जेन–जी आन्दोलनमा ध्वस्त पार्टी कार्यालय : एमालेको तयार, कांग्रेस र नेकपाको पुनर्निर्माणमै

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा गत वर्ष २४ भदौमा पुराना राजनीतिक दलका संरचनाहरू क्षतिग्रस्त बन्न पुगे । आस्थाको केन्द्र मानिने पार्टी कार्यालय आगजनी र तोडफोडमा परे । तत्कालीन सत्तारूढ दलहरू कांग्रेस र एमाले तथा तत्कालीन प्रमुख प्रतिपक्षी दल माओवादी (हाल नेकपा)को केन्द्रीय कार्यालयका भौतिक संरचनासँगै महत्वपूर्ण कागजात र सामग्री जलेर खरानी भए । खण्डहर बनेका पार्टी कार्यालय क्रमशः पुनर्निर्माण र मर्मतपछि सञ्चालनमा आएका छन् । 

वर्षौँको राजनीतिक इतिहास बोकेका भवन जलाइए, फर्निचर खरानी भए, कम्प्युटर र विद्युतीय उपकरण लुटिए । कांग्रेसको सानेपा, एमालेको च्यासल र नेकपाको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आगजनी र तोडफोडको घाउ अझै बाँकी छ । पुनर्निर्माण अझै अधुरो छ । तर, मर्मत–सम्भारपछि तीनवटै पार्टीका कार्यालय नियमित सञ्चालनमा छन् । 

कांग्रेस कार्यालयमा लिफ्ट, बैठक कक्ष र पुस्तकालय पुनर्निर्माण बाँकी
जेन–जी आन्दोलनको क्रममा आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालयमा पदाधिकारीका कार्यकक्ष, बैठक हल, क्यान्टिन तथा डिजिटल सभा हललगायतका भौतिक संरचनामा पूर्ण क्षति भयो । कलात्मक झ्यालढोका सबै खरानी भए । केन्द्रीय कार्यालय सानेपामा करिब १० करोडको भौतिक क्षति पुगेको कांग्रेसको तथ्यांक छ । क्षतिग्रस्त कार्यालयको पुनर्निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

पुनर्निर्माणसँगै कांग्रेसले कार्यालयको भित्री व्यवस्थापन पनि परिवर्तन गरेको छ । कर्मचारीका लागि अन्डरग्राउन्डमा कार्यकक्ष बनाइएको छ । पुरानो बैठक कक्ष सञ्चालनमा ल्याइएको छ भने माथिल्लो भागमा नयाँ बैठक कक्ष निर्माण हुँदै छ । त्यसका साथै लिफ्ट र पुस्तकालय निर्माणको काम बाँकी छ ।‘हाम्रो कार्यालय व्यवस्थित रूपमा सञ्चालित थियो । आगजनीमा क्षतिग्रस्त भएपछि हामीले एकदम छिटो कार्यालय बनायौँ । कोषाध्यक्षको यसमा महत्वपूर्ण भूमिका छ । सभापतिको भूमिका हुने नै भयो । हामी सबैको मिहिनेत छ । अहिले पुरानो अवस्थाभन्दा पनि राम्रो भएको छ ।

व्यवस्थित भएको छ,’ महामन्त्री प्रदीप पौडेल भन्छन्, ‘माथिल्लो तलाको छेउमा ठुलो हल बनाइरहेका छौँ । लिफ्ट अन्तिम चरणमा पुगेको छ । पहिला पनि हाम्रो ढोकाहरू ऐतिहासिक घटनाका संकेत आउने थिए । अहिले पनि हामीले त्यसलाई मेन्टेन गर्ने कोसिस गरेका छौँ । कार्यालयको जिम्मेवारीमा रहनुभएका साथीहरूको कार्यकक्षका साथै मिटिङका लागि साना, ठुला गरी पाँचवटा हल छन् । यहीँबाट गतिविधिहरू सञ्चालन गरिरहेका छौँ । न्यूनतम आवश्यकताहरू कार्यालयमा बैठक गर्ने, भेटघाट गर्ने र अरू विभिन्न गतिविधिहरू गर्ने गरी पुनर्निर्माण करिव करिब सकेको स्थिति छ । आगजनी र तोडफोडमा परेको कार्यालय एकदम छिटो पुनर्निर्माण ग¥यौँ ।’

