स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीलाई ३ प्रश्न

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशीमा बुधबार आएको बाढीबाट जलविद्युत् क्षेत्रमा कस्तो असर परेको छ ? 
हामी अहिलेसम्म यो बाढीबाट जलविद्युत् उत्पादनका क्षेत्रमा भएको आर्थिक क्षतिको पाटोमा प्रवेश गरेकै छैनौँ । अहिलेसम्म हाम्रा आयोजनाहरूमा फसेका ३६१ जनशक्तिको सकुशल उद्धार गरिएको छ । अझै आठ सय ५० जनाभन्दा बढीको उद्धार हुनै बाँकी छ । अझै पनि अपर त्रिशूली १ को टनेलमा ५५६ जना प्राविधिक र कामदार फसिरहेका छन् । साढे नौ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको हुनाले उनीहरू सबैलाई सुरक्षित निकाल्न सकिने आशा अझै बाँकी छ । त्यसैले, हामीले उद्धार कार्यलाई पहिलो प्राथमिकता दिएका छौँ । यो सामान्य बाढी होइन, महाप्रलय हो । कुनै पनि जलविद्युत् आयोजनाको डिजाइन गर्दा पछिल्लो १०० वर्षको बाढीको तथ्यांक विश्लेषण गरिएको हुन्छ । तर, यो कुनै ‘नर्मल’ बाढी होइन । त्यसैले, यहाँ कुनै पनि पूर्वानुमान या पूर्वअध्ययनले काम गरेन । यसबाट निकै ठुलो आर्थिक क्षति भएको छ । 

बाढीले यस क्षेत्रमा पुर्याएको क्षतिको पूर्ति कति सम्भव छ ?
भोटेकोशीमा बाढी आएको दिनलाई हामीले ऊर्जा ‘सेक्टर’का लागि ‘कालो दिन’ मानेका छौँ । ऊर्जा क्षेत्रमा काम गर्न नेपाल आएका विदेशी प्राविधिकसँगै काम गदागर्दै सिकेर तयार भएको प्राविधिक जनशक्ति गुमाउनुपर्यो भने त्यो अपूरणीय क्षति हुनेछ । अहिले पनि यस क्षेत्रमा ‘क्वालिटी जनशक्ति’को अभाव छँदै छ । यसका साथै, यसले आर्थिक क्षेत्रमा पुर्याएको क्षति पनि तत्काल पूर्ति हुन सम्भव देखिन्न । 

भविष्यका लागि भोटेकोशी बाढीले कस्तो पाठ सिकाएको छ ? 
अब यस विषयमा हामीले थप सोच्नुपर्ने, अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ । ‘क्लाइमेट चेन्ज’ले हिमालय क्षेत्रमा पारिरहेको प्रभाव र त्यसका कारण त्यहाँबाट बग्ने नदीको तल्लो तटीय क्षेत्रमा उत्पन्न हुन सक्ने जोखिमबारे थप अध्ययन गर्नुपर्ने र थोरै क्षमता बढाउने लोभले बढी नदीनजिक जान नहुनेरहेछ भन्ने पनि यसले सिकाएको छ । 

सुझावित समाचार