जर्मनीमा दक्षिणपन्थी पार्टीको उदयमा एलन मस्कको भूमिका

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

गत साता  जर्मनीको एक राज्यमा भएको चुनावमा ‘अल्टरनेटिभ फर ड्युचल्यान्ड(एएफडी)’ पार्टीले प्रभावशाली जित हासिल गरेर युरोपेली राजनीतिमा हलचल मच्चायो । यस जितले पार्टीलाई दोस्रो विश्वयुद्धपछि जर्मनीको पहिलो राज्यस्तरीय उग्रदक्षिणपन्थी सरकार गठन गर्न आवश्यक सिट संख्याको नजिक पुर्यायो । र, यस मतपरिणामबाट अधिक उत्साहित हुनेमा एक थिए, टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक अमेरिकी अर्बपति एलन मस्क ।

मस्कले उनको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्ल्याटफर्म ‘एक्स’मा जर्मन भाषामा ‘स्याबास’ लेखेर पार्टीकी नेतृ एलिस वाइडललाई बधाई दिए । बधाईसम्बन्धी पोस्ट चुनावी नतिजापछि मस्कले एएफडीका बारेमा गरेका कम्तीमा एक दर्जन पोस्टहरूमध्ये यो एउटा थियो । एएफडीले पनि मस्कलाई जवाफ दियो । भर्खरै पहिलो पार्टी बन्न सफल स्याक्सोनी–एनहाल्ट राज्यका पार्टीका नेता उलरिच सिगमन्डले मस्कलाई पार्टीप्रतिको समर्थनका लागि धन्यवाद दिए । आफ्ना स्टाइलमा चार पूर्वनवनाजीवादी सदस्य राखेका सिगमन्डले मस्कको प्रशंसामा उनलाई ‘दूरदर्शी’ भनेर सम्बोधन पनि गरे । 

पछिल्लो समय मस्क विश्वभर उग्रदक्षिणपन्थी वृत्तका प्रमुख समर्थक बनेर देखिन थालेका छन् । उनले आप्रवासीविरोधी अभियन्तादेखि अनुदारवादी नेतासम्म र ‘नेटिभिस्ट’ (देशको बहुसंख्यक गोराहरूको मात्र हित चाहने) पार्टीहरूको प्रचार गर्न आफ्नो प्रभावको प्रयोग गर्ने गरेका छन् । यसै सन्दर्भमा मस्कले पछिल्लो समय एएफडीमा उलेख्य ध्यान केन्द्रित गरेको देखिन्छ । स्याक्सोनी–एनहाल्ट राज्य चुनावमा पार्टीको महत्वपूर्ण जितपछि मस्कले व्यक्त गरेको खुसीमा उनी र उनको पार्टीबिचको सम्बन्धबारे चर्चासमेत सुरु भएको छ ।

उसो त एएफडी र जर्मनीका अरू पनि उग्रदक्षिणपन्थी समूहसँग मस्कको सम्बन्ध स्याक्सोनी–एनहाल्टको चुनावभन्दा अघिदेखि कै हो । यो सम्बन्ध मस्कको राजनीतिक झुकाव दक्षिणपन्थी धारतर्फ मोडिने क्रमसँगै सुरु भएको देखिन्छ । आप्रवासन, राजनीति र नश्लका विषयमा मस्कले ‘एक्स’मा निरन्तर व्यक्त गर्ने विचारहरू समयक्रमसँगै एएफडीका धेरै नीतिसँग मिल्छन् । मस्क र एएफडी पार्टीले अतिदक्षिणपन्थी विचार विस्तारमा सहसम्बन्ध विकास गरेजस्तो देखिन्छ । 

प्रेरकशक्ति बन्दै मस्क

सन् २०२४ देखि राजनीतिमा बढी सक्रिय हुन थालेको सुरुमा नै मस्कले डोनाल्ड ट्रम्पको प्रचारमा १० करोड डलरभन्दा बढी रकम खर्चिएका थिए । त्यसपछि मस्कले एकपछि अर्को प्रभावशाली आप्रवासनविरोधी धारणा राख्ने र लोकतान्त्रिक संस्थाहरूप्रति घृणाभाव जनाउने युरोपेली तथा दक्षिण अमेरिकी क्षेत्रका उग्रदक्षिणपन्थी नेताहरूसँग गठबन्धन बनाए । मस्क अर्जेन्टिना अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईको समर्थनमा कुनै समय उनीसँगै मञ्चमा देखिएका थिए ।