आन्दोलनको क्रममा सार्वजनिक संस्थाहरूमाथि प्रहार गर्नु स्वाभाविक नभएको पौडेल बताउँछन् । ‘व्यक्ति मन नपर्न सक्छ । तर, संस्थाहरूमा प्रहार गर्दा धेरै सामग्री नष्ट हुन पुग्छन् । त्यसैले संस्थागत संरचना नै ध्वस्त हुने स्थितिप्रति सचेत हुनुपर्छ,’ उनी भन्छन् । 

भौतिक क्षतिको हिसाब निकाल्न सजिलो छ, पुनर्निर्माणमा लागेको खर्च पनि सहजै निकाल्न सकिन्छ । तर, जलेका दुर्लभ पुस्तकको मूल्य कसरी निकाल्ने ? कांग्रेसीजनको मुख्य चिन्ताको विषय यही बनेको छ । बजारमा नपाइने ऐतिहासिक पुस्तक कांग्रेसको पुस्तकालयमा थिए । त्यसको कुनै मूल्य छैन । इतिहास नै हराएको महसुस कांग्रेस नेता तथा कार्यकर्ता गर्छन् । भौतिक संरचनाको क्षतिभन्दा पुस्तकालयको क्षतिले कांग्रेसजनलाई मर्माहत बनाएको छ । जहाँ ३२ हजारभन्दा बढी पुस्तक थिए ।

‘नेपालकै टप लाइबे्ररीहरूमध्येमा हामीले लाइब्रेरी बनाएका थियौँ । त्यहाँभित्र कांग्रेसको हिस्ट्री थियो । त्यहाँभित्र नेपालको राजनीतिको हिस्ट्री थियो, त्यहाँभित्र क्रान्तिको हिस्ट्री थियो । एकदम दुर्लभ पुस्तकहरू थिए, जुन पुस्तक बजारमा भेटिँदैनन् । हामीले हाम्रा नेताहरूको घरमा उहाँहरूले सुरक्षित राख्नुभएको पुस्तकहरू पनि ल्याएर राखेका थियौँ ।

‘तपाईँले मात्रै पढेर पुगेन, हामी सबैलाई पढाउँछौँ, पढ्ने स्थिति बनाउँछौँ, लाइब्रेरीमा सुरक्षित राख्छौँ’ भनेर हामीले नेताहरूको घरबाट पुस्तक ल्याएर लाइब्रेरीमा राखेका थियौँ । त्यो पुस्तक अहिले उहाँहरूसँग पनि छैन । बजारमा पनि छैन । कतै पनि ती पुस्तकहरू भेटिँदैनन् । त्यसको डिजिटल रेकर्ड पनि भएको स्थिति छैन । मलाई लाग्छ सबैभन्दा ठुलो क्षति त्यहाँभित्र भयो,’ पौडेलले भने । पुस्तकालय पुनः सञ्चालन गर्ने कांग्रेसको योजना छ । पुस्तकालयमा भएको आगजनीपछि त्यहाँको खरानी पन्छाउन मात्रै पाँच दिन लागेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलाल बताउँछन् ।

आगजनी हुँदा दुलाल पुस्तकालय हेर्ने सचिवको रूपमा कार्यरत थिए । ‘पूरै पुस्तकले भरिएको थियो । धेरै दुःख गरेर एसियाकै उत्कृष्ट पुस्तकालय बनाएका थियौँ । ऐतिहासिक पुस्तकहरू थिए । मुख्य धेरै राजनीतिक नै थिए । कतिपय बाहिर नपाइने पुस्तकसमेत थिए । ती सबै खरानी भए,’ पौडेलले भने । पुस्तकालय भएको स्थानमा अहिले क्रियाशील सदस्यहरूको डाटा संकलन गर्ने कक्षको रूपमा अस्थायी प्रयोग गरिएको छ । 

