बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको मुख्य सांस्कृतिक पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेशका मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले भदौ २२ गते सोमबार यी तीन जिल्लाका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने घोषणा गरेको हो। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनामार्फत सार्वजनिक बिदाको निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
मन्त्रालयका अनुसार चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै बिदा दिने निर्णय गरिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता पदम ओझाले चेपाङ समुदायको मुख्य पर्व न्वागीका अवसरमा मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। उनका अनुसार स्थानीय समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रदेश सरकारको नीतिअनुसार यो निर्णय गरिएको हो।
न्वागी चेपाङ समुदायले नयाँ अन्न घर भित्र्याएपछि प्रकृति र पूर्वजको पूजा गर्दै मनाउने सबैभन्दा महत्त्वपूर्ण पर्व हो। नयाँ बाली उपभोग गर्नुअघि सामूहिक रूपमा पूजा गर्ने, परिवार र समुदायबिच जमघट गर्ने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा यस पर्वसँग जोडिएको छ। यसलाई चेपाङ समुदायको सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा लिने गरिन्छ।
प्रदेश सरकारले यसअघि पनि स्थानीय समुदायका मौलिक पर्वलाई संरक्षण र प्रवर्द्धन गर्ने नीतिअन्तर्गत विभिन्न समुदायका पर्वमा स्थानीय सार्वजनिक बिदा दिँदै आएको छ। न्वागी पर्वमा सार्वजनिक बिदा दिने निर्णयले चेपाङ समुदायको सांस्कृतिक अधिकारको सम्मान गर्दै उनीहरूको भाषा, संस्कृति र परम्पराको संरक्षणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसअघि मकवानपुरको कैलाश गाउँपालिकाले पनि न्वागी पर्वका अवसरमा भदौ २२ र २३ गते गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।