भोटेकोशी महाविपत् : १७० बालबालिकालाई संरक्षण दिन कास्कीका बालगृह तयार

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

कास्कीका बालगृहहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा अभिभावक गुमाएका १७० बालबालिकालाई संरक्षण दिने भएका छन् । बालगृह सञ्जाल कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन सुरक्षा, संरक्षण, भविष्य सुनिश्चितता तथा राहत सहयोगका लागि आफ्नो कार्ययोजना सार्वजनिक गर्दै १७० बालबालिकाको दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सञ्जाल कास्कीकी अध्यक्ष शोभा पहारीले बालबालिका ऐन, बालबालिका नियमावली, बालगृह सञ्चालन मापदण्ड, २०७९ तथा बालबालिका संरक्षण कानुनसम्बन्धी पूर्ण प्रक्रियाबाट आएका अभिभावकविहीन १७० बालबालिकाको दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता राज्यका सरोकारवाला निकायमा गरिएको जानकारी दिइन् । हाल कास्कीमा रहेका २५ वटा बालगृहमा १०८ जना राख्न सकिने र आकस्मिक कोटाका ६२ जना थप गरेर १७० जना बालबालिकाको दीर्घकालीन संरक्षण गर्न आफूहरू सक्षम रहेको उनले बताइन् ।

राज्यका निकायले प्रक्रिया पुर्याएर संरक्षणका लागि दिएका अभिभावकविहीन बालबालिकाको दीर्घकालीन संरक्षण गर्न र यसका लागि आवश्यक बजेटका लागि दाताले प्रतिबद्धतासमेत जनाएकाले बालबालिका उपलब्ध गराउन सरकारी निकायसँग उनले आग्रह गरिन् । साथै, सम्बन्धित स्थानमा प्रत्यक्ष पुगी सञ्जालको नेतृत्वमा कास्कीका विभिन्न बालगृहका तर्फबाट करिब ६ लाखबराबरका राहत सामग्रीसमेत प्रदान गर्ने उनले बताइन् । प्रधानमन्त्री उद्धार कोषमा बालगृह सञ्जालका संस्थापक अध्यक्ष भीष्मराज पौडेल आबद्ध नमस्ते कम्युनिटी फाउन्डेसनले २० लाख प्रदान गरिसकेको छ ।

सुझावित समाचार