पुनर्निर्माणपछि पूर्ण सञ्चालनमा एमाले केन्द्रीय कार्यालय
जेन–जी आन्दोलनको क्रममा तत्कालीन सरकारको नेतृत्व गरिरहेको दल एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा पनि ठुलो क्षति पुग्यो । आगजनीबाट केन्द्रीय कार्यालयमा करिब १० करोडको क्षति पुगेको एमाले नेताहरू बताउँछन् । जुन घर तुल्सीलाल स्मृति प्रतिष्ठानको हो । प्रतिष्ठानको घर भाडामा लिएर एमालेले केन्द्रीय कार्यालय सञ्चालन गरेको थियो । गत वर्षको २४ भदौको आगजनीबाट क्षतिग्रस्त भएको संरचना पुनर्निर्माण गरेर एमालेले नियमित गतिविधि गरिरहेको छ । 

‘गत वर्षको आगजनीबाट एमालेलाई निकै ठुलो क्षति पुग्यो । प्रवासी नेपाल मञ्चको सहयोगमा केन्द्रीय कार्यालय पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएका छौँ । कार्यालयमा ४५ हजारभन्दा धेरै पुस्तक भएको लाइब्रेरी, कार्यालयमा झ्याल, ढोका, फर्निचर सबै जलेर खरानी भए । ऐतिहासिक दस्तावेज, पार्टी स्थापना कालदेखिका माइन्युटहरू सबै नष्ट भए ।

कार्यालयको छत र भित्ताबाहेक केही पनि बाँकी थिएन,’ एमाले प्रचार विभाग प्रमुख नीरज आचार्य स्मरण गर्छन्, ‘शोकलाई शक्तिमा बदल्नुपर्छ भनेर भग्नावशेष हटाएर कार्यालय सञ्चालन गर्यौँ । केन्द्रीय कार्यालय बनाउन ७० दिनजति रातदिन काम गरेर पुनर्निर्माण ग¥यौँ । सुरुका दिनमा चौरमा त्रिपाल हालेर पनि केही समय केन्द्रीय कार्यालय चलायौँ ।’

एमालेलाई पनि पुस्तकालयको क्षतिबाट मर्माहत बनाएको छ । ऐतिहासिक दस्तावेजहरू सबै खरानी भए । पार्टी कार्यालयको पुस्तकालयका मात्रै होइन, नेताहरूका घरमा रहेको पुस्तकालयका पुस्तक पनि सबै जलेर नष्ट भए । एमालेले पुस्तकालयका लागि पुस्तकहरू संकलन गरिरहेको छ । तर, ऐतिहासिक दस्तावेज र पुस्तकहरू भेटिएको छैन । 

‘अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत एमालेका धेरै नेताको घरमा लाइब्रेरी थिए । हाम्रा नेताहरूमा पठन संस्कृति छ । १७० जना नेता तथा कार्यकर्ताहरूको घरमा आगजनी भयो । उहाँहरूको घरमा भएका पुस्तक पनि जलेर नष्ट भए । एकदमै थोरै नेता तथा कार्यकर्ताको घर जल्नबाट जोगिए, उहाँहरूकोमा बचेखुचेका पुस्तकहरू ल्याएर लाइब्रेरीको सुरुवात गरेका छौँ । भेटिएका दस्तावेजहरू स्क्यान गरेर इलाइब्रेरीको रूपमा पनि विकास गर्ने सोचेका छौँ,’ उनले भने ।

एमालेले बल्खुस्थित आफ्नै नाममा रहेको नौ रोपनी जग्गामा नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । भवनको नक्सापास गर्ने प्रक्रिया अघि बढेको आचार्य बताउँछन् । ‘पार्टीको नाममा लालपुर्जा भएको नौ रोपनी जग्गा बल्खुमा छ । पुरानो केन्द्रीय कार्यालय त्यहीँ थियो, ०७२ को भूकम्पमा त्यो कार्यालय ढल्यो । त्यसपछि त्यहाँ कार्यालय निर्माण भएको छैन । महानगरको पहिलाको मापदण्डमा बल्खुको दुवै किनारमा खोला पर्ने भएकाले दुवैतर्फ २०–२० छाड्दा घर बनाउन जग्गा पुग्दैनथ्यो । पछि सर्वोच्च अदातले १०–१० मिटरको फैसला गरेपछि घर बनाउन जग्गा पुग्छ । नक्सापास गर्ने प्रक्रिया अघि बढेको छ । बल्खुमै केन्द्रीय कार्यालय बनाउँछौँ,’ उनले भने ।