त्यस्तै, उनले इटालीकी अतिरूढीवादी प्रधानमन्त्री जर्जिया मेलोनीलाई पुरस्कारले सम्मानित गरेका थिए । त्यसैवेला उनले आप्रवासीहरूलाई अधिकार दिने फैसला गर्ने इटालियन न्यायाधीशहरूको आलोचना गरे । उता बेलायतका इस्लामविरोधी अभियन्ता टमी रोबिन्सनको र्यालीमा भिडियोमार्फत सम्बोधन गर्दै आप्रवासनले ‘बेलायतलाई नष्ट’ गरिरहेको दाबी गरे । सन् २०२४ को अन्त्यतिर, मस्कले जर्मन पत्रिका ‘डी वेल्ट’मा एक आलेख लेख्दै ‘एएफडी’प्रति आफ्नो समर्थन जाहेर गरे ।

मस्कको लेखमा दाबी गरिएअनुसार जर्मनी ‘आर्थिक र सांस्कृतिक पतन’को सँघारमा पुगेको छ र यसको समाधान केवल ’एएफडी’ले मात्र गर्न सक्छ । मस्कले पार्टीलाई जर्मनीका लागि ‘आशाको अन्तिम किरण’ बताए । साथै, उनले पार्टी अतिवादी नभएको तर्क गर्दै उदाहरणका लागि पार्टीकी नेतृ वाइडलकी ‘पार्टनर’ श्रीलंकाली मूलको समलिंगी भएको कुरामा जोड दिए । ‘के यसमा तपाईँलाई हिटलरको गन्ध आउँछ ?’ मस्कले लेखेका थिए । 

सन् २०२५ को सुरुमा ट्रम्पको दोस्रो प्रशासनमा प्रमुख भूमिका सम्हाल्दै गर्दा, मस्कले ‘एएफडी’लाई अझ बलियो बनाउन आफ्नो प्लाटफर्म र ट्रम्पसँगको सम्बन्धबाट प्राप्त नयाँ राजनीतिक शक्तिको उपभोग गरे । सोही वर्षको जनवरीको सुरुमा, मस्कले वाइडलका लागि एउटा ‘लाइभ–स्ट्रिम’ कार्यक्रम आयोजना गरे । अनुसन्धानकर्ताहरूले त्यस भिडियो कार्यक्रमले वाइडलको लोकप्रियतामा ठुलो टेवा पुर्याएको पाएका छन् । त्यस पछि जर्मनभाषी सञ्चारमाध्यमहरूमा उनको चर्चा वा कभरेजमा पनि उल्लेख्य वृद्धि भएको थियो ।

‘वास्तवमा मस्कले त्यतिवेला जर्मनीको परम्परागत सञ्चारमाध्यममा एजेन्डा तय गर्ने हदको प्रभाव पारेका थिए । त्यस समयमा परम्परागत सञ्चारमाध्यममा अचानक वाइडलप्रति ठुलो चासो देखिएको थियो, जुन खासमा मस्कसँग जोडिएको थियो, ‘अनुसन्धानकर्ता जन राउले भने जो राउ ‘रिसर्च इन्स्टिच्युट सोसल कोहेजन’ र ‘लाइब्निज–इन्स्टिच्युट फर मिडिया रिसर्च’मा आबद्ध छन् । 

