एमनेस्टी इन्टरनेसनलले हालै ‘कक्रोच जनता पार्टी’ (सिजेपी) को नेतृत्वमा भएका विरोध प्रदर्शनप्रति प्रहरीले देखाएको प्रतिक्रियाबारे एउटा डिजिटल अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । यो प्रतिवेदन सिजेपीको नेतृत्वमा दिल्लीमा भएको ‘संसद् चलो’ मार्च र देशभर फैलिएको तथा अन्ततः केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको कारण बनेको व्यापक ‘जेन–जी’ आन्दोलनको एक महिना भन्दाबढी अवधिपछि आएको हो । अनुसन्धान प्रतिवेदनमा एमनेस्टी इन्टरनेसनलले भारतीय प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध गैरकानुनी र घातक बल प्रयोग गरेको उल्लेख गरेको छ ।
एमनेस्टी इन्टरनेसनलको ‘एभिडेन्स ल्याब’ले भिडियो तथा तस्बिरसम्बन्धी प्रमाणको पुष्टि गर्दै प्रहरीले दिल्ली र बिहारको सिवानमा प्रदर्शनकारीविरुद्ध पेलेट गन, अश्रुग्यास, ग्रेनेड, लाठी र इलेक्ट्रिक सक दिने उपकरणजस्ता हतियार प्रयोग गरेको पुष्टि गरेको छ । एमनेस्टीका अनुसार यी हतियारको प्रयोग अन्तर्राष्ट्रिय कानुन र प्रहरीसम्बन्धी निर्देशिकाको उल्लंघन हुने गरी गरिएको थियो । एमनेस्टी इन्टरनेसनल इन्डियाका बोर्ड अध्यक्ष आकार पटेलले भारतीय अधिकारीमाथि शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध अनावश्यक वा अत्यधिक बल प्रयोग गरी आन्दोलन दबाउने प्रयास गरेको आरोप लगाएका छन् ।
‘विरोध प्रदर्शनको अधिकारलाई सहजीकरण गर्नुको सट्टा भारतीय अधिकारीले सञ्चार सेवा बन्द गरेर, अवरोध खडा गरेर र यातायात सेवा अवरुद्ध पारेर सुरुमै यसलाई दबाउने काम गरे । त्यसपछि उनीहरूले बालबालिकासहितका शान्तिपूर्ण प्रदर्शनकारीमाथि अनावश्यक वा अत्यधिक बल प्रयोग गरी आन्दोलनलाई दमन गर्ने प्रयास गरे । यो कठोर कदम वास्तवमा ‘भिड नियन्त्रण’को आवरणमा गरिएको राज्य–प्रायोजित हिंसा थियो । एक महिना बितिसक्दा पनि दोषीमाथि कारबाही नहुनु (दण्डहीनता कायम रहनु) यसैको प्रमाण हो,’ उनले भने ।
छर्राको व्यापक प्रयोग
‘एभिडेन्स ल्याब’ले २० जुलाईमा मध्यदिल्लीको जन्तरमन्तर, संसद् मार्ग र कनट प्लेस क्षेत्रमा खिचिएका १७ वटा भिडियो तथा २४ जुलाईमा बिहारको सिवानमा खिचिएका दुइटा भिडियोको अध्ययन गर्यो । दिल्लीका भिडियोमा दिल्ली प्रहरी, र्यापिड एक्सन फोर्स (आरएएफ) र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) का सुरक्षाकर्मी देखिएका थिए । एम्नेस्टीले भिडमा सटगन चलाइरहेका एक र्यापिड एक्सन फोर्स अधिकारीको दृश्य पुष्टि गर्यो । संस्थाद्वारा पुष्टि गरिएका अन्य दुई भिडियोमा प्रदर्शनकारीलाई साना धातुका छर्रा (पेलेट)ले लाग्दा हुने प्रकृतिका चोटपटक देखिएका छन् ।