यान्नमा दुई–चार पैसा नाफा जोडेर मात्र बिक्री गर्ने भएकाले मूल्यवृद्धिमा साना खुद्रा व्यापारीको ठुलो हात हुँदैन ।
२० दिनअघि आएको बाढीले आपूर्ति प्रणाली प्रभावित भई मूल्य बढेको भनेर पत्याउन सकिएला त ?
काठमाडौंमा जहिले पनि खाद्यान्नको राम्रो मौज्दात हुन्छ । यस्तोमा २० दिनअघि आएको बाढीलाई देखाएर पन्छिन मिल्दैन । त्यसैले, अहिले गोदाममा सञ्चित खाद्यवस्तुको भाउ ठुला थोक व्यापारीले बढाएर उपभोक्तालाई दुःख दिएका हुन् भन्ने लाग्छ । यो मूल्यवृद्धिका पछाडि यसबाहेक अन्य कुनै विशिष्ट कारण देखिन्न । अहिलेको महँगी ठुला व्यवसायीले आफ्नो व्यावसायिक दायित्व भुलेपछि जनताको थाप्लामा बोकाइएको भार हो ।
अनियन्त्रित मूल्यवृद्धिको नियन्त्रण कसरी हुन सक्ला ?
यसका लागि सरकारका सम्पूर्ण अनुगमनकारी र नियमनकारी निकायले प्रभावकारी रूपमा बजार निरीक्षण र नियमन गर्नुपर्छ । कृत्रिम रूपमा मूल्यवृद्धि भएको देखिएमा तत्काल कडा कारबाहीसमेत गर्न सक्नुपर्छ । बजारमा कर्मकाण्डी अनुगमन र नियमनले मूल्य नियन्त्रण गर्न सक्दैन । यसका लागि राज्यले निर्मम भई अनुगमन, नियमन र कारबाही प्रक्रियालाई एकसाथ तीव्रता दिनुपर्छ ।