बाढीपीडितका लागि राहत अभाव भएको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग राहत सामग्री माग गरेको छ । पाँच हजार बोरा चामल, पाँच सय बोरा चिउरा, दुई सय बोरा लत्ताकपडा, एक सय बोरा चिनी, एक सय बोरा नुन, पाँच सय कार्टुन तेललगायत सामग्री माग गरेको हो ।
रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा १८३ बाढीपीडित राखिएको छ । तर, स्टोरमा राहत नभएपछि काठमाडौंसँग माग गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
नुवाकोटमा भने बुधबार राहत सामग्री पुगेकाले अभाव भएको ठाउँमा वितरण भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले राहत नभएको शिविरमा आवश्यकता हेरेर वितरण गरिएको बताए । ‘हामीकहाँ पुग्दो छ, नपुगेको काठमाडौंबाट माग गरिरहेका छौँ, आइरहेको पनि छ । कतिपय स्थानमा नपुगेको भनेर माग भयो भने पुर्याउँछौँ,’ उनले भने ।
राहत सामग्रीको काठमाडौंमा थुप्रो
देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौंका गोदाम भरिभराउ भएका छन् । तर, जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढीबाट अतिप्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौंबाट राहत नपुगेको गुनासो बढिरहेको छ ।
संकलित राहत सामग्री काठमाडौंका जिल्ला प्रशासन कार्यालय, बसुन्धारास्थित राधास्वामी सत्संग व्यास भवन र सामाखुसीस्थित नेपाल प्रहरी विपत् प्रतिकार्य तथा तालिम केन्द्रमा राखिएको छ ।
काठमाडौं प्रशासनको जेन–जी आन्दोलनमा ध्वस्त पुरानो भवनको भुइँतलाको प्यासेजभरि दाल, चामल, चाउचाउ, तेल, नुन, मिनरल वाटरदेखि सिरक, डसना र लत्ताकपडासमेत चाङ लगाएर राखिएका छन् ।
यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अन्य स्थानमा राखिएको काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले बताए । यसबाहेक स्वास्थ्यसम्बन्धी राहतका सामग्री टेकुस्थित स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ ।