बिलविनाको सुन किन्ने व्यवसायी र लुटपाट गर्ने महिला पक्राउ

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

लुटपाट भएको सुन खरिद गरेको अभियोगमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लोहार पक्राउ परेका छन्। बिलविनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले आइतबार साँझ लोहारलाई उनकै पसलबाट पक्राउ गरेको हो।

मन्थली बजारमा न्यु सनराइज ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनले विगतमा पनि बिलविनाको सुनका गरगहना खरिद गर्ने गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।

सुन लुटपाट गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका– २, ठोसेकी मैया कार्की रहेकी छिन्। उनले मन्थली नगरपालिका– ६ की बिबा माझीले लगाएको कानको दुईवटा रिङ लुटपाट गरेकी बताइएको छ। घटना विवरणअनुसार बजारमा सामान खरिद गरेर माइती घर मन्थली नगरपालिका– १, हाटेचौरीतर्फ फर्कँदै गरेकी माझीलाई पिछा गर्दै कार्की जिल्ला प्रहरी कार्यालय छेउसम्म पुगेकी थिइन्।

शारीरिक रूपमा अशक्त रहेकी माझीलाई कार्कीले होटेलमा बसेर खाजा खाऔँ भन्दै फकाएर एक होटेलभित्र लगी लोकल मदिरामा अखाद्य वस्तु मिसाएर खान दिई बेहोस बनाएर लुटपाट गरेकी थिइन्। सुन लुटपाटपछि कार्कीले उक्त सुन मन्थली बजारमा रहेको न्यु सनराइज ज्वेलर्समा बिक्री गरेकी थिइन्।

घटनाको विषयमा पीडितले प्रहरीमा उजुरी गरेपछि लुटपाटमा संलग्नको खोजीमा निस्किएको प्रहरी टोलीले कार्कीलाई ठोसेबाट पक्राउ गरेको हो। उनीसँगै सुन खरिद गर्ने व्यवसायीलाई समेत पक्राउ गरी कानुनअनुसार अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए।

सुझावित समाचार