- कांग्रेस युवा नेताहरूले बुझ्नुपर्छ, बिपीको जुत्तामा खुट्टा हाल्ने दाबी पद वा सत्तामा पुग्ने ‘लाइसेन्स’ नभई जनसेवा र सादगीको आधुनिक बाटामा हिँड्ने अग्निपरीक्षा हो
आज भदौ २४ गते, जेन–जी विद्रोह र वैचारिक पुनर्जागरणको आलोकमा जननायक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लाई सम्झिने एउटा विशेष दिन, बिपीको ११३औँ जन्मजयन्ती । तर, यस वर्ष जन्मजयन्ती मनाइरहँदा आमकांग्रेसीजनमा खुसी र उत्साहभन्दा बढी चिन्ता र वैचारिक अलमलको बाक्लो तुवाँलोले अवश्य मन गरुंगो बनाएको हुनुपर्छ । विवादित विशेष महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेपछि कांग्रेस सभापति गगनकुमार थापाले सार्वजनिक मञ्चहरूबाट, ‘म बिपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको मानिस हुँ,’ भन्दै त्यो ऐतिहासिक विरासतको ओज र जिम्मेवारी वहन गर्ने दाबी प्रस्तुत गरिरहेको अक्सर सुनिन्छ । तर, जन्मजयन्तीकै अवसरमा मञ्चन भइरहेको विरक्तलाग्दो दृश्यले भने त्यो दाबीमाथि गम्भीर प्रश्न उठाइरहेको छ ।
विशेष महाधिवेशनसँग सम्बन्धित आधिकारिताको मुद्दामा सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाएसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षले साउन २९–३० मा आयोजना गरेको विशेष सम्मेलन र अहिले दुवै पक्षले प्रस्तुत गरेका समानान्तर महाधिवेशनका कार्यतालिकाले पार्टीभित्रको गुटबन्दी र भावनात्मक दूरी कुन हदसम्म पुगेको छ भन्ने सिसाझैँ पारदर्शी बनेको छ । देश बाढी, पहिरो र प्राकृतिक विपत्तिको चपेटामा परेर जनता आक्रान्त भइरहँदासमेत त्यसलाई सम्बोधन गर्नुको साटो दुवै पक्ष आ–आफ्नो महाधिवेशनको दाउपेच र शक्ति प्रदर्शनमै मग्न देखिन्छन् । सानेपा र चुनदेवीबाट समानान्तर गतिविधि सञ्चालन गर्दै एउटै संस्थापकको जन्मजयन्तीमा दुईतिर मुख फर्काएर मञ्चन भएको यो विभाजनोन्मुख तमासाबिच इतिहासको एउटा अत्यन्तै घतलाग्दो र बिम्बात्मक प्रतीक हाम्रा सामु खडा भएको छ, ‘बिपीको जुत्ता’ ।
मानव सभ्यता र पूर्वीय दर्शनको विकासक्रममा जुत्ता वा खराउ केवल पैतालाको सुरक्षा साधन मात्र थिएन, होइन । यसले हिँडिने बाटो, सामाजिक धरातल, वैचारिक निष्ठा, राजनीतिक सिद्धान्त र नैतिक उचाइको प्रतिनिधित्व पनि गर्छ । त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम वनवास जाँदा भरतले उनका पादुका (खराउ) लाई सिंहासनमा राखेर जसरी चौध वर्षसम्म राज्यसत्ताको मोहभन्दा माथि उठी विचार, धर्म र निष्ठाको मर्यादा जोगाएका थिए, राजनीतिशास्त्रमा बिपीको ‘जुत्ता’लाई बिम्ब बनाउनु पनि उहाँको त्याग, प्रजातान्त्रिक समाजवाद र मेलमिलापको मार्गचित्रलाई त्यसरी नै सर्वोच्च आदर्श मान्नु हो ।
यहाँनेर एउटा गम्भीर दार्शनिक, राजनीतिक–समाजशास्त्रीय र मनोवैज्ञानिक प्रश्न खडा हुन्छ, भरतले मर्यादा पुरुषोत्तमको खराउलाई सिंहासनमा राखेर पूज्य मान्दै आफ्नो निष्ठा जोगाए, तर त्यसमा आफ्नो खुट्टा हाल्ने धृष्टता कहिल्यै गरेनन् । तर, आज बिपीले स्थापना गरेको पार्टीका सभापति गगन थापाले ‘बिपीको जुत्तामा खुट्टा हालेको छु’ भन्दै अभिव्यक्ति दिनु बिपीप्रति सम्मान हुन्छ कि सस्तो लोकरिझ्याइँ ? कि नितान्त आत्मिक अहंकार ?
समाजशास्त्र र राजनीतिक मनोविज्ञानको कसीमा हेर्दा कुनै पनि नेताले ऐतिहासिक नायकको नाम, रगत वा जुत्ताजस्ता शारीरिक एवं भौतिक बिम्बहरू बारम्बार दोहोर्याउनु वास्तवमा राजनीतिक शास्त्रमा सांकेतिक वैधानिकता र पारम्परिक वैधानिकताको खोजी गर्नु हो । प्रख्यात जर्मन समाजशास्त्री म्याक्स बेबरले राजनीतिमा अधिकार र वैधानिकताका तीन स्वरूपको व्याख्या गर्नुभएको छ, पारम्परिक, चामत्कारिक र कानुनी/विवेकशील ।
बेबरका अनुसार जब कुनै नेतृत्व ठोस विचार, नीति र परिणाममार्फत विवेकशील–कानुनी वैधानिकता स्थापित गर्न असमर्थ हुन्छ, तब उसले स्थापित नायकको ‘रगत’ वा ‘जुत्ता’जस्ता जैविक एवं भौतिक बिम्बको सहारा लिएर आफ्नो राजनीतिक उचाइ हासिल गर्ने प्रयास गर्छ । थापाले सभापति भइसकेपछि ‘बिपीको जुत्तामा खुट्टा हालेको छु’ भन्नु भौतिक र चामत्कारिक बिम्बको प्रयोग हो । आफ्नै विचार र सांगठनिक क्षमताबाट नयाँ विवेकशील पहिचान बनाउन नसकेर बिपीको ऐतिहासिक ओजको बलमा आफ्नो वैधानिकता खोज्नु एकप्रकारको मनोवैज्ञानिक छटपटी हो ।
यसलाई फ्रान्सेली मनोविश्लेषक ज्याक लाकाँको ‘मिरर स्टेज’ सिद्धान्तबाट अझ गहराइमा बुझ्न सकिन्छ । ज्याक भन्छन्– जब कुनै पात्र वा व्यक्तिले आफू स्वयं वैचारिक रूपमा पूर्ण र परिपक्व महसुस गर्दैन, तब उसले समाजमा स्थापित कुनै ठुलो आदर्श बिम्बको छाया वा आवरणमा आफूलाई शक्तिशाली देखाउने प्रयास गर्छ । सभापति थापाको ‘खुट्टामा जुत्ता’को प्रतीकात्मक पपुलिस्ट यात्रा वास्तवमा बिपीको ऐतिहासिक विरासत थाम्ने सांगठनिक तागतभन्दा बढी नेतृत्वभित्रको गहिरो मनोवैज्ञानिक आत्म–संशय र सांगठनिक द्विविधाको उपजजस्तो देखिन्छ । अहिले थापामा देखिएको द्विविधा ठिक त्यही अवस्था हो, जुन माहाभारतको युद्धअगाडि अर्जुनमा देखिएको थियो ।
नैतिक सादगी : बिपीको जुत्ता केवल राजनीतिक बिम्ब वा कपोलकल्पित प्रतीक मात्र होइन, यो त स्वयं उहाँको कृतिहरू ‘आत्मवृत्तान्त’ र ‘आफ्नो कथा’मा उल्लेख गरिएको एउटा जीवित ऐतिहासिक सत्य हो । बिपीले ‘आत्मवृत्तान्त’को पृष्ठ तीनमा आफ्ना पिता कृष्णप्रसाद कोइरालाको प्रसंग उल्लेख गर्दै लेख्नुभएको छ, ‘पिताजी ब्रिटिस बनावटका महँगा जुत्ता लगाउन सौखिन हुनुहुन्थ्यो, तर सर्वसाधारण र गरिब किसानबाट आफ्नो सौखिनपन लुकाउन र उनीहरूसँग एकाकार हुनका लागि जानीजानी जुत्तामा धुलो लगाइदिनुहुन्थ्यो ।’ जुत्तामा धुलो लगाउने पिताको त्यो नैतिक सादगी नै बिपीको राजनीतिरूपी जुत्ताको बलियो सोलको कसी बन्न गयो ।
त्यस्तै, ‘आफ्नो कथा’को पृष्ठ ९२ मा निर्वासनको एघार वर्षको चरम अभाव स्मरण गर्दै बिपी लेख्नुहुन्छ, ‘त्यस परिव्राजक अवधिभरि मैले केवल अढाई रुपैयाँका दुई जोर जुत्ता मात्र लगाउन पाएँ ।’ त्यसैगरी, पृष्ठ १९३ मा वनारसको स्कुलमा पढ्दाको अर्को मार्मिक घटना सम्झिनुभएको छ । स्कुलका सौखिन ड्रोइङ शिक्षकले धुलोले चिरा परेका बिपीका नांगा खुट्टालाई लक्षित गर्दै, ‘विश्वेश्वर, जुत्ता लगाउने गर,’ भन्दा बिपीको मौन जवाफ थियो, ‘सौखले जुत्ता नलाएको होइन, मजबुरीले ।’
यसरी, गरिबीको त्यो मजबुरी, अभावको धुलो र निष्ठाको माटोबाट खारिएर बनेको थियो, बिपीको ‘प्रजातान्त्रिक समाजवाद’को कडा ‘सोल’ । कांग्रेसको इतिहास पल्टाउने हो भने २००९ सालको जनकपुर महाधिवेशनवरिपरि तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग ‘सरकार ठुलो कि पार्टी ?’ भन्ने अहंकारको टकराव हुँदा बिपीले जुत्ताको उध्रिन लागेको सिलाइ जोगाउँदै दृढतापूर्वक ‘पार्टी र विचार’लाई रोज्नुभयो र स्वयं सभापति बन्नुभयो । यद्यपि, २०१२ सालको वीरगञ्ज महाधिवेशनमा त्यागको उदाहरण पेस गर्दै सुवर्ण शमशेरलाई सभापति बनाउनुभयो र उहाँमार्फत फेरि संवादको ढोका खुला गरेर मातृकाको पार्टी र उनी स्वयंलाई कांग्रेसमा विलय गराउनुभयो । त्यसपछि २०१४ मा विराटनगरको ‘विशेष महाधिवेशन’बाट पुनः सभापतिको जिम्मेवारी सम्हालेर प्रथम आमनिर्वाचनमा पार्टीलाई दुईतिहाइको ऐतिहासिक विजय दिलाउनुभयो । सत्ता र कुर्सीको मोहभन्दा सांगठनिक निष्ठा, त्याग र विचार ठुलो हुन्छ भन्ने बिपीको त्यो इतिहास जुत्ताको मजबुत आवरण थियो । यसरी, बिपीले उध्रिसकेको कांग्रेसलाई विशेष महाधिवेशनबाट सिलाएर एक ढिक्का बनाएको इतिहास जीवितै छ ।
उध्रिएको कांग्रेस : इतिहासको त्यो सादगी र निष्ठाको ठिक विपरीत गत वर्ष सम्पन्न दोस्रो विशेष महाधिवेशन र त्यसपछिको राजनीतिक परिदृश्य नियाल्दा समकालीन राजनीतिमा सस्तो लोकप्रियतावादको स्पष्ट मञ्चन देखिन्छ । गत भदौ २३–२४ को जेन–जी विद्रोहपछि फागुनको निर्वाचनलाई आधार बनाएर तत्कालीन युवा नेताहरूले विशेष महाधिवेशनको जोडदार वकालत गर्नुभयो । बिपीले विचार र संगठनलाई एकढिक्का बनाउन विसं २०१४ मा विशेष महाधिवेशन गर्नुभएको थियो भने आजको युवा नेतृत्वले संगठनको वैचारिक पुनर्गठनभन्दा ‘निर्वाचन र टिकट बाँड्ने अधिकार’लाई बढी महत्व दिएको देखिन्छ । सस्तो लोकप्रियता र चुनावी जोडघटाउलाई केन्द्रमा राखेर हतारमा गरिएको सोही महाधिवेशनको परिणामस्वरूप आज कांग्रेस स्पष्ट रूपमा दुई गुटमा विभाजित भएको छ । सानेपा र चुनदेवीबाट समानान्तर गतिविधि सञ्चालन भइरहेको छ ।
विशेष महाधिवेशनबाट थापा सभापति बनेर ‘नयाँ संस्थापन पक्ष’ त बन्यो, तर सो महाधिवेशनलाई अस्वीकार गर्दै शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेताहरू ‘पुरानो संस्थापन पक्ष’का रूपमा अलग खडा भएको अवस्था छ । यसरी, समानान्तर रूपले कार्यक्रम सञ्चालन भइरहनु र दुवै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशनको तयारी समिति र तालिका घोषणा गर्नुले नीति र विधिको जगविना भइरहेको ध्रुवीकरणलाई छर्लंग पार्छ । यसप्रकारको समानान्तर गतिविधिले कांग्रेसभित्रको आन्तरिक विखण्डन र जुत्ताको उध्रिएको सिलाइलाई आमकार्यकर्ताबिच उजागर गरिदिएको छ ।
वैचारिक किमियागिरी : बिपीको त्यो विराट् जुत्ता निर्माण गर्न सुवर्ण शमशेरको आर्थिक तथा सांगठनिक सन्तुलन, गणेशमान सिंहको विद्रोही आवेग र किसुनजीको सन्तभावजस्ता कच्चा पदार्थ प्रयोग भएका थिए । दलितका तर्फबाट धनमानसिंह परियार र तराई–मधेशको भूगोलबाट परशुनारायण चौधरी, महेन्द्रनारायण निधि, काशीप्रसाद श्रीवास्तव, रामनारायण मिश्र र शेख इदरिशजस्ता शिल्पीहरूले फरक–फरक वर्ण र रंगका समावेशी धागो प्रयोग गरेर जुत्तालाई बलियो गरी सिलाएका थिए । बिपीभित्र एउटा अद्भूत किमियागिरी थियो, जसले गर्दा फरक–फरक स्वभाव र महत्वाकांक्षा भएका नेतालाई उहाँले सधैँ एउटै साँचो र नीतिभित्र सन्तुलित गरेर राख्नुहुन्थ्यो । तर, आज पार्टीभित्र त्यस्ता शिल्पीहरू, सांगठनिक किमियागिरी र सिलाउने बलियो धागोको सर्वथा अभाव देखिन्छ, तर नभएको होइन ।
अर्कातिर ‘राष्ट्रिय मेलमिलापको नीति’ बिपीको जुत्ताको त्यो स्वाभिमानी ‘हिल’ थियो, जसले भू–राजनीतिक दबाबबिच पनि देशको सार्वभौमसत्तालाई उच्च राखिराख्यो । तर, आज पार्टीमा पद हत्याउन देशी–विदेशी शक्तिसँग सम्झौता गर्ने ढुलमुले चरित्रले गर्दा कांग्रेसले आफ्नो वैचारिक उचाइ गुमाउँदै गएको छ । जुत्तालाई खुट्टामा कसिलो गरी बाँध्ने आन्तरिक अनुशासन र विधिरूपी ‘तुना’ आज पूर्णतः फुकेको अवस्थामा छ ।
निष्कर्ष : बिपीको जुत्ता केवल छाला र धागोको एउटा स्मृतिचिह्न मात्र थिएन, होइन । यो त आधुनिक नेपाली राजनीतिको निकास दिने अद्भूत वैचारिक ‘एलगोरिदम’ हो । भरतले रामको खराउलाई शिरमा राखेर त्यसको ‘मर्यादा र निष्ठा’ रक्षा गरे, तर त्यसमा आफैँ गोडा हाल्ने धृष्टता गरेनन् । कांग्रेसका आजका युवा नेताले बुझ्नुपर्छ, बिपीको जुत्तामा खुट्टा हाल्ने दाबी गर्नु केवल पद वा सत्तामा पुग्ने ‘लाइसेन्स’ होइन, बरु जनसेवा, सादगी र जेन–जी विद्रोहले बनाएको आधुनिक बाटोमा हिँड्ने अग्निपरीक्षा हो । कांग्रेसलाई एकढिक्का बनाएर देशलाई समृद्धि, सुशासन र विकासको यात्रामा हिँडाउने जिम्मेवारी पनि यसैभित्र निहित छ ।
कांग्रेसका नेताहरूले बिपीको जुत्तालाई देखावटी राजनीतिक प्रचार वा भ्रष्टाचारको माध्यम मात्र बनाउन खोज्ने हो भने त्यो भरतको निष्ठाभन्दा ठिक उल्टो ‘वैचारिक व्यभिचार’ साबित हुनेछ । तसर्थ, यस ११३औँ बिपी जयन्तीको अवसरमा नयाँ र पुराना दुवै पक्षका नेताले बिपीको जुत्तालाई साक्षी राखेर आत्मसमीक्षा गर्नुपर्छ । कांग्रेसले बिपीको वैचारिक पदचापलाई आत्मसात् गर्दै निष्ठा, समाजवाद र सादगीको बाटो समात्न सक्यो भने मात्र ‘बिपीको जुत्तामा गगनको खुट्टा’को दाबीले सही गन्तव्य र नैतिक उचाइ प्राप्त गर्नेछ, अन्यथा यो यात्रा इतिहासको अर्को दुःखद मोडमा पुगेर टुंगिनेछ ।