डिएनएमार्फत शव सनाखतमा स्रोत, साधन र प्रविधिको अभाव : नेपालका दुई प्रयोगशालामा वर्षमा आठ सय डिएनए मात्रै हुन्छ परीक्षण

डिएनए परीक्षणका लागि बिहीबारसम्म ७१९ मृतकका आफन्तको ‘स्याम्पल’ संकलन

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण
  • प्रहरीको र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट मात्र डिएनए परीक्षण हुन्छ, दुवै प्रयोगशालाबाट वर्षमा चार–चार सयसम्म डिएनए परीक्षण हुने गरेको छ, अहिले पाँच हजारभन्दा बढी डिएनए परीक्षण गर्नुपर्ने आकलन गरिएको छ

बाढीमा ज्यान गुमाएकाहरूको सनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले ‘डिएनए’ परीक्षणका लागि नमुना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ । तर, अहिले प्रयोग भइरहेको स्रोत, साधन र प्रविधिमा मात्र भर परे शव सनाखत तत्काल सम्भव हुने अवस्था छैन । सबै शवको ‘डिएनए म्याचिङ’ गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

हाल नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट डिएनए परीक्षण हुँदै आएको छ । सामान्यतया एउटा परीक्षणको नतिजा आउन तीन सातासम्म लाग्छ । हाल प्रहरीको प्रयोगशालामा एक वर्षमा तीनदेखि चार सय डिएनए परीक्षण हुने गरेका छन् । विधिविज्ञान प्रयोगशालाको क्षमता पनि प्रहरीकै हाराहारीमा छ ।

अहिले पाँच हजारभन्दा बढी डिएनए परीक्षण गर्नुपर्ने आकलन गरिएको छ । यस्तो अवस्थामा सबै परीक्षण पूरा गर्न एक वर्षभन्दा बढी समय लाग्ने नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका पूर्वप्रमुख राकेश सिंहले बताए । ‘हाम्रो एउटा मात्र प्रयोगशाला छ, त्यसमा तीन–चारजना मात्रै दक्ष जनशक्ति छन्,’ उनले भने, ‘अहिलेको जनशक्ति र स्रोत–साधनले २४ घण्टा नै काम गर्ने हो भने पनि सबै डिएनए परीक्षण एक वर्षमा सकिँदैन । ल्याब र जनशक्ति दुवै तत्काल थप्न आवश्यक छ ।’

बिहीबार बेलुका आठ बजेसम्म एक हजार दुई सय ९० जनाको शव संकलन भइसकेको छ । त्यसमध्ये एक हजार एक सय ४३ शवबाट डिएनए नमुना लिइएको छ । सनाखत हुन नसकेका शवबाट डिएनए नमुना लिएर अस्थायी व्यवस्थापन गर्न थालिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सम्पर्कविहीन व्यक्तिका सात सय १९ आफन्तको पनि डिएनए परीक्षणको नमुना लिइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्कविहीन व्यक्तिका परिवारका सदस्यको मंगलबारदेखि रगतको नमुना संकलन गर्न थालेको हो । मंगलबार र बुधबार गरेर काठमाडौंमा मात्र पाँच सय ६३ जनाले रगत दिएका छन् । उपत्यकाबाहिरबाट पनि रगतको नमुना दिन सक्ने व्यवस्था गरिएको छ । साथै, विदेशमा रहेकाको हकमा उतै डिएनए प्रोफाइलिङ गरेर इमेलमा पठाउन भनिएको छ ।

प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले डिएनए परीक्षणबाट शवको सनाखत गर्ने काम चुनौतीपूर्ण भए पनि स्रोत–साधनको अधिकतम प्रयोग गर्दै छिटो गर्ने प्रयास भइरहेको बताए । यसका लागि सम्बन्धित पक्षहरूसँग सहकार्य भइरहेको उनको भनाइ छ । ‘डिएनए परीक्षणबाट शवको सनाखत गर्ने काम चुनौतीपूर्ण छ । तर, उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरेर छिटोभन्दा छिटो काम सम्पन्न गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

सफ्टवेयरबाट हुनेछ म्याचिङ
डिएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनियाँ टोली नेपाल आइसकेको छ । जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरीले जनाएको छ । प्रोफाइलिङ गरिएको विवरण ‘कोडिस’ नामक सफ्टवेयरमा राखिनेछ । उक्त सफ्टवेयर अमेरिकाको सहयोगमा करिब एक वर्षअघि प्राप्त भएको हो । तर, प्रयोगमा भने हालसालै मात्र ल्याइएको हो ।

चिकित्सकको टोलीले शवको पोस्टमार्टम गरेपछि प्याकिङ गरेर डिएनए नमुना निकाल्न प्रहरीलाई दिन्छ । प्रहरीले हड्डी, कपाल, दाँतलगायत अंगबाट डिएनए नमुना निकाल्छ । त्यसलाई केमिकलमा राखेर प्रोफाइलिङ गरिन्छ । धेरैजसो मृतकको शवको हड्डीबाट नमुना संकलन गरिएको प्रहरी स्रोतले जनाएको छ । हड्डीमाथि डिएनए परीक्षण गर्न अरूभन्दा थप समय लाग्छ ।

मृतकका परिवारका सदस्यको डिएनए प्रोफाइलिङ पनि कोडिस सफ्टवेयरमा राखिन्छ । सफ्टवेयरले शवबाट निकालिएको डिएनए र परिवारका सदस्यको डिएनएबिच ‘म्याचिङ’ गरेपछि त्यसैका आधारमा शवको सनाखत गरिन्छ । एउटा शवबराबर दुईदेखि तीनजना परिवारका सदस्यको डिएनए प्रोफाइलिङ गर्नुपर्ने भएकाले जनशक्ति र स्रोत–साधनको थप अभाव रहेको प्रहरी प्रयोगशाला स्रोतको भनाइ छ ।

यसरी डिएनएमार्फत शवको सनाखत संयोजन गर्ने जिम्मेवारी नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्रमुख एसएसपी योगबहादुर पाललाई दिइएको छ । धेरै संख्यामा डिएनए परीक्षण गर्नुपर्ने भएकाले ‘म्याचिङ’को काममा स्वाभाविक रूपमा समय लाग्ने उनले बताए ।

डिएनए किट पनि महँगो पर्ने भएकाले यो प्रविधि खर्चिलोसमेत रहेको प्रहरी अधिकारी बताउँछन् । अहिले प्रहरीले प्रयोग गरिरहेको प्रविधि पुरानो भएकाले नयाँ प्रविधि ल्याउन सके पीडित परिवारलाई शव सनाखतमा केही राहत हुने उनीहरूको भनाइ छ ।
 

सुझावित समाचार