वाइडलसँग लाइभस्ट्रिम गरेको केही हप्तापछि, मस्कले फेरि एएफडीको एक र्यालीमा पनि भिडियो लाइभस्ट्रिममार्फत सम्बोधन गरे । ट्रम्पको शपथग्रहणको केही समयपछि भएको उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले एएफडीका समर्थकहरूलाई ‘विगतको अपराधबोधमा धेरै ध्यान केन्द्रित गरिने गरेकोमा त्यसभन्दा अघि बढ्नुपर्ने’ बताए । उनको संकेत खासमा विगतमा यहुदी नरसंहारप्रति जर्मनीमा कायम आमअपराधबोधप्रति थियो । मस्कको उक्त भनाइको कैयौँले उनीमाथि उग्रदक्षिणपन्थी विचारधारालाई सामान्यीकरण गर्ने प्रयास गरेको आरोप लगाए । 

मस्कको प्रभावको सीमा
सन् २०२४ को चुनावपछि ट्रम्पसँगको निकटता र ह्वाइट हाउसमा बढेको भूमिकाले मस्कको राजनीतिक शक्तिलाई बढायो । त्यसवेला विदेशी सरकारमाझ मस्कले हस्तक्षेप बढाएको डर पनि देखिएको थियो । त्यसबाहेक सन् २०२ मा ट्विटरको खरिदपछि मस्कले यस प्लाटफर्ममा गरेका परिवर्तनले पनि विश्वभरका उग्रदक्षिणपन्थी दललाई सहयोग पुगेको छ । मस्कले ट्विटरमा गरेका परिवर्तनले एएफडीजस्ता समूहको विभाजनकारी र अतिदक्षिणपन्थी राजनीतिलाई बढावा दिन मद्दत गर्यो । पहिले प्रतिबन्धित गरिएका कैयौँ उग्रदक्षिणपन्थी खाता पुनर्स्थापित भए । त्यसबाहेक उनी आफैँले पनि कतिपय उग्रदक्षिणपन्थी खाताका सामग्रीहरू ‘रिपोस्ट’ गरेर तिनको प्रवर्द्धनमा लागे ।

तथापि, मस्कको स्वामित्वमा आएपछि ‘एक्स’मा विकास भएको उग्रदक्षिणपन्थी माहोलको आफ्नै सीमा पनि छ । रोयटर्स इन्स्टिच्युटको सर्वेक्षणअनुसार, जर्मनीमा समाचारका लागि एक्सको प्रयोग गर्ने मानिसको हिस्सा जम्मा पाँच प्रतिशत मात्र छ । त्यसबाहेक मस्कको आगमनपछि धेरै शीर्ष व्यक्तित्वहरूले सार्वजनिक रूपमा घोषणा गरेर यो प्लाटफर्म प्रयोग गर्न छोडिसकेका छन् । तथापि, एएफडीप्रति मस्कको खुला समर्थनले केहीले चासो दिएको भने सत्य हो ।

‘एएफडीका धेरैजसो मूल आधार परम्परागत जर्मन राष्ट्रवादी हुन् । उनीहरू आफैँ नै एकजना अमेरिकी अर्बपतिले जर्मन राजनीतिमा हस्तक्षेप गरेको मन पराइरहेका छैनन्, ‘गैरनाफामुखी संस्था ‘अल्गोरिदम वाच’का पूर्वस्वतन्त्र अनुसन्धानकर्ता ओलिभर मार्सले भने । यस्तोमा एएफडीको उदयमा मस्कको भन्दा पनि जर्मनीको आन्तरिक राजनीति र सामाजिक परिवेशसँग बढी जिम्मेबार रहेको मार्सले बताए । बरु पार्टीको सफलताका लागि मस्कले जस लिने प्रयास गरिरहेको उनको बुझाइ छ । जस्तो, मस्कले जर्मनीका एक दक्षिणपन्थी टिप्पणीकारको एक दाबीलाई रिपोस्ट गरेका छन्, जसमा मस्कले ‘एक्स’ खरिद गरेपछि ‘बदलिएको माहोल’ले एएफडीको जितमा भूमिका खेलेको भनिएको छ ।

(न्युयोर्कमा रहेर पत्रकारिता गर्ने रोबिन्स–अर्ली अतिवाद, गलत सूचना, प्रविधिमाथि केन्द्रित भएर कलम चलाउँछन् ।)

द गार्जियनबाट 
 

सुझावित समाचार