- मोदी सरकार र भाजपाले आलोचनाको जवाफ दिने तरिकामा एक निश्चित तीव्रता र समझदारी अपनाउन थालेका छन्, जुन नयाँ हो
प्रधानमन्त्री बनेदेखि नै नरेन्द्र मोदीका समर्थकले उनी कुनै पनि नीतिबाट पछि नहट्ने वा आमविरोधमा समेत नझुक्ने भनेर प्रशंसा गर्ने गरेका छन् । हुन पनि पछिल्ला १२ वर्षको मोदी शासनमा आलोचनाका कारण राजीनामा दिएका मन्त्रीको संख्या धेरै कम रह्यो । र, प्रभावित व्यक्तिको गुनासोका कारण निकै कम नीति बदलिए । तर, विगत एक महिनायताका मोदी भने फेरिएका छन् । अहिले उनले हरेक विरोधलाई आफ्नो पुरुषत्वको परीक्षाका रूपमा हेर्न छाडेजस्तो देखिन्छ ।
यसको एउटा प्रमुख उदाहरण जन्तरमन्तर युवा विरोधसामु सरकारले आफ्नो अडान उल्ट्यायो । उसो त मोदी सरकारले सुरुमा प्रदर्शनकारी र तिनको माग बेवास्ता गर्ने आफ्नो पुरानै नीति अपनायो । प्रदर्शनको समर्थनमा जब भारतभर उस्तै विरोध उठ्न थाल्यो, सरकारले प्रदर्शनकारीलाई तर्साउन र तितरबितर पार्न लाठी, प्यालेट गनसहित प्रहरी परिचालन गर्यो । विगतको अनुभवका आधारमा सरकार र प्रदर्शनकारीबिच सुरु भएको टकरावले विद्यार्थीको मनोबल नतोडेसम्म धेरै दिनसम्म जारी रहन सक्थ्यो । तर, यसपटक सरकार समर्थित मिडियाको भविष्यवाणीविपरीत अझ आफ्नै मन्त्री र सहकर्मीले प्रेस ब्रिफिङमा भनेका कुराविपरीत प्रधानमन्त्री मोदी झुके । उनी प्रदर्शनकारी विद्यार्थीको मागअनुरूप शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई हटाउन सहमत भए । तथापि, यसलाई धेरैले एकपटकको घटना ठाने । प्रधानमन्त्री मोदी युवामाझ समर्थन गुम्दै गएको डरले सम्झौतामा सहमत भएको विश्लेषण गरियो ।
तर, के यो वास्तवमै एकपटकको मात्र कुरा थियो ? वा यो मनोवृत्तिमा परिवर्तनको सुरुवात थियो । संकेतहरू हेर्दा कम्तीमा जेनेरेसन जेड (जेन–जी)सँग सम्पर्क स्थापित गर्ने विषयमा ७५ वर्षीय प्रधानमन्त्रीले आफ्नो सञ्चार शैली परिवर्तन गर्ने प्रयास गरिरहेको देखिन्छ । यहाँसम्म कि भाजपाले आफ्नो कुख्यात आइटी सेलका वरिष्ठ अधिकारीलाई हटायो । अहिले युवाको भाषा प्रयोग गर्ने टिम राखिएको छ । भलै मानिसले घृणा फैलाउनेको एउटा समूहलाई अर्कोले प्रतिस्थापन गरेको आरोप लगाइरहेका छन् । तथापि, नयाँ आइटी टिमले अघिल्लो टोलीभन्दा बढी युवालाई मनपर्ने खालका हास्यात्मक तथा व्यंग्यात्मक सामग्रीमा जोड दिइरहेको देखिन्छ ।
मोदी सरकार र भाजपाले आलोचनाको जवाफ दिने तरिकामा एक निश्चित तीव्रता र समझदारी अपनाउन थालेका छन्, जुन नयाँ हो । उदाहरणका लागि जब मिडिया टाइकुन सुभाष चन्द्राले आफ्नो ऋणको सानो भाग मात्र चुक्ता गरिरहेको खुलासा भयो, तब देशभर हंगामा मच्चियो । मानिसले सरकार र सरकारी बैंकबाट ठुलो परिमाणमा ऋण लिएका उद्योगपतिको सूची संकलन गर्न थाले । स्वाभाविक रूपमा ठुला ऋणदातालाई दिइएको रकमलाई मानिसले सर्वसाधारणमाथि लगाइएको कर र अर्थतन्त्रमाथिको भारसँग तुलना गर्न थाले । विगतमा मोदी सरकारले यस्ता ठुला विवादको जवाफमा दिने प्रतिक्रिया प्रायः केही नगर्नु वा होहल्ला कम नभएसम्म पर्खनुहुन्थ्यो ।
तर, यसपटक त्यस्तो भएन । २४ घण्टाभित्र सरकार मिडिया टाइकुन चन्द्रासँगको सम्झौताबाट पछि हट्यो । अब उनले आफ्नो ऋणमाथि पुनः वार्ता गर्नुपर्नेछ । लगत्तै, सरकारले देशको अर्थतन्त्र आर्थिक वर्ष ०२६–२७ को पहिलो त्रैमासिकमा ७.८ प्रतिशतको दरले बढेको खुलासा गर्यो । सरकारी प्रवक्ताले यसलाई प्रधानमन्त्रीको आर्थिक नीतिको सफलताको संकेतका रूपमा व्यापक रूपमा प्रचार गरे । कमै मानिसले याद गरे कि अघिल्लो त्रैमासिकमा वृद्धिदर ८.६ प्रतिशत थियो, जसको अर्थ वास्तवमा वृद्धिदर बढेको नभई घटेको थियो ।
हामी भारतको वास्तविक वृद्धिदरबारे बहस गर्न सक्छौँ (अहिले सार्वजनिक भएका तथ्यांकमाथि पनि प्रश्न उठाइएको छ) । तर, यसपटक भाजपाको जनसम्पर्क संयन्त्र र यसका बफादार टिभी प्रस्तोताले भारतीयलाई यो एक सानदार सफलता हो भनेर विश्वस्त पार्न लागि पारे । अहिले देखिएको सञ्चारको परिवर्तन जारी रहने सम्भावना बढी छ । अर्को वर्ष भारतको सबैभन्दा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा विधानसभा चुनाव हुँदै छ । कम्तीमा प्रधानमन्त्री मोदीले त्यस समयसम्म मिहिनेत बढाउनेछन् । भाजपाले यो चुनाव आफूले जित्ने विश्वास गरेको छ । (विपक्षी दल पनि जितमा नरेन्द्र मोदीको भन्दा भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको भूमिका हुने मान्न थालेका छन् ।) प्रधानमन्त्री मोदी अहिले जन्तरमन्तर आन्दोलनको समयमा चर्चामा रहेजस्तो आफ्नो छवि रहोस् भन्ने चाहँदैनन् । यस्तो शाही प्रधानमन्त्री, जो आमसर्वसाधरण जनताको दुर्दशाबाट टाढा छ । उनले कम्तीमा सो आन्दोलनपछि आमजनतासँग सम्पर्क गर्न आवश्यक महसुस गरेका छन् ।
मलाई लाग्दैन कि मोदीलाई कहिल्यै नरम र शान्त नेताका रूपमा हेरिनेछ, खासमा उनी आफैँ पनि त्यसरी हेरियोस् भन्ने चाहन्छन् जस्तो लाख्दैन । तैपनि, मोदी यति चतुर छन् कि यति लामो समय सत्ताको नेतृत्वमा रहेपछि सरकारप्रति असन्तुष्टि बढ्दै गएको छ भन्ने बुझेका छन् । साथै मतदाता कम्तीमा आफ्नो नेताले आफ्ना चिन्तामा ध्यान देओस् भन्ने चाहन्छन् भन्ने पनि बुझेका छन् । यसले दृष्टिकोणमा आएको परिवर्तन र आलोचना स्विकार्ने उनको अचानकको परिवर्तनलाई व्याख्या गर्छ । यदि उनले यसलाई जारी राख्न सके भने मोदीले हामी सबैलाई चकित पार्न सक्छन् ।
(छापा तथा टेलिभिजन पत्रकार संघवी टक सो होस्ट पनि हुन्)
द प्रिन्टबाट