अकल्पनीय आगजनी र क्षतिले एमालेजनलाई अहिले पनि झस्काउँछ । आगजनीपछिका सुरुवाती दिन स्मरण गर्दै आचार्य भन्छन्, ‘संस्थागत पार्टी भएकाले कार्यालयबाटै सबै काम हुन्छ । कार्यालय जल्दा एक किमिमले हामी सडकमा पुग्यौँ । कार्यालय छैन, कागजात छैन, माइन्युट छैन । भएका डाटा पनि नष्ट भयो । डाटा सेन्टर जलेको, पुस्तकालय जलेको र कार्यालयको सबै चिज नष्ट भएपछि हामीले अकल्पनीय कठिनाइ भोग्यौँ । पार्टी कार्यालय भनेको लाखौँ जनताको भावनाले जोडिएको हुन्छ । माइन्युटमा लेखिएका हरेक निर्णयमा एमालेका समर्थक, शुभेच्छुकको भावनामा यति गहिरो चोट प¥यो, त्यसको कल्पना पनि गर्न सकिँदैन ।’ 

पुनर्निर्माणकै चरणमा छ पेरिसडाँडास्थित नेकपा कार्यालय
पेरिसडाँडास्थित नेकपा (तत्कालीन माओवादी केन्द्र)को कार्यालय पनि आगजनीबाट क्षतिग्रस्त भयो । कार्यालयको तल्लो भाग, आवास क्षेत्र, ग्राउन्ड फ्लोर र पहिलो तलामा ठुलो क्षति भयो । आगजनीबाट करिब पाँच करोडको क्षति पुगेको नेकपाका नेताहरू बताउँछन् । तत्कालीन माओवादी, एकीकृत समाजवादीसहित वामघटकहरू एकता भएर नेकपा बनेपछि पेरिसडाँडा बैठककक्ष, संयोजक र सहसंयोजकको कार्यकक्ष र कर्मचारीहरूको कार्यकक्ष बनाइएको छ । अन्य क्षतिग्रस्त संरचनाहरू अझै मर्मत–सम्भार भइसकेको छैन । कार्यकताको सहयोगमा कार्यालय पुनर्निर्माण सम्पन्न गर्ने तयारी नेकपाको छ ।

‘केन्द्रीय कार्यालयको पुनर्निर्माण अहिले पनि भइराखेको छ । तर, अझै पूर्णता पाएको छैन । आगजनीबाट क्षतिग्रस्त भएको कार्यालय पुननिर्माण गरेर हामीले काम चलाइराखेका छौँ । जहाँसम्म काम चलाउने कुरा हो, हामीले जलेको केही समयमै आँगनमा कार्यक्रम गरेर संविधान दिवस मनाएर कार्यालयलाई सञ्चालन गरिराखेका छौँ । जनवर्गीय संगठन, सम्पर्क मञ्च, पार्टीका नेता तथा कार्यकर्ता खटिएर तत्काल सरफाइ गर्नुका साथै कार्र्यालय सञ्चालनमा ल्यायौँ,’ नेपाली कम्युनिस्ट पार्टीका मुख्यसचिव गणेशमान पुनले भने । पेरिसडाँडामा अझै पनि मर्मत–सम्भारको काम भइरहेको छ ।

आवश्यकताका आधारमा अर्को भवन निर्माणको काम अघि बढ्ने उनी बताउँछन् । कांग्रेस र एमालेको पुस्तकालय पूरै ध्वस्त भए पनि नेकपाको पुस्तकालयमा भने आगजनी भएन । तर, तोडफोड र चोरी भने भयो । ‘पुस्तकालयमा आंशिक आगजनीबाट क्षति भयो । सबै नजलेको मात्रै हो । तोडफोड र लुटपाट भयो, त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याएका छौँ । इलाइब्रेरीको रूपमा समेत विकास गर्ने सोच छ,’ पुनले भने ।

सुझावित समाचार