यातायात व्यवस्था विभागका सूचना अधिकारी केशव खतिवडालाई ३ प्रश्न

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

चालक अनुमति पत्रसम्बन्धी हालै सुरु भएको अनलाइन सेवा कस्तो छ ?
अनलाइन सेवा हामीले यही साउन १ देखि सुरु गरेका हौँ । सुरुमा हामीले परीक्षणका लागि केही कार्यालयबाट सेवा सुरु गरेका थियौँ । १५ गतेदेखि सबै कार्यालयबाट अनलाइन सेवा सुरु गर्यौँ । हालसम्म डेढ लाखभन्दा बढी सेवाग्राहीले यस प्रणालीबाट सेवा लिइसक्नुभएको छ । यो प्रणालीले गर्दा चालक अनुमति पत्रका लागि लिखित र ट्रायलका लागि बाहेक अन्य कामका लागि कार्यालय धाउनुनपर्ने भएको छ । बागमती र कोशी प्रदेशमा भने सर्वोच्चको आदेशपछि स्वास्थ्य परीक्षणका लागि चिकित्सककहाँ जानुपर्ने भएको छ । अन्य प्रदेशका हकमा चाहिँ त्यो पनि पर्दैन ।   

अनलाइन सेवा भनिए पनि अफिस धाउनुपर्ने बाध्यता त उस्तै छ नि ?
नयाँ ‘सिस्टम’ भएकाले केही समस्या आएका हुन सक्छन् । खासगरी राष्ट्रिय परिचय पत्र नम्बर नहुँदा र पुराना सेवाग्राहीको ‘कमप्लिट डाटा’ नभएकाले पनि केही समस्या भएको हो । नयाँ सिस्टममा सबै अभ्यस्त भइनसकेको हुनाले पनि यस्तो भएको होला । तर, हामीले गुनासो आउनासाथ सकभर छिटो त्यसलाई समाधान गर्ने गरी काम गरिरहेका छौँ । बिस्तारै सहज हुँदै जान्छ । 

आफूहरूलाई तालिम पनि नदिइएको र म्यानुअल पनि नभएकाले अलमलिनुपरेको कर्मचारीको गुनासो छ नि ?
हामीले सुरुमा प्रत्येक यातायात कार्यालयका दुई–दुईजना कर्मचारीलाई फिजिकल तालिम दिएका थियौँ । तालिम पाइसकेपछि उहाँहरूले सम्बन्धित कार्यालयका अन्य साथीलाई तालिम दिने व्यवस्था मिलाएका छौँ । यसका साथै सुरुदेखि नै हामीले ‘ह्वाट्सएप ग्रुप’ बनाएर समस्या आउनासाथ त्यसमा छलफल गरी समाधानको बाटो देखाउने गरेका छौँ । यसमा कार्यालयका विज्ञसँगै सम्बन्धित कर्मचारी र एपका ‘डेभलपर्स’हरू पनि जोडिनुभएको छ । त्यसैले, कुनै पनि साथीहरू अलमलिनुपर्ने अवस्था छैन । तैपनि, कहीँ कतैका साथीहरू अलमलमा हुनुहुन्छ भने हामी अनुगमन गरी उहाँहरूको सशक्तीकरणका लागि आवश्यक सहयोग गर्नेछौँ ।

सुझावित समाचार