नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हक्मतसिंह ऐरलाई ३ प्रश्न

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रमा कस्तो प्रभाव परेको छ ? 
भोटेकोशी बाढीले नेपालको पर्यटन क्षेत्रमा ठुलो असर पारेको छ । कैलाश–मानसरोवर यात्राको समयमा त्यसको प्रमुख रुटमा यो महाविपत् आएकाले यसले देशको समग्र पर्यटन क्षेत्रमै तात्कालिक असर त पारेकै छ । भारत र अन्य देशबाट भदौ १० यताका लगभग ५० प्रतिशतभन्दा बढी ‘बुकिङ’ रद्द भएका छन् । अक्टोबरको २५ प्रतिशत र नोभेम्बरको करिब १५ प्रतिशत बुकिङ रद्द भएको अवस्था छ । यसले पर्यटन क्षेत्रका साथै देशको समग्र अर्थतन्त्रमै गम्भीर असर पार्ने देखिन्छ । पदयात्रा र हिमाली क्षेत्रको पर्यटनमा यस बाढीले दीर्घकालीन असर पनि पार्न सक्छ । 

पर्यटकलाई नेपाल सुरक्षित छ भनेर कसरी आश्वस्त पार्ने काम भइरहेको छ त ?
विनाशकारी बाढीपछि राष्ट्रिय विपत् प्राधिकरण, नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, पर्यटन प्रहरी, निजी क्षेत्रलगायत सबैले एकसाथ विशेष संयन्त्र बनाएर सूचना प्रवाह गरिएको छ । सूचनामा विनाशकारी बाढीबाट नेपालको भोटेकोशी–त्रिशूली करिडोर मात्र प्रभावित छ, अन्य गन्तव्य सुरक्षित छन्, समस्या छैन भन्ने जानकारी समेटिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियासित समन्वय गरेर प्रभावित क्षेत्रबाहेक नेपालका अन्य गन्तव्य सुरक्षित छन् भन्ने जानकारी दिइएको छ । 

पर्यटकलाई आकर्षित गर्न के–कस्ता कार्यक्रम ल्याइँदै छ ? 
अबका दिनमा हामी नेपाल सुरक्षित भन्ने अभियान लिएर विभिन्न गन्तव्यमा उपस्थित हुनेछौँ । जापानको अन्तर्राष्ट्रिय मेलामा पनि हामी सहभागी हुँदै छौँ । भारतलगायत विभिन्न देशमा पनि ‘प्रमोसनल’ गतिविधि गर्दै छौँ । लाङटाङको वैकल्पिक रुट पनि प्रस्ताव गरेका छौँ । सो रुटबाट गोसाइँकुण्ड, लाङटाङ बेसक्याम्प, क्यान्जी गुम्बालगायत स्थान जान सकिन्छ । देशका अन्य सम्पूर्ण गन्तव्य सुरक्षित छन् भन्ने सन्देश सबैतिर पुर्याउन हामी विभिन्न अन्तर्राष्ट्रिय फोरममा उपस्थित हुँदै छौँ । विपत्पछिको समयमा नेपाललाई माया गर्नुहुने सम्पूर्ण विदेशी पर्यटकलाई नेपाल आएर हाम्रो पर्यटन क्षेत्रलाई सहयोग गरिदिनुहोस् भन्न पनि चाहन्छौँ । साथै, यस क्षेत्रलाई उकास्न नेपाल सरकारले पनि विशेष प्याकेज ल्याउनुपर्ने देखिन्छ । 

सुझावित समाचार